सहारा मरुभूमिमा पचास बर्षपछि बाढी

सहारा मरुभूमिमा पचास बर्षपछि बाढी

एजेन्सी : दुई दिनदेखि परेको अविरल वर्षाका कारण अफ्रिकाको सहारा मरुभूमिमा बाढी आएको छ।

मोरक्को मौसम विज्ञान केन्द्रका अनुसार मोरक्कोमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ। यसले देशमा वर्षभरको औसत वर्षाको कीर्तिमान तोडेको छ।


मोरक्कोको राजधानी रबातबाट ४५० किलोमिटर टाढा रहेको एउटा गाउँमा २४ घण्टामा करिब ४ इन्च पानी परेको छ।


विगत ५० वर्षमा पहिलोपटक सहारा मरुभूमिमा यति छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद्ले बताएका छन्।

नासाको स्याटेलाइट तस्बिरले विगत ५० वर्षदेखि सुक्खा रहेको इरिकी तालमा पानी भरिएको देखाएको छ।

सहारा मरुभूमिमा बालुवा भरिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो।

वैज्ञानिकहरूले अबको १५ सय वर्षमा सहारा मरुभुमिमा हरियाली छाउने अनुमान गरेका छन्। पृथ्वी आफ्नो अक्ष २२ देखि २४.५ डिग्री सम्म झुक्ने भएकाले वैज्ञानिकहरूले यस्तो अनुमान गरेका हुन्।

९२ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको सहारा विश्वको सबैभन्दा ठूलो मरुभूमि हो। यो उत्तर, मध्य र पश्चिम अफ्रिकाका माली-मोरक्को, मौरिटानिया, अल्जेरिया, ट्युनिसिया, लिबिया, नाइजर, चाड, सुडान र इजिप्ट जस्ता १० देशहरूमा फैलिएको छ।
 

