न्युजिल्यान्डसँग नेपाल पराजित

न्युजिल्यान्डसँग नेपाल पराजित

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ ।

युवा विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले बेहोरेको यो पहिलो पराजय हो । यसअघि नेपालले सन् २००६ को संस्करण र २०१६ को संस्करणमा न्युजिल्यान्डविरुद्ध खेल्दा क्रमशः एक विकेट र ३२ रनको जित निकालेको थियो ।

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।

नेपालका ओपनर अर्जुन कुमालले ९० रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । उनले १०४ बलमा १२ चौका प्रहार गरे । अर्जुन युवा विश्वकपमै नेपालका लागि पहिलो शतक बनाउन १० रनले चुके । तर, उनी विश्वकपमा नेपालबाट एकै खेलमा उच्च स्कोर बनाउने दोस्रो ब्याटर बने ।

अर्जुनअघि रहेका प्रदीप ऐरीले यू–१९ विश्वकपमा ९८ रन बनाएका छन् । प्रदीपले २०१२ मा नामिबियाविरुद्ध यो स्कोर बनाएका थिए ।

न्युजिल्यान्डविरुद्ध कप्तान देव खनाल ३६ रन जोडेर आउट भए । सुवास भन्डारीले ३३, तिलक भन्डारीले १७, दीपक बोहराले १५ र आकाश चन्दले १४ रन थपे ।

अन्तिम विकेटका लागि सुवास र तिलक भन्डारीले ३७ रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

नेपाललाई सस्तैमा समेट्न न्युजिल्यान्डका मासोन क्लर्कले तीन विकेट लिए । एवाल्ड श्रेउडर र ओस्कार ज्याक्सनले समान दुई विकेट लिँदा जाक कुमिङ र म्याट रोवेले एक–एक विकेट लिए ।

त्यसघि स्नेहिथ रेड्डीले शतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।

६७–३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भए ।

ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन थपे ।

नेपालका सुवास भण्डारीले तीन विकेट लिए । गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।  

लोकप्रिय