सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरू

काठमाडौं। नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो।
मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत आमसञ्चार, सूचना प्रविधि, दूरसञ्चार, हुलाक सेवा, मुद्रण सेवा र चलचित्र गरी छ वटा क्षेत्र तथा मन्त्रालयबाहेक १८ वटा निकाय साङ्गठनिक जिम्मेवारीमा रहेका छन्। सूचना आदानप्रदान गर्नका लागि गरिने सबै खालका परम्परागत तथा आधुनिक तरिका र शैलीहरु सञ्चार तथा सूचना प्रविधिको दायरामा पर्दछन्। नेपाली शब्दकोषमा सूचना प्रविधि खोजेर भेटिँदैन। यसका लागि सूचना र प्रविधि शब्दलाई अलगअलग केलाउनुपर्दछ वा च्याटजिपिटी वा गुगलको सहयोग लिनुपर्दछ।
सन् २००४ मा प्रकाशित एडवार्ड कर्निसको पुस्तक फ्युचरिङ्ग द इक्स्प्लोरेसन अफ द फ्युचरमा संसारमा उथलपुथल ल्याउने केही विषयहरुमध्ये प्रविधिको उत्साहजनक प्रगतिलाई नम्बर एकमा राख्दै विभिन्न भविष्यवाणी प्रस्तुत गरिएको छ। उक्त पुस्तकमा प्रक्षेपण गरेभन्दा अगावै कतिपय विषयहरु चरितार्थ हुँदै आएका पनि छन्। सूचना प्रविधिको युग भनेर चिनिने वर्तमान समयमा सूचना प्रविधिको विविध पक्षमा नीति, कानुन, पूर्वाधार तथा कार्यवातावरण तयार गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु पक्कै पनि चुनौतीपूर्ण पक्ष पनि हो।
सूचना तथा सञ्चार प्रविधि
मन्त्रालयले नेपाल सरकारले जारी गरेको सूचना प्रविधि नीति, २०७२ अनुरुप आफ्ना कामकारवाहीहरु अघि बढाउँदै आएको छ । यो बाहेक ब्रोडब्यान्ड नीति र फ्रिक्वेन्सी नीतिसमेत प्रयोगमा रहेकामा गत वर्ष फ्रिक्वेन्सी नीति पुनरावलोकन भई २०८० को नयाँ संस्करण जारी भएको छ । सूचना प्रविधिसँग सम्बन्धित भएर केही वर्षदेखि राष्ट्रिय सूचना तथा सञ्चार दिवस मनाइँदै आएको छ। ‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल सन्देशका साथ मे २ तदनुसार २०८० वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको थियो।
सोही दिवसको नयाँ संस्करणका रुपमा यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल सन्देशका साथ यही वैशाख २० गते भव्यरुपमा मनाउन लागिएको छ। यी दिवसहरुले विभिन्न क्षेत्रमा रहेका सूचना प्रविधिका लागि योगदान गर्नेहरुको सम्मान गर्ने र सहकार्य गर्ने वातावरण तयार गर्दछ । सूचना प्रविधिको प्रयोगले सार्वजनिक क्षेत्रमा काम गर्ने शैली, ढाँचा, जनशक्तिको प्रारुप, सङ्गठनमा प्रयोग हुने सामग्रीमा हलचल नै ल्याएको छ। एकीकृत सेवातर्फको यात्रा प्रारम्भ भएसकेको छ भने अनलाइन भुक्तानीमा चमत्कारिक रुपमा वृद्धि भएको छ।
तथ्याङ्कलाई भण्डारण गरी पुनः प्रयोग गर्ने, पेपर भर्सनलाई डिजिटल भर्सनमा रुपान्तरण गरी अनलाइन सेवा सम्भव बनाउने जस्ता काम सूचना प्रविधिकै कारण सम्भव भएको हो। इन्टरनेट र कम्प्युटरको संयोजनले गर्दा कार्यप्रवाहमा अभूतपूर्व परिवर्तन आएको छ। यो संयोजनलाई ‘साइबर स्पेस’ भनिन्छ र साइबर स्पेश बढ्नु आफैँमा आधुनिक स्रोत माथि पहुँच पनि हो। त्यसो त साइबर अपराध हुन सक्ने घेरा फराकिलो हुँदै गएकाले त्यस्ता अपराधबाट सुरक्षणको लागिसमेत तयारी गर्नुपर्ने, सजगता अपनाउनुपर्ने र राज्यको तर्फबाट समग्र प्रयोगकर्ताको हितको लागि अग्रसर हुनुपर्ने जिम्मेवारी पनि थप भएको छ।
सूचना प्रविधि संलग्न हुने कामकारवाहीको नियमन, शिक्षा सचेतना माध्यमबाट प्रविधिको प्रयोगलाई सिर्जनात्मक र सुरक्षित बनाउने, सूचना प्रशोधन र प्रवाह गर्ने, डिजिटल साक्षरतालगायतका विषय पनि मन्त्रालयको जिम्मेवारीमा पर्दछन्। यसबाहेक पनि सामाजिक सञ्जालको व्यापक प्रयोग र सामाजिक अन्तरकृया तथा घटनाक्रम पनि प्रभावित भएको सन्दर्भमा सो को नियमनका लागि निर्देशिका कार्यान्वयनमा आएको र कानुन निर्माणका लागि विधेयक मन्त्रिपरिषद् पेस हुने क्रममा रहेको छ।
सेवा प्रवाह गर्नुअघि सेवाग्राहीको विवरण प्राप्त गरी सो विवरणलाई आवश्यक पर्दा अद्यावधिक गर्न मिल्ने गरी सुरक्षित राख्ने, पुनः प्रयोग गर्ने मोडमा राख्ने, गोपनीयता कायम गर्ने र सेवाग्राहीको पहिचान यकिन भएपश्चात मात्र उसलाई सेवा उपलब्ध गराउने प्रयोजनका लागि उसकै अनुमतिमा प्रयोग प्रशोधन वा सम्पादन गर्नुपर्ने हुन्छ। यहाँनेर नै सूचना प्रविधिको सही र सुरक्षित प्रयोग वाञ्छित हुन आउँदछ।
यसै सन्दर्भमा सबै सरकारी कार्यालयमा लागू गर्ने गरी सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग प्रारम्भ भएको छ। यो प्रणालीमा थप परिष्कृत गर्न आवश्यक भएतापनि खासगरी कार्यालयमा आवश्यक पर्ने दर्ता चलानी टिप्पणी र पत्राचारलगायत विषय समेटेर यो प्रणाली तयार भएको छ र ४० भन्दा बढी केन्द्रीय कार्यालयहरुमा प्रयोगमा पनि छ। वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालको अगुवाइमा यो प्रणालीको विकास र प्रयोगमा विस्तार भएको कुरा छिपेको छैन।
वि.सं.२०७६ मा तामझामका साथ सुरुआत भएको र अति नै महत्वपूर्ण विषय डिजिटल नेपाल फ्रेमवर्क हो। भारतमा सन् २०१५ मा शुरुआत भएको डिजिटल इन्डियाले सफलताको चुली चुमिरहँदा हाम्रो अवस्था भने अझै पनि कमजोर छ। खासगरी क्षेत्रगतरुपमा आठवटा विषय क्षेत्र र ८० वटा पहल समेट्ने यो फ्रेमबर्क भनेको सूचना प्रविधि क्षेत्रको केन्द्रीय कार्यढाँचाका रुपमा लिन सकिन्छ। नागरिक एपलाई व्यापक बनाउने विषयका साथै डाटाको सुरक्षा सम्मका विषय पनि यसमै परेका छन्। यसको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल नेपाल परियोजनाका लागि विश्व बैङ्कले समेत ऋण लगानी गर्ने तयारी भैरहेको छ । केही कामहरु भएका छन् तर धेरै गर्न बाँकी छ।
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भई सो अनुसार साइबर सुरक्षासम्बन्धी कानुनको मस्यौदा एवम् राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। साइबर हाइजिनका सूचना जारी गर्नाका साथै विभिन्न निकायबाट साइबर सुरक्षा सम्वन्धमा सन्देश प्रवाह र डिजिटल शिक्षामा जोड दिइएको छ । सरकारी सूचना प्रविधि प्रणालीको जोखिम अनुगमनका लागि सेक्युरिटी अपरेसन सेन्टरको सञ्चालन हुँदै आएको छ । मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा अवधारणापत्र तयारीलाई अन्तिम चरणमा पुर्याएको छ भने सूचना प्रविधिसँग सम्वन्धित खासगरी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल नियमन विधेयक, दूरसञ्चार विधेयकको मस्यौदा तयारी सुझाव सङ्कलन गरी कतिपय विधेयक सहमति प्राप्त गर्ने चरणमा रहेका छन्। दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रयासस्वरुप पूर्वाधारको कभरेजका साथमा गुणस्तर वृद्धिमा जोड दिइएको छ।
आमसञ्चार
कुनै सूचना वा जानकारीको सञ्चार गरिनु प्रवाह गरिनु कम महत्वपूर्ण विषय हैन। यसमा आमसञ्चार माध्यमको भूमिका विगतदेखि नै प्रभावकारी रहँदै आएको छ। यसै क्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि स्वतन्त्र र निष्पक्षरुपमा सञ्चालन गर्ने ध्येयका साथ सार्वजनिक प्रसारण सेवाको अवधारणाअनुसार कानुन निर्माणका लागि विधेयक संसद्मा अन्तिम चरणमा रहेको छ। त्यसैगरी, सञ्चारमाध्यमको गतिशीलतासँगै मिडिया काउन्सिल विधेयक तयार भई सङ्घीय संसदमा दर्ता हुने क्रममा रहेको छ।
विगतदेखि मस्यौदा हुने तर निर्णयको चरणमा विविध कारणवश अलमलमा पर्ने गरेका कतिपय विधेयकउपर विज्ञ सञ्चारकर्मीहरु रहेको कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने कार्यसमेत यसबिचमा भएको छ। त्यसैगरी सञ्चारसँग सम्बन्धित विषयमा सङ्घ र प्रदेशबीच सम्भावित सहकार्यका सम्वन्धमा प्रदेशमा सञ्चार हेर्ने मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुसँग र छलफल हुनुका साथै कतिपय सन्दर्भमा प्रदेशमै पनि स्थलगतरुपमा कार्यक्रमहरु सम्पन्न भएका छन्। विधेयकको तयारी गर्दा वा कार्यक्रमहरु डिजाइन गर्दा सङ्घीयताको मर्मलाई आत्मसात गरिएको छ।
