अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । 

अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो ।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

झ्याप्लेखोलामा पुरिएका दुई बस निकालिदै, अर्को बस पनि भेटियो

काठमाडौं । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’  सिलवालले भने। यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्। बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लोकप्रिय