लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रूपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनले भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

संसदमा बोल्न कांग्रेस सांसदलाई ‘गृहकार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेका विषयमा तर्क सहित बोल्न भन्दै आफ्ना सांसदलाई सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन वितरण गरेको छ ।  शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रहरीको अनुसन्धान प्रतिबेदन बाँडिएको हो । नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेपछि वितरण गरिएको हो ।  यो प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख रहेको भन्दै त्यसकै आधारमा टेकेर संसदमा प्रस्तुत हुन देउवाले नै सुझाएका छन् । प्रहरी अनुसन्धानका आधारमा रुपन्देहीको सरकारी वकिलको कार्यालयले वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यही विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको हो। एक नेताका अनुसार देउवाले संसदीय दलको बैठकमा भनेका छन्, ‘प्रतिबेदन अध्ययन गर्नुस्, कुन कुन ऐन आकर्षित हुन्छन्, संसदमा तर्क सहित राख्नुस् ।’

संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्थाको बैठक बस्दै

काठमाडौं । संसदको कार्यसूचि तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने तय भएको जानकारी दिए । बैठकले आज दुई बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ । संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ ।  शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची निश्चित छ । बैठकमा सभामुख घिमिरिेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गरिएको छ । शीर्ष नेताहरु बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।

ओलीले एमाले सांसदहरुलाई प्रशिक्षित गर्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संघीय संसदको वर्षे अधिवेशन अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक साढे ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी तय भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम छ । संसदको वर्षे अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे सुरु हुँदैछ ।

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ ।  शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।

लोकप्रिय