दिवस र अवसरका क्रममा सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउने पहल पनि भएका छन् । २०८० जेठ १५ गते प्रकाशित गणतन्त्रका १५ वर्ष नामक इन्फोग्राफिक पुस्तिका लोकप्रिय देखियो । त्यस्तै अन्य प्रकाशनहरु पनि भए। वेवसाइटलाई एकीकृत भर्सनमा सञ्चालन प्रारम्भ भएको छ। राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरी ओटिटीलाई नियमनको दायरामा ल्याइएको छ। विज्ञापन चक्रका विषयहरु सम्वोधन हुनेगरी विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा छ भने विज्ञापन नियमावली संशोधन भएको छ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना हुने प्रेस मिटलाई व्यवस्थित गर्ने कार्य, वेवसाइटमा ‘मिट योर मिनिस्टर’ नामक अन्तरक्रियात्मक ट्यावको प्रयोग, सरकारी सञ्चार संस्थाहरुको सबलीकरणका लागि निरन्तर संवाद र अनुगमन, चलचित्रका विविध क्षेत्रलाई पर्यटनसँग जोड्ने र सङ्घीयताको मर्मअनुसार यो विषयलाई व्यापक बनाउनेगरी कार्यक्रमहरु कार्यान्वयनमा आएका छन्। चलचित्र जाँचसम्बन्धी कार्यलाई कार्यविधिबाट व्यवस्थित गरिएको छ। टेलिभिजन प्रसारणलाई आलाकार्टा प्रणालीमा लैजाने निर्णय भई सो अनुसार तयारीका कामहरु भैरहेका छन्। सबै सार्वजनिक सञ्चार माध्यममा समावेशी सामग्री तथा कार्यक्रम समावेश भएका छन्। पत्रकारितासँग सम्बन्धित गैरनाफामूलक संस्थाहरुको सबलीकरणका लागि प्रवाह हुँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नका लागि कार्यविधि तयार गरी सार्वजनिक सूचना प्रकाशित समेत भएको छ।
सुशासन तथा संस्थागत विकास
सुधारका लागि निरन्तरतामा क्रमभंगता पनि आवश्यक पर्दछ । स्वमूल्याङ्कन तथा विज्ञको समीक्षा पनि चाहिन्छ । यही मान्यताअनुसार कतिपय विषयमा कार्यदलमार्फत अध्ययन गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने र समयक्रममा नीति तथा कार्यक्रमसँग आबद्ध गर्ने मोडलको प्रयोग मन्त्रालयले गरेको छ । अर्को महत्वपूर्ण विषय भनेको नीति तथा कानुनको मस्यौदा तयार गर्दा विज्ञ एवम् सरोकारवालाको सहभागिता र सुझाव ग्रहण गर्ने शैली अवलम्बन गरिएको छ।
यो बाहेक मन्त्रालयका महाशाखा तथा अन्तर्गतका निकायवीच नियमित सम्बाद अनुगमन छानबिन र सुधार पहल हुँदै आएका छन्। समयानुकूल सङ्गठन निर्माण एवम् पुनसंरचनाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभाग अन्तर्गत ल्याइएको छ भने हुलाक संरचनामा आमूल परिवर्तन हुने गरी हरेक स्थानीय तहमा हुलाक रहनेगरी यसको सेवा पुनः संरचित गरिने भएको छ।
मन्त्रालयमा हरेक आइतबार कार्यालय समय अगावै प्रारम्भ हुने उच्च व्यवस्थापन समूहको बैठकका अलाबा क्षमता विकास कार्यशाला र सम्वाद श्रृङ्खला सिकाइ हस्तान्तरणका सेसनहरु सञ्चालन गर्ने गरिएको छ। अध्ययन र छानविन गरी सुशासन स्थापनालाई प्रवद्र्धनका लागि पनि गरिएका पहल पनि चर्चामा आए। इन्टरनेट सेवा प्रदायकहरुको राजश्व बक्यौता, एनसेलको शेयर बिक्रीको सबाल, डाटा सेन्टरमा देखिएका समस्यालगायत विषय पनि अध्ययन भई सुधार कार्यसँग आवद्ध भएका विषय हुन्। मन्त्रालय मातहतका निकायहरुमा नेपाल सरकारबाट प्रवाह हुने अनुदानमा देखिएका केही कमीकमजोरीहरु सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ।
अन्त्यमा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने मन्त्री नेपाल सरकारको प्रवक्तासमेत हुने प्रचलन नै छ। समयमै सही सूचना सम्प्रेषण र नीति समन्वयमा प्रवक्ताको भूमिकाले सरकारको गुणवेत्ता बढाउँछ। यसै सन्दर्भमा विगत एक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखिने खालका सुधारका पहलहरु गरेको निश्कर्षमा पुग्न सकिन्छ। सुधारको निरन्तरता र गतिशीलताले मात्र परिवर्तनलाई दिगो र संगठनात्मक उपलब्धिलाई प्रभावकारी बनाउँदछ। आगामी आर्थिक वर्षदेखि १६ औँ योजनासमेत प्रारम्भ हुने सन्दर्भमा डिजिटल रुपान्तरणको विषयले प्राथमिकता पाउनुपर्ने र तीव्ररुपमा विस्तार भैरहेको साइबर स्पेसको सुरक्षा र सही प्रयोगतर्फ सबैको सहयोग आवश्यक पर्ने देखिन्छ। लेखक नेपाल सरकारका सहसचिव हुन्। रासस
डिपसिकले कसरी हल्लायो अमेरिकी प्रविधि उद्योगलाई ?
