मध्यपहाडी अभियानले राष्ट्रियता र समृद्धिका पक्षमा मजबूत जनलहर पैदा भएको छ: इञ्चार्ज पोखरेल

धनगढी, जेष्ठ ७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलले ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजनसँग’ अभियानले राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त जनलहर निर्माण गरेको बताएका छन्।
जेष्ठ ७ गते प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् कि अन्तर्राष्ट्रिय राजनीतिमा बढ्दो बहुध्रुवीयता र तीव्र प्रतिस्पर्धाको अवस्थामा नेपालले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र विकासका एजेन्डालाई समेट्दै अघि बढ्नु पर्ने आवश्यकता छ र यही सन्देश लिएर माओवादी केन्द्रले अभियान सञ्चालन गरेको हो। उक्त अभियानले जनस्तरमा व्यापक समर्थन र उत्साह प्राप्त गरेको पोखरेलले बताएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएको अनुसार अभियानको दोस्रो श्रृंखला २०८२ जेठ २ गते बैतडीको पाटन नगरपालिका हुँदै औपचारिक रूपमा सुरु भएको थियो। यस अभियानमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र अछाम जिल्लाका विभिन्न स्थानीय तहहरूमा आयोजित जनसंवाद, जनसभा, भेटघाट तथा जनअभियानहरूले माओवादी केन्द्रको विचार, दृष्टिकोण र एजेन्डालाई आमजनतासम्म पुर्याउन ठूलो सहयोग पुगेको जनाइएको छ।
अभियानका क्रममा प्रदेशका विभिन्न स्थानमा १३ स्थानमा जनसंवाद, ३ ठाउँमा शहीद तथा वेपत्ता परिवारसँग भेटघाट, ६३ वटा ज्ञापनपत्र हस्तान्तरण, ११ वटा सांस्कृतिक कार्यक्रम, १५ स्थानमा विशिष्ट व्यक्तित्वहरूसँग अन्तरक्रिया, १० वटा स्वागत कार्यक्रम, ४० वटा आन्तरिक पार्टी बैठक, र ७०० जनप्रतिनिधिसँग प्रत्यक्ष सम्बोधन गरिएको उल्लेख छ। अभियानबाट प्रत्यक्ष रूपमा १० हजारभन्दा बढी जनतालाई सन्देश पुर्याइएको विज्ञप्तिमा जनाइएको छ।
गिरिराजमणि पोखरेलले पार्टी एकता, संगठन सुदृढीकरण, जनसरोकारका मुद्दामा प्रत्यक्ष संवाद तथा जनताको समस्यामाथि पहलकदमी लिने प्रयासमार्फत अभियानले माओवादी केन्द्रप्रति जनविश्वास अझ मजबुत बनाएको बताए। उनका अनुसार, यो अभियानले मध्यपहाडी लोकमार्गको राष्ट्रिय महत्व, भौगोलिक पहुँच र आर्थिक विकासमा पर्ने दीर्घकालीन असरको विषयमा पनि जनचेतना अभिवृद्धि गरेको छ।
उनले भने, “मध्यपहाडी लोकमार्ग केवल सडक मात्र होइन, यो राष्ट्रिय एकता, स्थानीय उत्पादन प्रवर्द्धन, क्षेत्रीय सन्तुलन र समग्र समृद्धिको मेरुदण्ड हो। यस अभियानमार्फत हामीले सडकलाई राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको आधारका रूपमा स्थापित गर्ने प्रयास गरेका छौं।”
पोखरेलले सुदूरपश्चिमका नेता, कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, युवा, विद्यार्थी, महिलालगायत सबै तहबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको सेवा, शिक्षा, स्वास्थ्यलगायतका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सुदूरपश्चिममा स्थापित ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय’ सम्बन्धी विधेयक पारित भएको घटनालाई ऐतिहासिक उपलब्धि भन्दै सबैलाई बधाईसमेत दिएका छन्।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सशक्त पहलमा सुदूरपश्चिमको मागअनुसार विश्वविद्यालय स्थापना तथा विकासको काम अघि बढाइएको छ, जसले शिक्षा र स्वास्थ्य पहुँचमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।
६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।