जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन
काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो ।
जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते रहमानको स्थानमा प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।
सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर अन्सारीको निधनप्रति शोक प्रकट गरेका छन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।
उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् ।
रवि लामिछाने फेरि प्रहरीको हिरासतमा
काठमाडौं । कास्की प्रहरीको हिरासतबाट छुटेका रास्वपा सभापति रवि लामिछाने ७२ घण्टा नबित्दै काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहिबार धरौटीमा छुटेका लामिछानेलाई फेरि प्रहरी हिरासतमा लगिएको छ । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सम्बन्धि मुद्दाको थुनछेक बहस नसकिएकाले उनलाई पुनः हिरासतमा लिइएको हो । आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको अपरान्ह ३ बजेसम्म बयान लिइएको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान लिएर थुनछेक बहस अघि बढाइएकोमा इजलाशले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । लामिछानेका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा नपठाएर परिवारको जिम्मामा छाड्न माग गरेका थिए । लामिछाने आफैंले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेकोमा इजलाशले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने भन्दै हिरासतमा पठाउन आदेश दिएको हो । थुनछेक बहसमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए । थुनछेक बहस भोलि पनि हुनेछ ।
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले शुक्रबार उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन्। उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन्। लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईँले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ। अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताएको छ।
कास्की जिल्ला अदालतबाट रवि लामिछाने रिहा
काठमाडौं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ । कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको थियो। त्यसैगरी कास्की जिल्ला अदालतले अन्य आरोपीहरू छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश भएको छ। छविलाल जोशी हकमा ८८ लाख, पछाईसँग ३७ लाख, रामबहादुरसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरति गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ।