अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु

अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु

रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अत्यन्त प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन सुरु गरेका छन् ।

रौतहटमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि जिल्लाको गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिका प्रमुख शम्भू साहले बताए । उनले ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।

रौतहटमा मोहर्रम पर्व मनाउनेले आक्रमण गर्दा १९ सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउनेहरुको आक्रमणमा परि १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो ।  सोही क्रममा सुरक्षाकर्मीमाथि केही उश्रृङ्खल युवाहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।  स्थिति नियन्त्रणमा लिन १२० भन्दा बढि प्रहरी टोली खटिएका थिए । आफुहरुमाथि लगातार आक्रमण भएपछि प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ ।  घटना बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियामा भएको हो । ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

४ मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने निश्चित भएको छ । मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन बार्गेनिङ गरिरहेको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको जानकारी दिए । मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।  केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएपछि २२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका थिए ।

प्रदेश प्रमुखको कार्यालय पुगे जनमतका सतिश सिंह, मुख्यमन्त्रीमा दाबी पेश गर्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जनमतका सतिश कुमार सिंह प्रदेश प्रमुख कार्यालय पुगेका छन्।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिश कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । सिंह नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका भरत साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने समेत प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ। जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

कुकुरको झुण्डले आक्रमण गर्दा ६ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरमा कुकुरको झुण्डले आक्रमण गर्दा एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहा घर भई जनकपुर बस्दै आएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको आक्रमणमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार साँझ डेरा नजिकै आँप टिप्न गएको बेला उनलाई आधा दर्जनको संख्यामा रहेका कुकुरले एकसाथ आक्रमण गरेका थिए । कुकुरको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय