६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु
ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गर्नु राज्यको प्रमुख दायित्व भएको मन्त्री शर्माको भनाई
काठमाडौं, ४ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताकी छिन् ।
हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले उनीहरुको सम्मान आवश्यक रहेको बताइन्।
सरकारले यो वर्ष सहिदहरु कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरुको योगानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरुले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताइन्।
कम्युनिष्ट आन्दोलनको विजारोण गर्दै दुर्गम क्षेत्रमा पुगेको बेला विसं २०१० सालमा जुम्लामा गिरफ्तार गरी हत्या गरिएका कामी बुढालाई २०७४ सालमा मात्रै राज्यले सहिद घोषणा गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले देश र जनताका लागि योगदान गर्नेहरुको इतिहासले कुनै न बेला सम्झन्छ भन्ने यो महत्वपूर्ण दृष्टान्त भएको बताइन् ।
‘आज हामीले गरेको संघर्षको परिणाम आजै चाहिन्छ भन्छौं तर देश र जनताका लागि राम्रो काम गर्नेहरुको सम्झना दशकौं पछि पनि इतिहासले गर्ने गर्दछ’– उनले भने– ‘हामी जो जुन क्षेत्रमा छौं, इमान्दारितापूर्वक देश र जनताका लागि योगदान गर्नुपर्छ भन्ने आदर्श र निष्ठा अग्रज पुस्ताबाट सिक्नुपर्छ ।’
आजको परिवर्तन हजारौंको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उनले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताइन् ।
मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोलेका थिए ।
६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु
यसैबीच सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो । यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ । यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।