अमेरिकी प्रमुख कृत्रिम बुद्धिमत्ता कम्पनीहरूको बन्द प्रणालीहरू विपरीत, चिनियाँ स्टार्टअप सनसनी DeepSeek ले खुला स्रोत (ओपन-सोर्स) दृष्टिकोणलाई अँगालेको छ। यो मार्गलाई केहीले सहकार्य र प्रयोगलाई प्रवर्द्धन गर्ने रूपमा हेर्छन्, जसले छिटो प्रगति गर्न सक्ने सम्भावना देखाउँछ। यसको वेब-आधारित च्याट इन्टरफेस र मोबाइल एप निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ। यो रणनीति OpenAI जस्ता कम्पनीहरूबाट ठूला रूपमा फरक छ, जसले आफ्ना मोडेलहरू गोप्य राख्छन् र पहुँचको लागि मासिक शुल्क लिन्छन्। DeepSeek को दृष्टिकोणले व्यापक समर्थन पाएको छ, जसमा खुला स्रोत समर्थकहरूले अमेरिका सस्तो र सबैलाई उपलब्ध हुने रणनीति अपनाएर अगाडि बढ्न सक्ने तर्क दिएका छन्। यस कम्पनीले देखाएको छ कि एआईको सफलता केवल विशाल कम्प्युटिङ शक्तिमा निर्भर हुँदैन, बरु नवीनताको माध्यमबाट पनि प्राप्त गर्न सकिन्छ। यसको दृष्टिकोणले एआई विकासका परम्परागत मान्यताहरूलाई चुनौती दिएको छ र सिलिकन भ्याली, वाल स्ट्रिट तथा वासिङ्टनमा तरंग उत्पन्न गरेको छ। DeepSeek, जुन झेजियाङ प्रान्तको हाङ्जाओमा आधारित छ, पछिल्ला दुई सातामा विश्वव्यापी रूपमा चर्चामा आएको छ। यसले अमेरिकी प्रविधि दिग्गजहरूले विकास गरेका प्रभावशाली उपकरणहरू जस्तै प्रदर्शन दिने दुई ठूला भाषा मोडेलहरू कम लागतमा र थोरै कम्प्युटिङ शक्तिको प्रयोग गरेर जारी गरेको छ। जनवरी २० मा DeepSeek-R1 सार्वजनिक गरियो, जुन खुला स्रोत "तर्क गर्ने" मोडेल हो। यसले OpenAI को उच्च-स्तरको ठूलो भाषा मोडेल o1 को जस्तै "चेन अफ थट" (विचारको श्रृंखला) प्रविधि अपनाएको छ। Meta का प्रमुख एआई वैज्ञानिक Yann LeCun ले हालैको Threads पोस्टमा खुला स्रोत मोडेलहरू अब निजी मोडेलहरूभन्दा अगाडि बढिरहेको बताएका छन्। अनुभवी प्रविधि लगानीकर्ता Bill Gurley ले DeepSeek लाई प्रतिस्पर्धीको रूपमा नहेर्नुपर्ने बताएका छन्। उनले भने, "किन तिनीहरू 'सत्रु' हुन्? DeepSeek मा काम गर्ने कोही पनि मेरो सत्रु होइनन्। तिनीहरूले खुला स्रोतलाई माया गर्छन्, जसले गर्दा मलाई लाग्छ कि म तिनीहरूसँग राम्रो सम्बन्ध बनाउन सक्छु।" विशेषज्ञहरू भन्छन् कि अमेरिकी कम्पनीहरूले DeepSeek लाई प्रतिद्वन्द्वीका रूपमा होइन, बरु नवीनताका लागि नयाँ दिशा पहिल्याउने अवसरको रूपमा हेर्नुपर्छ। "DeepSeek को सफलताबाट सिक्नुपर्ने पाठ भनेको यो हो कि: केवल पैसा खर्च गर्नु प्रगति होइन। यस्तो बाटोले कुनै नवीनता ल्याउँदैन। गरिब प्रतिस्पर्धीहरू बाध्य भएर सिर्जनात्मक हुनुपर्ने हुन्छ, सीमित स्रोतभित्रै काम गर्नुपर्ने हुन्छ, र अन्ततः … तिनीहरूले जित्छन्। खर्च गर्नु भनेको नवीनता होइन," डेटा वैज्ञानिक Drew Breunig ले Defense One मा लेखेका छन्। DeepSeek को एआई सहायक मोबाइल एप सार्वजनिक भएको केही दिनमै Apple App Store को शीर्ष स्थानमा पुग्यो, OpenAI को ChatGPT मोबाइल एपलाई समेत उछिन्दै। एआई विकासको प्रचलित मान्यता के थियो भने अत्याधुनिक ठूलो भाषा मोडेल बनाउन ठूलो प्रविधि र आर्थिक स्रोत चाहिन्छ। OpenAI जस्ता शीर्ष एआई विकासकर्ताहरूले तर्क गर्दै आएका थिए कि धेरै डाटा, ठूलो मोडेल र बढी कम्प्युटिङ शक्ति प्रयोग गर्दा मात्रै