कर्णाली पुलमा आवागमन बन्द, आगलागीको क्षतिबारे प्राविधिक परिक्षण गरिदै
अत्तरिया । हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति पुगेपछि कर्णाली पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको छ । प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आगलागी भएको थियो ।लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा लिएको थियो ।
आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक हिजो अपराह्न कर्णाली पुलमा पुगेको थियो । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्न देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।