माओवादीसँगको सम्बन्धको आरोपमा दश वर्ष जेल बसेका पूर्व प्राध्यापक साईबाबाको निधन

दिल्ली । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निजाम्स इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (निम्स) अस्पतालमा निधन भएको छ। ५७ वर्षीय साईबाबाको गलब्लाडरको शल्यक्रिया भएको थियो, तर त्यसपछि देखा परेका जटिलताहरूका कारण निम्समा उनको उपचार चलिरहेको थियो। अपाङ्गताको कारण व्हीलचेयरमा रहने साईबाबालाई माओवादी संगठनहरूसँग सम्बन्ध राखेको आरोपमा गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत सन् २०१४ मा गिरफ्तार गरिएको थियो। उनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। आठ वर्षपछि बम्बे उच्च अदालतले उनलाई रिहा गरेको थियो, तर सर्वोच्च अदालतले २४ घण्टा भित्रै उक्त निर्णय उल्ट्याइदिएको थियो। अन्ततः मार्च २०२४ मा बम्बे उच्च अदालतले उनलाई रिहा गर्‍यो। त्यसबेला उनी नागपुर केन्द्रीय जेलमा बन्द थिए। साईबाबा सुरुदेखि नै पक्षघातग्रस्त थिए र उनको शरीर ९० प्रतिशत अशक्त थियो। आफ्नो दिनचर्या चलाउनका लागि उनी व्हीलचेयरमै निर्भर थिए। यसै वर्ष मार्चमा रिहा भएपछि, उनले बीबीसीसँग कुरा गर्दै जेलमा भोगेको असुविधाको उल्लेख गरेका थिए। उनले भनेका थिए, "जेलमा रहेको शौचालयसम्म मेरो व्हीलचेयर पुग्न सक्दैनथ्यो। नुहाउने ठाउँ पनि थिएन। म आफ्ना खुट्टामा एक्लै उभिन सक्दिनँ। मलाई शौचालय जान, नुहाउन, ओछ्यानमा सर्न—सबै कामका लागि चौबीसै घण्टा दुई जनाको आवश्यकता पर्थ्यो।" साईबाबाले यूएपीएलाई 'भारतको संविधानको विरुद्ध' भनेका थिए। उनले यसलाई 'विश्वकै सबैभन्दा क्रूरतम कानुन' भनेका थिए। उनले भनेका थिए, "यति क्रूर रूपमा कुनै कानुन संसारको कुनै पनि देशमा अहिले लागू गरिएको छैन। संविधानले देशका जनतालाई दिएका मौलिक अधिकारहरू विरुद्ध यो कानुन छ।" उनले भनेका थिए, "म यही कानुनको विरुद्ध लडिरहेको छु, र मलाई यही कानुनअन्तर्गत जेलमा राखियो र मेरो आवाज दबाइयो।" त्यसबेला उनले जेलमा रहेका बेलामा आफ्नो स्वास्थ्य समस्याहरूको जटिलता बढेको बारे पनि कुरा गरेका थिए। साईबाबाले आरोप लगाएका थिए कि "डाक्टरले लेखेका औषधि र उपचारहरू उनलाई दिइँदैनथ्यो।" उनले भनेका थिए, "म आज तपाईंहरूका अगाडि जीवित छु, तर मेरो शरीरको हरेक भाग असफल हुँदै गएको छ। जेलका अधिकारीहरूलाई विश्वास थिएन कि म केही समयसम्म बाँच्न सक्दछु।" उनले भनेका थिए कि उनलाई जेलमा धेरै कष्ट भयो। धेरै रोगहरूले घेरेको थियो। जेलबाट रिहा भएपछि अहिले उनी सबैभन्दा पहिले आफ्नो उपचार गराउन चाहन्छन्। जीएन साईबाबाको निधनको जानकारी दिँदै उनकी पत्नी वसंता बताउँछिन्, "डाक्टरहरू उनलाई सीपीआर दिइरहेका थिए, तर उनको ज्यान बचाउन सकेनन्। त्यसपछि निम्सका डाक्टरहरूले साईबाबाको निधन घोषणा गरे।" वसंताले एक बयान जारी गर्दै भनिन्, "गत महिना २८ सेप्टेम्बरमा हैदराबादको निम्स अस्पतालमा गॉल ब्लैडर निकाल्ने सफल शल्यक्रियापछि साईबाबाको स्वास्थ्य राम्रो भएको थियो। तर उनलाई पेट दुख्ने समस्या देखियो। शल्यक्रियाको छ दिनपछि गॉल ब्लैडर हटाइएको ठाउँमा संक्रमण सुरु भयो।" "गत एक हप्तादेखि साईबाबालाई १०० डिग्री भन्दा बढी ज्वरो र पेटमा निकै दुखाइ थियो। उनी डाक्टरको निगरानीमा थिए। त्यसपछि १० अक्टोबरमा साईबाबाको पेटमा शल्यक्रिया भएको ठाउँबाट पिप निकालियो। त्यसपछि उनलाई आईसीयूमा सारिएको थियो।" "पेटमा सुन्निएको कारण उनलाई निकै पीडा भएको थियो। शल्यक्रिया भएको ठाउँ नजिकै आन्तरिक रक्तस्राव भइरहेको थियो, जसले गर्दा पेटमा सुन्निन पुग्यो र उनको ब्लड प्रेशर घटेको थियो।" "शनिबार उनको मुटु काम गरिरहेको थिएन, त्यसपछि डाक्टरहरूले उनलाई सीपीआर दिए, तर उनको ज्यान बचाउन सकेनन्।" बीबीसीले साईबाबालाई सोधेको थियो कि उनलाई जेल किन पठाइयो? यसमा उनले भनेका थिए, "म आदिवासीहरूको अधिकारका लागि आवाज उठाउँदै थिएँ र यसका लागि धेरै सिभिल सोसाइटी समूहहरू र व्यक्तिहरूसँग जोडिएको थिएँ। यस मुद्दामा काम गर्ने धेरै संस्थाहरूले मलाई संयोजक चयन गरेका थिए।" "हामी आदिवासीका अधिकारका लागि, खानी उद्योगको विरुद्धमा, आदिवासीहरूको सुरक्षाका लागि, आदिवासीहरूको जनसंहारको विरोधमा र अपरेसन ग्रीन हन्टको विरुद्धमा आवाज उठाउँदै थियौं।" साईबाबाले भनेका थिए, "हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा संस्थाहरूसँग मिलेर यी मुद्दाहरूमा आवाज उठाउँदै थियौं कि यो देशका १० करोड आदिवासी जनतालाई दमन गर्न सकिँदैन। मलाई थाहा भयो कि हाम्रो आवाज दबाउन मेरो विरुद्धमा झुठा मुद्दा बनाइयो र मलाई झुठो मुद्दामा १० वर्षसम्म जेलमा राखियो।" बीबीसीले उनलाई सोधेको थियो, "के जेलमा लामो समय बिताएपछि पनि जीएन साईबाबाको भारतको न्याय प्रणालीप्रति विश्वास छ? यूएपीएजस्तो कडा कानुनको बारेमा उनको के धारणा छ?" उनले भनेका थिए, "म चाहन्छु कि भारतको न्याय प्रणाली भारतका जनताको लागि काम गरोस्। म यो त भन्दिनँ कि त्यस्तो भइरहेको छैन, तर म यत्ति भन्छु कि भारतको न्याय प्रणालीमा धेरै कमीहरू छन्। प्रधानन्यायाधीशले पनि बारम्बार भनेका छन् कि अदालतले जमानत किन दिँदैन। अदालतका आदेशहरू जारी हुन्छन्, तर जसको मुद्दा चलिरहेको हुन्छ, उनलाई जमानत दिइँदैन र जमानत अस्वीकृत गरिन्छ।" सन् २०१७ मा साईबाबालाई माओवादीसँग सम्बन्ध रहेको आरोपमा दोषी ठहर गरिएको थियो। त्यसपछि अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो। तर, १४ अक्टोबर २०२२ मा बम्बे उच्च अदालतको नागपुर बेञ्चले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो। तर त्यसपछि २४ घण्टाभित्रै सर्वोच्च अदालतका न्यायाधीश एमआर शाह र न्यायाधीश बेला त्रिवेदीको विशेष बेञ्चले उच्च अदालतको निर्णय उल्टाएको थियो। यद्यपि, २०२४ मा, मार्च ५ मा, बम्बे उच्च अदालतको नागपुर बेञ्चले उनलाई यो भन्दै फेरि निर्दोष ठहर गरेको थियो कि 'इन्टरनेटबाट कम्युनिस्ट वा नक्सली साहित्य डाउनलोड गर्नु वा कुनै विचारधाराको समर्थक हुनु यूएपीए अपराधअन्तर्गत आउँदैन।' अनुवादः बिबिसी हिन्दी स्रोतः https://www.bbc.com/hindi/articles/c4gd9ngg89yo

बेरुतमा इजरायलको आक्रमणः २२ जनाको मृत्यु, ११७ घाइते

काठमाडौं । लेबनानको जनस्वास्थ्य मन्त्रालयले इजरायलले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य ११७ जना घाइते भएका छन् । बिहीबार मध्यरातमा कुनै चेतावनीबिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो । सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो । प्रत्यक्षदर्शीहरूले आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे । लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ ।

एआईसम्बन्धी आविष्कारका लागि दुई जनालाई नोबेल पुरस्कार

काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई “आर्टिफिशल न्यूरल नेटवर्कमार्फत् मशीन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा" उक्त पुरस्कार दिने निर्णय गरिएको गरिएको हो। भौतिक शास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन्। हप्फील्ड संयुक्त राज्य अमेरिकको प्रिन्स्टन यूनिभर्सिटीमा र हिन्टन क्यानडास्थित यूनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन्। उनीहरूले १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्। यसअघि पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो। अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले 'माइक्रोआरएनए' (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार पाएका हुन्। नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ।

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’ नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ । अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

लोकप्रिय