इलाम–२ मा आधा मत गनिसक्दा, सुहाङलाई ५३ सयको अग्रता, लिम्बुले कटाए २ हजार

इलाम–२ मा आधा मत गनिसक्दा, सुहाङलाई ५३ सयको अग्रता, लिम्बुले कटाए २ हजार

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ५ हजार ३०२ मतले अग्रता लिएको छ। एमाले उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत पाएका छन् ।

इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७  र ८ नम्बर वडाको मतगणना भइसकेको छ। देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३५ हजार ६११ सदर मतगणना भएको छ ।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ मत खसेको थियो ।

२०७९ को चुनावमा विजयी भएका एमाले उम्मेदवार सुवास नेम्वाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

पूर्वमन्त्री गोविन्दराज जोसीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोसीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा यही जेठ १ गतेदेखि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलबार(आज) फैसला आउने सम्भावना रहेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जोसीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासु दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले मुद्दा खारेजी गरेपछि जोसीले सफाइ पाएका थिए। त्यसविरुद्ध अख्तियार र जोसीको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ०७० भदौ १२ मा झगडिया झिकाउने आदेश गरेका थियो।

सहकारी प्रकरण : कार्यदलको बैठक फेरि बस्ने सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल भएको हो । छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको थियो भने रास्वपाले रविको नाम उल्लेख गर्न चाहेको थिएन।अब बिचको बाटो पहिल्याएर अगाडि बढ्ने गरी छलफल अगाडि बढेको हो।

आईसीसीको पक्राउ पुर्जी तयारी प्रकरण : यस्ता छन् विश्वका शक्ति राष्ट्रको प्रक्रिया

जेरुसेलम ।नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीसी)मा गाजा क्षेत्रमा गरिएको नरसंहारका विषयमा इजरायलका प्रधानमन्त्री र हमासका स्थानीय नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न उक्त अदालतका अभियोजककै तर्फबाट निवेदन दिइएको छ । उक्त घटनालाई लिएर विश्वव्यापी रुपमा विभिन्न प्रतिक्रिया आएका छन् । आईसीसीको निर्णयसँग असन्तुष्ट हुँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले निन्दा गरेका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त विषय अपमानजनक भएको र इजरायल तथा हमासबीच समानता नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि उक्त प्रकरणलाई लाजमर्दो बताउँदै त्यसमा आईसीसीको कार्यक्षेत्र नरहने बताएका छन् । तर सो निर्णयलाई फ्रान्सले भने आईसीसीको समर्थन गरेको छ। फ्रान्स लामो समयदेखि पश्चिमी खेमामा रहेको भए पनि यसपालि भने फरक धारमा उभिएको छ। इजरायली सांसदहरूले पनि आईसीसीका अभियोजकको पछिल्लो भनाइको आलोचना गरेका छन् । हमासले समेत उक्त विषयको विरोध गरेको छ।अन्तर्राष्ट्रिय कानुनका विज्ञले भने आईसीसीको तयारीको समर्थन गरेका छन्। ह्युमन राइट्स वाचले आईसीसीको तयारीको सराहना गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक विज्ञप्ति जारी गरी आईसीसीको तयारीले गाजा क्षेत्रको अवस्थामा अझ असर गर्ने भन्दै आलोचना गरेका छन्। आईसीसीका अभियोजक करिम खानले यो विषयको सबैभन्दा पहिला खुलासा गरेपछि विश्वव्यापी रूपमा तरंग उत्पन्न भएको हो।इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले आईसीसीको पछिल्लो तयारी अस्वीकार्य रहेको जनाएका छन्। नाकाबन्दीको सम्भावना यसैबीच, अमेरिकी संसद्‌ले आईसीसीविरुद्ध नाकाबन्दी लगाउन सकिनेसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको छ। आईसीसी अभियोजकको पछिल्लो वक्तव्यपछि हाउस रिपब्लिकनका नेताहरूले यस्तो तयारी गरेको जनाइएको छ। तर, के गर्ने भन्ने बारेमा अन्तिम टुंगो लगाउन बाँकी छ । सीएनएनबाट ।

इब्राहिमको सम्झनामा इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन

काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका राष्ट्रपति इब्राहिम रायसीको सम्मान तथा सम्झनामा इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि सोमबार भएको थियो । लगत्तै इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन तय गरिएको छ । यसैबीच इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हालेका छन्। इरानको मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्री नियुक्तमा गरेको छ।

लोकप्रिय