उत्कृष्ट उत्पादनहरू सम्भव हुन्छन्। तर DeepSeek ले यो मान्यतालाई चुनौती दिएको छ। कम्पनीले ६ मिलियन डलरभन्दा कम लगानीमा र करिब २,००० कम क्षमताका चिप्स प्रयोग गरेर उल्लेखनीय सफलता हासिल गरेको छ। तुलनाका लागि, Meta को पछिल्लो Llama 3.1 मोडेललाई प्रशिक्षण गर्न Nvidia को १६,००० H100 चिप्स आवश्यक परेको थियो। यी चिप्सहरू हाल अमेरिकी निर्यात प्रतिबन्ध अन्तर्गत चिनियाँ कम्पनीहरूलाई उपलब्ध छैनन्। DeepSeek ले उच्च-स्तरीय चिप्सको सीमितताका बावजुद मोडेल वास्तुकला, प्रशिक्षण प्रक्रिया र हार्डवेयर व्यवस्थापनमा नवीनता ल्याएर कम-क्षमताका चिप्सहरूमा आफ्ना मोडेलहरू प्रशिक्षण गर्ने तरिका विकसित गरेको छ। Council on Foreign Relations का वरिष्ठ डिजिटल नीति विश्लेषक Kat Duffy का अनुसार, DeepSeek को नवीन दृष्टिकोणले अमेरिकी एआई रणनीतिको कमजोरी उजागर गरेको छ। उनले लेखेकी छन्, "अमेरिकी नवप्रवर्तन वातावरण कृत्रिम साधारण बुद्धिमत्ता (AGI) को विकासमा केन्द्रित छ, जुन विश्वका अधिकांश देशहरूको आवश्यकतासँग मेल खाँदैन। अमेरिकाले चिनियाँ विकासकर्ताहरूलाई अत्यधिक सीमित वातावरणमा काम गर्न बाध्य पार्दैछ, जसले चीनलाई सस्तो र ऊर्जा-कुशल एआई प्रविधि विकास गर्ने विश्वव्यापी अगुवा बन्ने मौका दिइरहेको छ।"
एआई बन्नसक्छ शैक्षिक क्रान्तिको सारथी
जिन डिङ विश्व अहिले "चौथो औद्योगिक क्रान्ति" को बीचमा छ र चाँडै "पाँचौं औद्योगिक क्रान्ति" मा प्रवेश गर्न सक्नेछ। यसैबीच, कृत्रिम बुद्धिमत्ताजस्ता उदाउँदो प्रविधिको द्रुत विकासले प्रारम्भिक, माध्यमिकदेखि उच्च शिक्षासम्मको हरेक तहमा शिक्षालाई असर गरिरहेको छ। विश्वभरका देशहरू शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको लचिलो प्रयोग गर्ने तरिका खोज्ने प्रयास गर्दैछन्, ताकि टाढा रहेका क्षेत्रमा रहेका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न र २१औं शताब्दीमा सफल करियर बनाउन आवश्यक सीपहरू सिकाउन सकियोस्। चीनले स्मार्ट लर्निङ प्रणालीहरू विकास गरी र कृत्रिम बुद्धिमत्तामा अनुसन्धान तीव्र पार्दै शिक्षा र तालिममा एआईको प्रयोगमा नेतृत्व लिएको छ। चीनले शिक्षा क्षेत्रमा एआईको वैश्विक प्रयोगलाई अगाडि बढाउन अन्य देशहरूसँग पनि सहकार्य गरिरहेको छ। संयुक्त राष्ट्रसंघको चौथो दिगो विकास लक्ष्य (एसडीजी ४) भनेको "समावेशी र न्यायोचित गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाइको अवसर प्रवर्द्धन गर्ने" हो। यस परिप्रेक्ष्यमा, युनेस्कोजस्ता संस्थाहरूले एआईको प्रयोग गरी एसडीजी ४ हासिल गर्ने तरिकाहरू खोजिरहेका छन्। एआईले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न र विद्यार्थीहरूलाई एक-एक गरेर ट्युटोरिङ प्रदान गर्न, साथै आजीवन सिकाइलाई सहज बनाउन सक्दछ। एसडीजी ४ प्राप्त गर्नको लागि, एआई प्रयोग गरेर विभिन्न भागमा रहेका विद्यार्थीहरूको लागि अनलाइन कक्षाहरू आयोजना गर्न सकिन्छ, पाठ्यक्रमको सामग्रीलाई विद्यार्थीको इच्छित भाषामा अनुवाद गर्न सकिन्छ, र विद्यार्थीलाई ट्युटरसँग अन्तरक्रिया गर्न अनुमति दिन सकिन्छ। यो टाढा रहेका, विद्यालयदेखि धेरै किलोमिटर टाढा बसोबास गर्ने विद्यार्थीहरूको लागि महत्त्वपूर्ण छ। साथै, शिक्षकहरूले