धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन् ।

घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

आमसञ्चार विधेयक पेस हुने प्रक्रियामा छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन् ।  शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक संघीय संसद्‌मा दर्ता भएको जानकारी दिइन् ।  उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको बताइन् ।  'आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‌मा दर्ता भएको छ भने आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी हुँदैछ,' उनले भनिन् ।  मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन् । नयाँ प्रविधिसँगै आएका चुनौतीहरूको सामना गर्न आमसञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

प्रेस जगतलाई प्रधानमन्त्रीको आग्रह -'मिथ्या सूचनाको बाढीलाई रोक्ने काम गरौँ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिथ्या र भ्रामक सूचना बाढिलाई रोक्दै तेस्ता सूचना मार्फत समाजलाई भ्रमित तुल्याउने कामलाई प्रेस जगतले रोक्नुपर्ने बताएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताएका हुन्। उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिने बताएका छन् । 'प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ' प्रधानमन्त्री प्रचण्डले भने , 'सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसकिताको विकास गराउने, सामाजिक सद्भाव विथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।' महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए । 'कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,'  प्रधानमन्त्री प्रचण्डले भने, 'हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।' नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्रीको भनाई थियो । 'हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,' प्रधानमन्त्री प्रचण्डले भने,'अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।'

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौंं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। अमेरिकी नागरिक सुसन व्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।  दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइमार्गबाट नेपाल पठाइएको हो। तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्तिकला धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् । “हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने। ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए।  नेपाल–अमेरिका समन्वयमा हवाइ मार्गबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको  बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन्। दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ। रासस

लोकप्रिय