वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या

विराटनगर । सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किइन्, तर घर फर्केपछि उनले चरम संघर्ष गर्नुपर्‍यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो । 

मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा गइन् । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुपर्‍यो ।

सकुन्तला र जीवनकुमारी मात्र होइन, वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरूको मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र अनुभव पनि खेर गइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरूले पारिवारिक र सामाजिक समस्याका साथै आर्थिक समस्या पनि भोग्न परिरहेको देखिन्छ । 

इलामको सूर्योदय नगरपालिकामा पारिवारिक परामर्शदाताका रूपमा कार्यरत ईश्वरी तामाङले वैदेशिक रोजगारीबाट फर्केकाहरूको समस्याका बारेमा भनिन्, 'विदेशमा बस्दा नियमित पैसा आउने, खर्च गर्ने शैली पनि फरक हुने तर यहाँ फर्केपछि नियमित आम्दानी नहुने, काम गर्दा पाउने पारिश्रमिक बचत नहुने र खर्च गर्ने योजना पनि नमिल्ने गरेकाले उहाँहरूमा आर्थिक तथा पारिवारिक समस्या आउँछ ।' 

यिनै समस्यालाई मनन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरणको कामलाई नीतिगत रूपमा प्राथमिकता दिएको छ । यसका लागि सरकारले हरेक स्थानीय तहमा स्थापना गरेको रोजगार सेवा केन्द्रले संघीय सरकारको नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

बोलचालमा ‘रिटर्नी’ भनिने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि सहयोगको प्रारम्भिक विन्दुको रूपमा रोजगार सेवा केन्द्रले काम गर्न थालेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, रोजगार सेवा केन्द्रले उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समाजमा पुनःएकीकरणका लागि आर्थिक, मनोसामाजिक तथा पारिवारिक परामर्श, रोजगारी र उद्यमशीलता मार्गदर्शन, वैदेशिक रोजगारीबाट ल्याएको सीप, अनुभव र बचतको स्वदेशमा प्रभावकारी उपयोग गर्न मद्दत गर्ने काम गर्छ । 

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भुप्रसाद साहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई समाजमा पुनःएकीकरण गर्नुपर्ने कार्यको गम्भीरतालाई मनन गर्दै मन्त्रालयले इमानदारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताए । 

मन्त्रालयकी भगवती ढुङ्गानाका अनुसार मन्त्रालयले प्रदेशका १० वटा स्थानीय तह, मोरङको उर्लाबारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, सुनसरीको रामधुनी नगरपालिका, झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिका, उदयपुरको कटारी नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा खोटाङको दिक्तेल बरुवा मजुवागढी गाउँपालिकाका रोजगार सेवा केन्द्रमार्फत यी कामलाई अझ तीव्रताका साथ अगाडि बढाएको छ । 

उक्त स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण (रेमी) परियोजनाअन्तर्गत यस्ता काम भएका हुन् । रेमी परियोजना हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलबाट सञ्चालित छ । 

मन्त्रालयका अनुसार १० वटा स्थानीय तहका प्रत्येक रोजगार सेवा केन्द्रका चार जना कर्मचारीहरूले विदेशबाट फर्कनेहरूलाई समाजमा पुनःस्थापना गर्न विभिन्न किसिमका सुझाव, सल्लाह, उद्यमशीलता, स्वरोजगार र सीप विकास गर्न मद्दत गर्ने गरेका छन् । 

अर्कोतिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू आफ्नो सञ्जालमा आबद्ध भएर रिटर्नीहरूको पहिचान, परामर्श र पुनः एकीकरणका काममा रोजगार सेवा केन्द्रलाई सहयोग गरिरहेका छन् । यसै क्रममा सञ्जालमार्फत केन्द्रको सम्पर्कमा पुगेर मोरङ केराबारी–१० की जीवनकुमारी राई सामाजिक रूपमा पुनःस्थापित भइन् । हाल उनी सञ्जालमा आबद्ध भएर आफूजस्तै महिलाहरूलाई सामाजिक पुनःस्थापनामा सहयोग गर्दै आफूले पनि किराना पसल सञ्चालन गर्न थालिन् । 

सुनसरी रामधुनी नपा–१ की सकुन्तला अधिकारीचाहिँ सञ्जालमा जोडिएर नै आफ्नो जीवन जोगिएको बताउँछिन् । उनी भन्छिन्, 'सञ्जालमार्फत पुनः एकीकरणमा जोडिन सफल भएँ, अझै पनि समाजसँग जुधिरहेकी छु ।'

