स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, यस्तो छ घटनाको कारण

स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, यस्तो छ घटनाको कारण

काठमाडौं – प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिबार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो ।

तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।

अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।

जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरु पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय