ओलीले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका दिन्छन् : मोहनविक्रम सिंह

ओलीले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका दिन्छन् : मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा (मसाल)ले प्रधानमन्त्री प्रचण्डसित बदला लिने नाममा ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले सही भन्न नसकिने बताउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बारम्बार प्रचण्डलाई धोका दिएकाले प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने बताएका छन्। 

२०८१ असार १९ गते बसेको नेकपा (मसाल)को पीबीएमहरूसहितको केन्द्रीय कार्यालयको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न एक प्रेस वक्तव्य जारी गर्दै महामन्त्री मोहनविक्रम सिंहले सो कुरा बताएका हुन् ।

वक्तव्यमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकाँका सभापति शेरबहादुर देउबाका बिचमा सत्ता समीकरणका लागि भएको सहमतिप्रति नेकपा (मसाल)को गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले प्रतिगमनको खतराका विरुद्ध भएका वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूका बिचमा गठबन्धनका लागि सुरूदेखि नै जोड दिँदै आएको र त्यसलाई सफल पार्न इमान्दारीपूर्वक प्रयत्न गर्दै आएको उल्लेख गर्दै त्यो गठबन्धनका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूसमेत भएको बताएका छन्। 

उनले केपी ओलीले दुई(दुई पल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजान खोजेको प्रयत्नलाई असफल पारेको कार्य विशेष रूपले उल्लेखनीय भएको उल्लेख गर्दै प्रतिगमनको विरुद्ध संयुक्त रूपले सङ्घर्ष गर्दै आएको भएपनि गठबन्धनमा सामेल कतिपय राजनीतिक दल वा संठनहरूका ढुलमूल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूका कारणले त्यो गठबन्धन बारम्बार टुट्दै आएको छ र त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने कुरा निश्चित भएको भन्दै आफ्नो असन्तुष्टि समेत प्रकट गरेका छन् ।

‘ओलीले प्रतिगमनको बाटो समातेको हुनाले उनका विरुद्ध संयुक्त भएर सङ्घर्ष गरिरहेको अवस्थामा उनीसित नै पुनः गठबन्धन गर्न जानु आफैले अपनाएको नीति र आफूले नै सञ्चालन गरेको आन्दोलनसित विश्वासघात’ भएको नेकपा (मसाल)को निष्कर्ष छ ।

उनले ‘पहिले प्रतिगमनको नीति अपनाएको हुनाले ओलीका विरुद्ध लामो संयुक्त सङ्घर्ष समेत सञ्चालन गर्दै आएको अवस्थामा प्रचण्डसित बदला लिनका लागि ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले कुनै पनि अवस्थामा सही भन्न सकिन्न’ भन्दै प्रचण्डले बारम्बार ओलीसित गठबन्धन गरेका थिए तर अन्तमा ओलीले नै उनलाई धोका दिएको’ कुरा स्मरण गराउँदै ‘त्यही प्रकारले खाली प्रचण्डसितको रिस बदलाको भावनाले अहिले देउवाले ओलीसित गठबन्धन गरेपनि अन्तमा प्रचण्डलाई जस्तै देउवालाई पनि धोका हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न,’ भन्दै नेपाली काँग्रेसलाई सचेत गराएका छन् 

नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालयद्वारा जारी प्रेस वक्तव्यको पूर्ण पाठः

आज २०८१ साल असार १९ गते देशको वर्तमान राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिनका लागि उपलब्ध पीवीएम सहित नेकपा (मसाल) केन्द्रीय कार्यालयको बैठक बस्यो । बैठकले गरेका विभिन्न निर्णयको जानकारी गराउन यो प्रेस वक्तव्य जारी गरिएको छ।्

१.एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाँका सभापति शेरबहादुर देउबाका बिचमा सत्ता समीकरणका लागि भएको सहमतिप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षण भएको छ । हाम्रो पार्टीले प्रतिगमनको खतराका विरुद्ध भएका वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूका बिचमा गठबन्धनका लागि सुरूदेखि नै जोड दिँदै आएको थियो र त्यसलाई सफल पार्न इमान्दारीपूर्वक प्रयत्न पनि गर्दै आएको थियो । त्यो गठबन्धनका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू पनि भएका थिए, जसमध्ये ओलीले दुई दुई पल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजान खोजेको प्रयत्नलाई असफल पारेको कार्य विशेष रूपले उल्लेखनीय छ । प्रतिगमनको विरुद्ध हामीले संयुक्त रूपले सङ्घर्ष गर्दै आएको भएपनि गठबन्धनमा सामेल कतिपय राजनीतिक दल वा संठनहरूका ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूका कारणले त्यो गठबन्धन बारम्बार टुट्दै आएको छ र त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने कुरा निश्चित छ ।

