सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो : रेखा शर्मा
घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् ।
नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनले बताइन्। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् ।
“मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पु¥याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, उनले भनिन्, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।”
उहाँले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै
काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।