पनि विद्यार्थीहरूका लागि अध्ययन सामग्री तयार गर्न र उनीहरूलाई कुनै पाठ्यक्रम पूरा गर्न मद्दत गर्न एआईको प्रयोग गर्न सक्छन्। एआईले शिक्षकहरूलाई विद्यार्थीहरूका लागि स्रोतहरू अनुकूलन गर्न मद्दत गर्न सक्छ, जसले उनीहरूको प्रदर्शनमा सुधार गर्न सक्छ। बेइजिङ एडभान्स्ड इनोभेसन सेन्टर फर फ्युचर एजुकेसन र बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले "लर्निङ सेल मोडेल" नामक स्वचालित स्रोत उत्पादन संयन्त्र विकास गरेका छन्, जसले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न अध्ययन सामग्रीहरू र अन्य स्रोतहरू अनुकूलन गर्दछ। अध्ययनहरूले देखाउँछन् कि लर्निङ सेल मोडेलले व्यक्तिगत विद्यार्थीहरूको आवश्यकताहरू अनुरूप स्रोतहरू उत्पादन गर्न सक्छ र तिनीहरूको बौद्धिक बोझ नबढाई विद्यार्थीहरूको प्रदर्शन सुधार गर्न सक्छ। महत्त्वपूर्ण अनुसन्धान क्षेत्रहरूमध्ये एक भनेको भाषा सिकाइलाई सहज बनाउन एआईको सम्भावित प्रयोग हो। भविष्य शिक्षा र बेइजिङ नर्मल युनिभर्सिटीका एडभान्स्ड इनोभेसन सेन्टरका अनुसन्धानकर्ताहरूले विद्यालयहरूमा दोस्रो भाषा रूपमा चिनियाँ भाषा सिकाउनमा "स्वचालित स्रोत उत्पादन प्रणाली" कसरी सहयोगी हुन सक्छ भनेर अध्ययन गरेका छन्। अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूको आवश्यकताहरू पूरा गर्न एआईको प्रयोग सुनिश्चित गर्न एक मोडेल विकास गरेका छन्, जसले देखाउँछ कि यो शिक्षण सिकाइ मोडेलको प्रयोगले विद्यार्थीहरूको प्रदर्शनमा सुधार ल्याएको छ र उनीहरूको शिक्षण प्रति सकारात्मक धारणा बनाएको छ। यो मोडेल प्रयोग गरेर पढाइएका विद्यार्थीहरूले पाठ्यक्रममा बढी सक्रिय रूपमा भाग लिएका छन्। भाषा शिक्षण मात्र होइन, एआईलाई सबै उमेरका विद्यार्थीहरू र विभिन्न देशहरूका विद्यार्थीहरूलाई विभिन्न संस्कृतिबारे सिकाउन पनि प्रयोग गर्न सकिन्छ। बेइजिङ फरेन स्टडिज युनिभर्सिटी, अथाबास्का युनिभर्सिटी (क्यानाडा), र केही साउदी अरेबियन विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूले एआई प्रयोग गरेर विद्यार्थीहरूले घरमै बसेर एकअर्काको संस्कृतिबारे सिक्न सक्ने तरिकाहरूको खोजी गर्दै आएका छन्। एआई अनुप्रयोगहरू विद्यार्थी र शिक्षकहरूलाई लाभ हुने गरी डिजाइन गरिनु पर्छ, जसका लागि विद्यार्थीहरू, शिक्षकहरू, र शैक्षिक संस्थाहरूका अन्य कर्मचारीहरूको लागि नीति तयार गर्न आवश्यक छ। उदाहरणका लागि, डाटा गोपनीयता र सुरक्षा, प्रतिलिपि अधिकार, शैक्षिक इमानदारी, पारदर्शिता, र वातावरणीय चिन्ताहरू जस्ता कारकहरूमा नीतिहरू हुनु पर्छ। अथाबास्का विश्वविद्यालय र कमनवेल्थ अफ लर्निङका विशेषज्ञहरूले तयार पारेको हालैको प्रतिवेदनले उच्च शिक्षण संस्थाहरूका विभिन्न तहका कर्मचारीहरूले पालना गर्नुपर्ने १४ एआई नीतिहरूको पहिचान गरेको छ। यद्यपि केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई एआई प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेका छन् किनभने उनीहरूले एआईले तिनीहरूलाई फाइदा गर्दैन वा यो नैतिक होइन भनेर सोच्छन्। तर एआई यहाँ रहिरहनेछ, र शैक्षिक संस्थाहरूले यसलाई अर्को लाभदायक उपकरणको रूपमा स्वीकार गर्नुपर्नेछ। जब हामी "पाँचौं औद्योगिक क्रान्ति" तर्फ बढ्दैछौं, एआईले स्वतन्त्र रूपमा सोच्न सक्षम हुन सक्छ र मानिसजत्तिकै रचनात्मक बन्न सक्छ, र जेनेरेटिभ एआई अझ बौद्धिक र मानिसजस्तै बौद्धिक कार्यहरू पूरा गर्न सक्षम बन्न सक्छ। मेसिन लर्निङको प्रगतिको साथ, एआई प्रणालीहरूले मौलिक विचारहरू विकास गर्न सुरु गर्न सक्छन्, जसलाई जटिल परिस्थितिहरूमा र सन्दर्भहरूमा लागू गर्न सकिन्छ। एआईले शिक्षामा क्रान्ति ल्याउने सम्भावना राख्दछ यदि यसलाई सही रूपमा डिजाइन र लागू गरियो भने। उच्च शिक्षण संस्थाहरूको चुनौती भनेको एआईको द्रुत विकाससँग कसरी समायोजन गर्ने हो, विशेष गरी भविष्यका पुस्ताहरूलाई शिक्षा प्रदान गर्न उपयुक्त नीतिहरू निर्माण गर्दा। अनुवादः एआई स्रोतः https://www.chinadaily.com.cn/a/202410/19/WS671319a0a310f1265a1c875d.html
मनलाग्दो गरी शुल्क निर्धारण नगर्न इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ– दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरूले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क दर प्राधिकरणबाट स्वीकृत गराई सोही बमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेनाको महसुल दर लागू गर्नु प्राधिकरणले निर्देशन दिएको छ ।
यस्ता थिए टिकटकको प्रतिबन्ध हटाउन अघिल्लो सरकारले तोकेका शर्तहरु
काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । सर्तसहित टिकटक खोल्न दिने निर्णय विहीवारको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको’ निष्कर्षसहित मन्त्रिपरिषद्को गत २७ कात्तिकको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सञ्चारमन्त्री गुरुङका अनुसार टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुनेसहित पाँच सर्त तीन महिनाभित्र पूरा गर्नुपर्नेछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्मको सूचीकरण अनिवार्य गरेको थियो । त्यतिबेला निर्देशिकाले तोकेका अन्य शर्तसहित सूचीकरण हुन टिकटकले मानिरहेको थिएन । अघिल्लो सरकारले टिकटक प्रतिनिधिहरुसँगको छलफलमा विभिन्न शर्त अघि सारेको थियो । के थिए अघिल्लो सरकारले टिकटिकसँग अघि सारेका शर्तहरु ? कानुनी तथा नीतगत पक्ष –नेपालको मौजुदा कानुन (सञ्चार, सामाजिक सञ्जाल, करलगायत) अन्तर्गत रही सञ्चालन गर्नुपर्ने । –नेपाल सरकारको सम्बन्धित कानुन (ऐन नबन्दासम्म निर्देशिका)अनुसार सम्बन्धित निकायहरुमा सूचीकरण भई उत्तरदायित्व निर्वाह गर्ने । –सामाजिक सञ्जाल तथा कम्पनीसँग सम्बन्धित गुनासो सम्बोधन गर्न नेपालको प्रचलित कानुनले तोकेको निकायसँग आवश्यक समन्वय गर्न नेपालका लागि डेडिकेटेट सम्पर्क संयन्त्र (व्यक्ति तथा प्रणाली) सुनिश्चित गर्ने । सामग्री नियमन र सहजीकरण –सामग्री नियमन र व्यवस्थापनका लागि नेपाली भाषामा पोख्त भएका नेपाली जनक्ति चरणवद्धरुपमा थप गर्ने । –हाल कम्पनीमा कार्यरत रहेका नेपालीभाषी कर्मचारीहरुलाई समेत थप क्षमता अभिवृद्धि गर्ने । –नेपालको कानूनले निषेध गरेका सामग्री नियमनको प्रयोजनार्थ नेपाल सरकारले तोकेको निकायलाई प्रत्यक्ष रिपोर्ट प्रणालीको सुनिश्चितता गर्ने । –हाल रिपोर्ट गर्न प्रयोगमा रहेको सिस्ष्टमका बारेमा सम्बन्धित निकायलाइ अनुक्षिण प्रदान गर्ने । सामग्री रिपोर्ट संयन्त्र