क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् ।
आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् ।
अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् ।
त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् ।
क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का संस्थापक अध्यक्ष हुन् ।
त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् ।
आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।
कलसेन्टरमा छापा, ५० जना पक्राउ
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेल्ने र खेलाउने ५० जनलाई सीआईबीले ललितपुरबाट पक्राउ गरेको छ। गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको हो। कलसेन्टरमा क्रिप्टोकरेन्सी कारोबार गरेको र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रा.लि. को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए । भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पीडितहरुसँग सम्पर्कविहीन रही ठगी कार्यमा संलग्न रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । ललितपुर उपमहानगरपालिका वडा नं. २४, धापाखेल स्थायी वतन भएका र हाल काठमाडौं बस्ने ४० वर्षीय सूर्यमान शङ्करलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म पुगेका थिए। घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्। श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानविनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिंदै यसमा लापर्वाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिनुभयो। परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उहाँले बताउनुभयो । यसको निष्पक्ष छानविन हुनैपर्नेमा जोड दिंदै उहाँले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइराख्नुपर्ने बताउनुभयो । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउनसक्ने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले पतिवियोगमा रहेकी अध्यक्ष यादवकी श्रीमतीले देखाएको धैर्यरता र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउण्डेशन बनाउन र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमानको निधनको सत्यतथ्य कारण पत्ता लागे आफूहरुलाई न्याय महसुस हुने उल्लेख गर्दै यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसहित पार्टीसँग अनुरोध गर्नुभयो । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।
सबै पालिकामा जग्गाको कित्ताकाट खुल्यो
काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा भदौयता ६ सय २० पालिकामा रोकिएको कित्ताकाट खुलाएको छ । भू–उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो । यसअघि ०८० साउन ३० मा पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै सरकारले कित्ताकाट खुलाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए । ‘जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मका लागि समय थपिएको छ,’ उनले भने, ‘अब देशभर कित्ताकाट खुल्यो ।’ मुलुकका ७ सय ५३ पालिकामध्ये १ सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ । पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो । पालिकाहरूले आगामी असारमसान्तसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरी कित्ताकाट रोकिनेसमेत उनले प्रस्ट्याए । विभागका अनुसार २ सय ९५ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै सुरु गरेका छैनन् । वर्गीकरण नै नगरेका र आंशिक गरेका सबै पालिकामा यही भदौयता कित्ताकाट रोकिएको थियो । पालिकाहरूले भूउपयोग क्षेत्र नक्सा तथा विवरण, भूउपयोग क्षेत्र वर्गीकरणका आधार, मापदण्ड र क्षेत्रफल र स्थानीय आवश्यकताअनुसार भू–उपयोग क्षेत्र वर्गीकरण गर्न सकिने नियमावलीमा उल्लेख छ । सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गरेको हो । भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा भू–उपयोग नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि मात्र कित्ताकाट गर्न पाइन्थ्यो । सरकारको यो नीतिका कारण सोही वर्षको साउनदेखि कित्ताकाटसँगै समग्र घरजग्गा कारोबार घट्न थालेको थियो ।