अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।

भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।

त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको विरोध प्रदर्शन

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् । चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र आवतजावतमा अप्ठ्यारो भएकाले विरोध गर्न बाध्य भएको सघर्ष समितिका संयोजक बिनोद महर्जनले बताउनुभयो । निर्माणाधीन फ्लाइओभरका कारण उक्त स्थानमा उत्पन्न धुलो धुवाँले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा पर्ने असरलाई मध्य नजर गर्दै स्वास्थ्य बिमा गरिदिन, जग्गा अधिकरण गर्दा दिने मुआब्जा दिन, बाटो समेत मिचेका कारण पैदल यात्रुहरु हिँड्ने सडक पेटीसमेत नहुंदा उक्त स्थानको जनजीवन नै अस्तब्यस्त भएको उनीहरुको भनाई छ । उनीहरुले परम्परागत विभिन्न जात्रा पर्वहरू, जेष्ठ नागरिक, स्कूले बालबालिकाहरू तथा सर्वसाधारणहरू दैनिक रूपमा आवतजावत गर्ने बाटो अवरोध हुने देखिएको साथै सवारी साधनहरूसमेत आवत जावत गर्नको लागि कम्तीमा पनि २० फिट बाटोको ब्यवस्था गरिदिनु पर्ने माग गरेको सयोजक महर्जनको भनाइ छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना र सडक विभागमा पटक–पटक जानकारी गराउँदा पनि स्थानीयको मागलाई सम्बोधन नगरिएको हुँदा मागहरूसहित विरोध प्रदर्शन गरेको सघर्ष समितिले जनाएको छ । पीडितहरुले आज बिहान गरेको विरोध कार्यक्रमका कारण कंलकी नागढुङ्गा सडकखण्ड अवरुद्ध बनेको थियो । स्थानीयको माग पूरा नगरेसम्म निर्माण कार्य गर्न नदिने सघर्ष समितिले जनाएको छ ।

अखिल क्रान्तिकारी सल्यानको अध्यक्षमा ओली

सल्यान । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी सल्यान जिल्लाको १९ औं जिल्ला सम्मेलनबाट गणेश ओलीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा यशोदा आचार्य, रञ्जित भडेल, राजेन्द्र परियार र खुमा पुन, सचिव ललित केसी, सहसचिवमा कविता बिक, लोकराज सुनार, नवराज केसी, प्रवीण घर्ती तथा कोषाध्यक्ष निशान रोकाय रहनुभएको छ । 

खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । गयराती खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३३ बर्सिया निर्मला थापा केसीलाई बगाउँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार वडा नम्बर ७ को साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङ तर्फ आइरहेका उनीहरूलाई खोला तर्ने क्रममा मोटरसाइकल सहित बगाएको थियो । उनीहरु दुवैजनाकाे शव खाेलामै माेटरसाइकल र ढुंगाले च्यापिएकाे अवस्थामा फेला परेकाे थियाे । भारी वर्षाका कारण उक्त खोलामा ठुलो बाढी आएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने यो खोला खहरे खोला हो । मृतक मध्ये निर्मलाकाे शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएकाे छ भने सर्जनकाे शव ल्याउने क्रममा रहेकाे डिएसपी पाेखरेलले बताउनुभयाे । 

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । अहिले नेपालकोमौसमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन(चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

लोकप्रिय