१२ वर्षका बालकले एसईई दिँदै

१२ वर्षका बालकले एसईई दिँदै
सांकेतिक तस्विर ।

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।

दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् ।

अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए ।

विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ ।

यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिएका छन् ।

कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उनी नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए ।

कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएका प्रधानाध्यापक तिवारीले बताए ।

पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताए ।

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

बागमतीसहित यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने जनाएको छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

लोकप्रिय