२.ओलीले प्रतिगमनको बाटो समातेको हुनाले उनका विरुद्ध संयुक्त भएर सङ्घर्ष गरिरहेको अवस्थामा उनीसित नै पुनः गठबन्धन गर्न जानु आफैले अपनाएको नीति र आफूले नै सञ्चालन गरेको आन्दोलनसित विश्वासघात हो । त्यसका लागि मुख्य रूपले माओवादी अध्यक्ष प्रचण्ड नै जिम्मेवार छन् । उनले पहिलोपल्ट बाल्कोट गई आफ्नो गठबन्धन तोडेर ओलीसित गठबन्धन गरेका थिए भने पछि पनि त्यही प्रकारको नीति दोहोर्‍याएका थिए । यो आमरूपमा थाहा भएको कुरा हो कि ओलीको मुख्य रणनीति गठबन्धनलाई तोड्नु नै थियो । ओलीले सदनमा नै बताएअनुसार उनले कैयौँपल्ट देउबालाई सम्पर्क गरेर गठबन्धनलाई तोड्ने प्रयत्न गरेका थिए, तर देउबा ओलीसँग मिल्न तयार भएका थिएनन् । त्यसले उनको गठबन्धनप्रतिको इमान्दारितालाई नै बताउँछ । देउबा तयार नभएपछि ओलीले प्रचण्डमाथि जाल हानेर उनलाई फसाएका थिए । अहिले देउबाले ओलीसित गठबन्धन गर्न र उनलाई प्रधानमन्त्रीको पद दिन पहल गर्नुका पछाडि मुख्यरूपले प्रचण्डले विश्वासघात गरेको हुनाले उनीप्रतिको बदलाको भावले काम गरेको पनि हुन सक्दछ । तर पहिले प्रतिगमनको नीति अपनाएको हुनाले ओलीका विरुद्ध लामो संयुक्त सङ्घर्ष समेत सञ्चालन गर्दै आएको अवस्थामा प्रचण्डसित बदला लिनका लागि ओलीसँग मिलेर समीकरण बनाउने कार्यलाई राजनीतिक दृष्टिकोणले कुनै पनि अवस्थामा सही भन्न सकिन्न । प्रचण्डले बारम्बार ओलीसित गठबन्धन गरेका थिए तर अन्तमा ओलीले नै उनलाई धोका दिएका छन् । त्यही प्रकारले खाली प्रचण्डसितको रिस बदलाको भावनाले अहिले देउवाले ओलीसित गठबन्धन गरेपनि अन्तमा प्रचण्डलाई जस्तै देउबालाई पनि धोका हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

३.हामीले सुरूदेखि नै यो बताउँदै आएका थियौँ, प्रचण्डले पहिलेको गठबन्धन तोड्ने जुन काम गरेका थिए, त्यो ठुलो अदूरदर्शिता थियो र त्यसरी उनी ओलीको षडयन्त्रको सिकार भएका थिए । हामीले यो पनि स्पष्ट गर्दै आएका थियौँ कि ओलीको उद्देश्य प्रचण्डको नेतृत्वको सरकारलाई स्थायित्व दिने नभएर उनको सरकारलाई समाप्त गर्नु नै थियो । हामीले यो पनि स्पष्ट गर्दै आएका थियौँ कि प्रचण्ड खाली हावामा झुन्डिएका थिए र कुनै पनि बेला ओलीले उनीमाथि प्रहार गर्न सक्दथे । ओलीबाट बारम्बार धोका पाउँदै आएका प्रचण्ड त्यति सजिलैसित उनको जालमा किन फसे रु त्यसले राजनीतिक अपरिपक्वता र अदूरदर्शितालाई नै बताउँछ । उनले बारम्बार ‘क्रमभङ्गता’ र ‘उथलपुथल’को कुरा गर्दै आएका छन् । त्यसलाई उनले गतिशीलता बताउँदै आएका छन् । तर त्यो चरम प्रकारको अवसरवाद नै हो ।

४.हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको थियो कि नेकाँको संस्थापन पक्ष इमान्दार रहेको भएपनि त्यसभित्रको प्रतिपक्ष सुरूदेखि नै गठबन्धनको विरोधमा थियो । त्यसको जोड एमालेसित मिलेर सरकार बनाउने कुरामा रहँदै आएको थियो । अहिले नेकाँमा त्यसभित्रको प्रतिपक्ष हाबी भएको छ र एमालेसित मिलेर सरकार बनाउने उनीहरूको योजना सफल हुन पुगेको छ । उनीहरूको उद्देश्य पुनः देउबालाई पनि पार्टीको नेतृत्वबाट हटाउने र सरकारको नेतृत्वमा आउन नदिने नै हुनेछ । बताइरहनुपर्ने आवश्यकता छैन कि अहिले बनेको समीकरणलाई पनि उनीहरूले त्यही उद्देश्य पूरा गर्ने दिशातिर बढाउने प्रयत्न गर्नेछन् ।

५.अहिले सरकारमा पहिलोपल्ट ओली प्रधानमन्त्री हुने र डेढ वर्षपछि नेकाँलाई सरकारको नेतृत्व दिने समझदारी भएको छ । ओलीको गतकालको इतिहास हेर्दा उनी कहिल्यै पनि आफ्नो वचनमा इमानदार नरहेको कुरा बारम्बार प्रस्ट हुँदै आएको छ । त्यसरी विचार गर्दा डेढ वर्षपछि नेकाँलाई सरकारको नेतृत्व दिने कुरामा पनि के उनी इमान्दार रहनेछन् रु त्यसबारे प्रश्न उठाउने वा शंका गर्ने ठाउँ छ । त्यो हाम्रो सरोकारको विषय होइन । तैपनि आफ्नो नेतृत्वकालमा ओलीले संसदलाई विघटन गरेर देशलाई मध्यावधि चुनावतिर लैजाने घोषणा गरे भने पनि त्यो आश्चर्यको कुरा हुने छैन ।

६.ओलीको अहिलेको सबैभन्दा बढी चिन्ताको विषय गिरिबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसला हो । त्यो फैसलाबाट ओलीले अरबौँ रूपैया भ्रष्टाचार गरेको कुरा आधिकारिक रूपमा नै प्रमाणित भएको छ । त्यसकारण त्यो मुद्दालाई ओझेलमा पार्न पनि ओलीलाई सरकारमा जान आवश्यक भएको थियो । काँग्रेस पक्षका कैयौँ नेताहरूमाथि पनि विभिन्न भ्रष्टाचारका कुराहरू उठिरहेका छन् । त्यस प्रकारका मुद्दाहरूलाई दबाउन उनीहरूका लागि पनि सत्तामा जानु आवश्यक भएको थियो । यी विभिन्न कारणहरूले पनि समीकरणमा परिवर्तन भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

७.एमाले र नेकाँका बिचमा संविधानमा कैयौँ संशोधन गर्न पनि सहमति भएको कुरा प्रकाशमा आएको छ । नेपालमा एकातिर राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई नै समाप्त गर्न तथा मधेसवादीहरूले देशको राष्ट्रियता र अखण्डतालाई खण्डित गर्न संविधानमा संशोधनको कुरा उठाउँदै आएका छन् । नेपाली काँग्रेसले समानुपातिक चुनावलाई हटाउन तथा एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गर्दै आएका छन् । विभिन्न जातिवादी सङ्गठनहरूले जातीय आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने माग गर्दै आएका छन् । त्यो अवस्थामा एमाले र नेकाँका बिचको सहमतिद्वारा बन्ने समीकरणले के–के संशोधन गर्न खोज्नेछ, त्यसप्रति पनि हामीले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । त्यस प्रकारका कुनै पनि संशोधन हुनुलाई दृढतापूर्वक विरोध गर्ने हाम्रो नीति हुनेछ ।

८.संविधानमा संशोधनका सन्दर्भमा हामीले हाम्रो पार्टीको स्थिति स्पष्ट गर्न चाहन्छौँ । सर्वप्रथमतः सङ्घीयताप्रति हाम्रो सुरुदेखि नै मतभेद रहँदै आएको छ र, त्यसैले हामीले त्यसलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित एकात्मक प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छौँ । यसका साथै प्रादेशिक संरचनालाई खारेज गर्ने तथा स्थानीय निकायहरूलाई अरू अधिकार सम्पन्न र सुदृढ पार्नुपर्ने आवश्यकतामा पनि हामीले जोड दिँदै आएका छौँ ।

