माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुई तिहाइ बहुमत

माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुई तिहाइ बहुमत

एजेन्सी । माल्दिभ्समा भारत विरोधी र चीन निकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टीलाई बहुमत प्राप्त भएको छ।

आइतबार माल्दिभ्समा भएको निर्वाचनबाट मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले ९३ मध्ये ६० भन्दा बढी सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

त्यहाँ १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट मात्रै जित्ने अनुमान गरिएको छ।

गत सेप्टेम्बरमा मोहम्मद सोलिहलाई पराजित गर्दै मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए ।

उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीको बहुमत थियो ।

निर्वाचन परिणाम अनुसार अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टीको बहुमतमा हुनेछ।

उनी चीन निकट मानिन्छन्।

राष्ट्रपति बन्नासाथ उनले आफ्नो औपचारिक भ्रमणसमेत चीनबाट सुरू गरेका थिए । यसबाट भारत थप रूष्ट बनेको थियो।

मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नसमेत आग्रह गरेका थिए ।

माल्दिभ्सबाट भारतीय सेना फिर्ता हुनुपर्ने विषय जोडतोडले उठेको थियो । त्यही पक्षको नेतृत्व गरेर मुइज्जु नयाँ राष्ट्रपति बनेका थिए।  

राष्ट्रपति बनेपछि भारतलाई ६ महिनाभित्र आफ्नो सेना फिर्ता गर्न मुइज्जुले आग्रह गरेका थिए।

त्यतिबेला भारतमा ‘बोयकट माल्दिभ्स’ अभियान नै सञ्चालन भएको थियो ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

एजेन्सी । इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा भएका छन् । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको हो ।  भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाउने तयारी छ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको छ । इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको एमएससी एरीज मालबाहक जहाज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य रहेका थिए । यसमा १७ भारतीय नागरिक  थिए । इजरायलसँग जारी तनावबिच इरानले यस्तो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी रहेका छन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ । सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको गोदाममा भएको आगलागीमा कम्तीमा बिस जना सैनिकको मृत्यु भएको छ ।  शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री हुन मानेटले बताए ।  काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए । हतियार डिपोमा भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

लोकप्रिय