सुधारका लागि निरन्तर परामर्स र छलफल गर्ने । –प्रयोगकर्ताको डाटामा पहुँचका लागि नेपालको कानुन बमोजिम अधिकारप्राप्त निकायले माग गरेको खण्डमा प्रयोगकर्ताको डाटा उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्ने । –बालयौन दुव्र्यवहार, बालश्रम, बाल तथा महिला बेचबिखन, वयस्क सामग्री, अश्लीलता, देहव्यापार, लागु औषधको कारोबार एवं प्रयोगलगायतका कानुनले निषिद्ध गरेका संवेदनशील सामग्री नियन्त्रणका लागि विशेष अतिरिक्त उपायहरु अवलम्बन गर्ने । र, सोसम्बन्धी आवश्यकता अनुरुप नेपाल सरकारको कानुन बमोजिम तोकिएको निकायले माग गरेका डाटा उपलब्ध गराउने । –नेपालको कानूनले निषिद्ध गरेका सामाजिक अपराधहरु नियन्त्रणमा सहयोग गर्न सोसँग सम्बन्धित शब्द, चित्र, संकेत, दृश्य, ग्राफिक, ध्वनी आदि सामग्री स्व–सूचितको नेपालमै आएर परिक्षण गरी सोही अनुरूप नियमन हुने प्रणाली विकासका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने । –सामाजिक सञ्जालका प्रयोगकर्ताले पोष्ट गर्न नहुने सामग्री भनी कानुनले परिभाषित गरिएका सामग्रीहरुलाई अथवा नेपाल सरकारको सम्बन्धित निकायले रिपोर्ट गरेका सामग्रीको गाम्भीर्यताका आधारमा नियमनका लागि आवश्यक उपाय अवलम्बन गर्ने । –टिकटक प्लेटफर्मलाई मर्यादित तथा सामाजिक हितमा प्रयोग गर्न नेपालको कानुनले तोकेको निकायसँग नियमित सहकार्य र सहयोग गर्ने । –टिकटक पुनः संचालनमा आएसँगै कानुन बमोजिम गर्न नहुने विषयहरुबारे सुसुचित गर्न नेपाल सरकारले उपलब्ध गराएको सूचना सामग्री प्रयोगकर्ताले स्वतः देखिने गरी प्रसारण हुने व्यवस्था मिलाउने । नेपालमा लगानी तथा सामाजिक उत्तरदात्विका कार्यक्रम –नेपालको स्वीकृत पाठ्यक्रम अनुसार सामुदायिक विद्यालयहरुका लागि डिजिटलाइज पाठ्यसामग्री, सिकाइ कक्षा, छात्रवृति, विद्यालय डिजिटलाइजेसन लगायतका कार्यक्रम सञ्चालन गर्ने । –सामुदायिक विद्यालयहरुलाई आइसिटी ल्याब अथवा अन्य मोडालिटीमा डिजिटलाइसेनका लागि शिक्षा मन्त्रालयसँगको सहकार्यम आवश्यक सहयोग गर्ने । –नेपाल सरकारको निकायले तोकेबमोजिमका कक्षा अनुकुल हुने गरी डिजिटल पाठ्यसामग्रीको विकास गरी नियमित अनलाइन कक्षा संचालनका लागि सहयोग गर्ने । –इन्टरनेटको सुरक्षित प्रयोग तथा यस सम्बन्धी आम जनतालाई सुसुचित गर्न नेपाल सरकारको सुझाव अनुसार डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने । –सूचना तथा संचार मन्त्रालयसँग समन्वय गरी इन्टरनेटको सुरक्षित प्रयोग, साइबर सुरक्षा लगायत विषयमा डिजिटल साक्षरता सम्बन्धी सागग्रीको विकास गर्ने । –नेपाल सरकारका निकाय तथा नागरिक समाजका लक्षित संघसंस्थाहरुसँगको समन्वय एवं सहभागितामा माथि उल्लेखित विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने । –स्थानीय तह, प्रदेस तथा संघीय निकायका पदाधिकारीको सुरक्षित इन्टरनेट, साइबर सुरक्षा तथा डिजिटल साक्षरताका विषयमा क्षमता अभिवृद्धिका लागि अनुभव साटासाट लगायतका कार्यक्रम संचालन गर्ने । –नेपालको आर्थिक तथा सामाजिक विकासका लागि पर्यटन लगायतका क्षेत्रको प्रचार प्रसारमा सघाउ पुर्याउने । –नेपाल सरकारले उपलब्ध गराएबमोजिमका जनचेतनाका सामग्री आवश्यकता अनुसार प्लेटफर्मबाट निःशुल्क प्रसारण गर्ने ।