फेवातालमा पौडी खेल्ने गएका युवाको डुबेर मृत्यु

फेवातालमा पौडी खेल्ने गएका युवाको डुबेर मृत्यु

काठमाडौं । कास्कीस्थित फेवातालमा पौडि खेल्न गएका युवाको डुबेर मृत्यु भएको छ। पोखरा महानगरपालिका२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्।

पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अन्य सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सम्पन्न

भरतपुर। नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो।महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास गरेको छ। १५ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ। नगर सभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताए। भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो। नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताए। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए। प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ। बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए। यसै बीच नगर सभाको अवसरमा आर्थिक वर्ष ०८०/०८१ का असल करदातालाई पुरस्कृत तथा सम्मान गरिएको छ। मनोरन्जन करतर्फ  चितवन सिने प्यालेक्स, शिक्षातर्फ  ओमशान्ति एकेडेमी, घरबहाल करतर्फ  भाटभटेनी सुपरमार्केट, व्यवसायकरतर्फ न्यू चितवन ड्राइभिङ सेन्टर, वित्तीय संस्था एभरेष्ट बैंक, निर्माण व्यवसायीतर्फ रोयल चितवन बिल्डर्स प्रालि र सफल कृषकतर्फ बहानी सामुहिक कृषि फर्मलाई सम्मान गरिएको हो। यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक हासिल गर्ने  १५ खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

पत्रकार महासंघको मनोनयन मिति सर्यो

काठमाडौं। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि तोकिएको मनोनयन मिति २ दिन पर धकेलिएको छ। २२ गते हुने मतदानका लागि आज १३ गते मनोनयनको मिति तोकिएको थियो। केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन मिति पर सारेको छ। निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ। प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ। मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय