राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय

राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय

भालुबाङ । दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।

एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे।

उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला, महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ। 
उक्त शाैचालयमा एउटा अपाङ्ग मैत्री शाैचालय सहित ५ वटा शाैचालय रहेको छ।

लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्नेछ। 

यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश बिष्टले नेतृत्व गरिरहनुभएको छ । पालिकाले विभिन्न रचनात्मक र जनमुखी काम गर्दै आएको छ ।

जुम्लाका ६० वडामा एकै दिन खबरदारी सभाको तयारी

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ। कार्तिक २६ गते अर्थात सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभामार्फत खबरदारी गर्न लागिएको छ। जुम्लाका ६० वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए। उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा गरिएको झुटो प्रचारप्रसारका विरुद्ध  यथार्थ र अन्य जिल्लाका गौरवका आयोजनाबारे कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सन्देश प्रवाहित गरिनेछ। खबरदारी सभा सरकारले गरेका पक्षपात, भ्रष्टाचार र बेथितिविरुद्ध हुने भएकाले सम्पूर्ण पार्टीका कार्यकर्ता सहभागी हुने अपिल भनिएको छ। समसामयिक राष्ट्रिय राजनीति जनतामाझ सत्यतथ्य कुरा पुर्‍याउन  खबरदारी सभा आयोजना गर्न लागिएको जिल्ला पार्टीको संयोजक नवराज न्यौपानेले बताए।

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरिएको छ । प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ । व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।  

दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ को उद्घाटन

भरतपुर । दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव २०८१ आजदखि सुरु भएको छ । महोत्सवको एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताउनुभयो ।  पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा आर्थिक गतिविधि चलायमान भएको उहाँको भनाई छ । भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उहाँको भनाइ छ ।  भरतपुर भ्रमण वर्षले सिंगो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उहाँले उल्लेख गर्नुभयो । महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ संस्था, निकायको समवन्य तथा आयोजनामा धेरै वटा मेला, महोत्सव तथा सभा सम्मेलन भएको स्मरण पनि गर्नुभयो । आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ । यहाँ आउने पर्यटकलाई लक्ष्ति गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् । भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

छठले भित्र्याउँछ डोम समुदायमा खुशी

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् ।  हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन ।  क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्,“समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरू काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गुज्रिनु परिरहेको छ ।” उनी चाडपर्वका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउँछन् ।  छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याई रहेको मल्लिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने ।  दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ! तराईवासी हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् ।  छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान् टोलका श्याम मल्लिक डोमले सुनाए ।  सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बिच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । “अरू बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौँतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो”, उनले खुसी हुँदै भनिन् ।  महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ ।  छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन् ।  मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले चाडपर्व आफूहरूका लागि पिर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरमा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् ।  छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए ।  हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभई देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने यसमा संलग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।    

लोकप्रिय