९.अहिले नयाँ बनेको समीकरणबाट गणतन्त्र र धर्मनिरपेक्षामाथि आँच पुग्ने सम्भावनातिर पनि हाम्रो गम्भीर ध्यान गएको छ । गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध राजावादीहरूले लगातार अभियान चलाउँदै आएका छन् भने ओलीले प्रतिगामी दिशा समात्दै आएको पनि आम रूपमा थाहा भएको कुरा हो । पहिले एमालेले गणतन्त्रको लागि सङ्घर्ष गर्ने निर्णय गर्ने बेलामा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुग्न सकिन्न’ भनेर गणतन्त्रको निर्णयप्रति असहमति प्रकट गरेका थिए भने आफ्ना कतिपय समर्थकहरूद्वारा गणतन्त्रका विरुद्ध ‘नोट अफ डिसेन्ट’ पनि प्रस्तुत गर्न लगाएका थिए । नेपाली काँग्रेसभित्र एउटा ठुलो पङ्क्ति गणतन्त्रका ठाउँमा वैधानिक राजतन्त्रको पुनर्स्थापना गर्ने र धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउने पक्षमा रहेको छ । त्यसप्रकारको पृष्ठभूमिमा अहिले बन्न थालेको समीकरणले गणतन्त्र र धर्मनिरपक्षेता विरुद्ध संशोधन गर्न प्रयत्न गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसप्रकारको कुनै पनि प्रयत्नका विरुद्ध हाम्रो पार्टीले सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नेछ ।

१०.संविधानमा प्रत्यक्षरूपले निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको चुनावको व्यवस्था गर्ने, मिश्रित चुनाव प्रणाली वा समानुपातिक निर्वाचन प्रणालीलाई खारेज गर्ने वा जातिवादी आधारमा राज्यको पुनर्संरचना गर्ने जस्ता कुनै पनि प्रयत्नहरूलाई हामीले अस्वीकार गर्ने छौँ र तिनीहरूको दृढतापूर्वक विरोध गर्ने छौँ ।

११.अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो र भ्रष्ट भएर गएको छ । त्यसकारण त्यसमा सुधार गर्नका लागि संविधान वा निर्वाचन कानुनमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसै गरेर सार्क क्षेत्रसहित संसारका विभिन्न देशमा रहेका नेपालीलाई आफू बसेको देशबाट नै मतदानमा भाग लिन पाउने र समानुपातिक रूपले उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने आवश्यकतमा पनि हामीले जोड दिन्छौँ । संसदमा महिला र दलितहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि उनीहरूका लागि बेग्लाबेग्लै निर्वाचन क्षेत्रहरू निर्धारित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले पहिलेदेखि जोड दिँदै आएको छ र अहिले पनि त्यसका लागि जोड दिन्छ ।

१२.ओलीको कार्यप्रणाली देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने नै रहँदै आएको छ । गतकालका उनका कैयौँ कारवाहीहरूबाट त्यो कुरा प्रस्ट भइसकेको छ । अहिले उनले नेकाँसित समीकरण गरे पनि उनको रणनीति एक्लै चुनाव लडेर आफ्नै बहुमतको सरकार बनाउने र त्यसरी देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने नै हुने छ । अहिले एमाले र नेकाँका बिचमा भएको सहमतिमा दोस्रोपल्ट नेकाँलाई सरकारको नेतृत्व दिने भने पनि त्यो उधारो र गौण महत्त्वको कुरा हो । अहिलेको प्रधान महत्त्वको कुरा एमालेको नेतृत्वको सरकार नै हो । त्यसले गिरिबन्धु टी स्टेट जस्ता भ्रष्टाचारका काण्डहरूलाई संरक्षण गर्ने मात्र होइन, त्यस्ता काण्डहरूलाई अरू बढाएर लैजाने छ र त्यसका सम्पूर्ण कारबाहीहरू प्रतिगमन र अधिनायकवादको दिशामा नै केन्द्रित हुने छन् । त्यसैले अहिले ओलीको नेतृत्वमा बन्न थालेको समीकरण र सरकारलाई हामीले देशका लागि गम्भीर खतराको रूपमा लिन्छौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौँ ।

१३.ओलीको प्रतिगामी र अधिनायकवादी नीतिको हामीले बारम्बार विरोध गर्दै आएका छौँ । प्रचण्डले बारम्बार ओलीसित गरेको गठबन्धनको पनि हामीले विरोध गरेका थियौँ । त्यही प्रकारले अहिले पनि नेपाली काँग्रेसले ओलीसित गरेको गठबन्धनलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध र भर्त्सना गर्दछ ।

१४.अन्तमा, अहिले नेपालमा समीकरणको हेराफेरीको जुन कार्य भएको छ, त्यसमा विदेशी शक्तिहरूको कुन प्रकारको भूमिका रहेको छ ? आउँदा दिनमा त्यो प्रस्ट हुँदै जाने छ र त्यसअनुसार त्यसबारे हाम्रो पार्टीले आफ्नो नीति प्रस्ट गर्दै जाने छ ।

२०८१ असार १९ गते
मोहनविक्रम सिंह
महामन्त्री

काठमाडौंमा भ्रष्टाचारीहरुको र्‍याली देख्न परेको छ  :  विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्‍याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।  उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

लोकप्रिय