वैदेशिक रोजगारमा गएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा रिटर्नी महिलाहरूले अझै पुनःस्थापनामा चुनौती झेल्नुपरिरहेको हो । रिटर्नी महिलाहरूलाई हेर्ने दृष्टिकोणका लागि समाज सकारात्मक नभएकै कारण आजकल धेरै महिलाहरू सञ्जालमा जोडिएर सामाजिक पुनःस्थापनाका लागि सङ्घर्ष गर्न थालेका छन् । 

समाजशास्त्री डा चन्द्र उपाध्याय वैदेशिक रोजगारमा गएर फर्केका महिलाहरूको सामाजिक पुनर्स्थापनामा अझै समस्या रहेकाले सबै तहका सरकारले उनीहरूले सिकेको सीप प्रमाणीकरण गराउने र मनोवैज्ञानिक परामर्श प्रदान गर्ने काममा तीव्रता दिन सके समाजको धारणा चाँडै सकारात्मक हुँदै जाने बताउँछन् ।

उनी भन्छन्, 'विदेशमा कमाएको धन, सीप तथा अनुभवलाई सरकारले ग्रहण गरेर सदुपयोग गर्न सके मात्र समाज चाँडै सकारात्मक बन्दै जान्छ । रिटर्नी महिलाहरूका लागि पुनस्र्थापना समस्या समाधानमा पनि योगदान पुग्छ ।' 

भुक्तभोगी रिटर्नी महिलाहरूका अनुसार वैदेशिक रोजगारमा गएर राम्रो कमाइ गर्‍यो भने घरपरिवार र समाजमा पुनःस्थापना सहज हुन्छ, तर बिचैमा फर्कनुपर्‍यो वा कुनै समस्या आएमा सामाजिक पुनःस्थापनामा निक्कै चुनौती झेल्नुपर्छ । यस्तै, रोजगारमा गएका र फर्केका महिलाहरूलाई समाजले अझै फरक दृष्टिकोणले हेर्ने गरेको उनीहरूको गुनासो छ । वैदेशिक रोजगारमा गएका सबै महिला यौन शोषणमा परेका हुन्छन् र मानसिक र शारीरिक रोग बोकेर आएका हुन्छन् भन्ने गलत धारणा समाजमा अझै व्याप्त छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार विदेशबाट विगत तीन वर्षदेखि कोशी प्रदेशमा फर्कनेको सङ्ख्या एक हजार ९३६ रहेको छ । यो सङ्ख्या खाडीमुलुक साउदी अरेबिया, दुबई, बहराइन, कतार र ओमनबाट फर्केकाहरूको हो, जबकि नेपाली नागरिक खाडी मुलुकबाहेक अन्य मुलुकमा पनि छन् । त्यहाँबाट फर्कनेहरूको सङ्ख्या उल्लेखनीय हुने अनुमान छ ।

खाडी मुलुकबाट फर्कनेमा शैक्षिक रूपमा स्नातक तहका ४० जना, प्रमाणपत्र तहका १२० भन्दा बढी, एसइईका ४०० भन्दा बढी, कक्षा ६ देखि ९ सम्मका ३०० हाराहारीमा रहेको र अन्य सामान्य लेखपढ गर्नसक्ने मात्र रहेको जनाइएको छ । 

मोरङको उर्लाबारी नगरपालिकाका रोजगार परामर्शदाता सङ्गीता कार्कीले उर्लाबारीमा विगत पाँच वर्षदेखि एक हजार १७७ जना रिटर्नी रहेको जानकारी दिइन् । उनले रिटर्नीहरूमध्ये कृषि, पशुपालन र सिटी सफारी चलाउने काम गर्छन् भने कतिपयले मजदुरी गर्ने गरेको बताइन् । 

कार्कीले भनिन्, 'वैदेशिक रोजगारमा रहेको समयमा घर बनाउने, घडेरी किन्नेजस्ता कार्य गरे पनि आर्थिक बचतको क्षेत्रमा कमै काम गर्ने गरेकाले उहाँहरूमा समस्या देखिएको भनिन् । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरण गर्न तालिम, रोजगारीलगायतका कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।' 

स्थानीय तहले स्वरोजगार एवं उद्यमशीलताका लागि दिने तालिमका लागि १८ देखि ४० वर्ष उमेर समूहका लागि मात्र तोक्दिनाले त्यसभन्दा माथिका मानिसलाई तालिम लिन समस्या भइरहेको सामाजिक परिचालकहरूको भनाइ छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।