आमाको जन्मदिनमा भावुक बाबुराम
सामाजिक सञ्जालमा भने फरक फरक कमेण्ट र सुझाब
काठमाडौं । आफ्नी आमाको जन्मदिनमा भावुक हुँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफ्नी आमा धर्मकुमारी भट्टराईको जन्मदिनको अवसरमा पूर्व माओवादी नेता समेत रहेका भट्टराईले आफ्नी आमाको तस्वीर सहित राखेको स्टाटसमा साढे चार सय बढि कमेण्ट आएका छन् । दिवंगत भैसकेकी आमाको सम्झनामा भट्टराईले भाबुक हुँदै संस्कृत श्लोक सहित स्टाटस राखेका छन् । उनको स्टाटसमा भनिएको छ ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!” ( आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्!)
आमा हामीबाट सदाकालागि विदा हुनुभएको आज ( फागुन १६ गते) १८ बर्ष पूरा भएछ!
तपाईंको स्मृति सदासर्वदा हामीसंग रहिरहनेछ, आमा! सादर नमन !!
( फोटोः पहिलो, २०३० सालतिर म चण्डीगढमा पढ्दैगर्दा;
दोश्रोः २०५२ सालमा जनयुद्धको शुरूवातनिम्ति भूमिगत हुन परिवारबाट विदा लिंदा! भूमिगतकालमै आमा २०६२ फागुन १६ गते वित्नुभएछ; हामी २०६३ असार २ गते वालुवाटारमा खुला भयौं! आमाको अन्तिम वाक्य “ बाबुरामलाई भेट्न पाइनॅ” थियो भन्ने सुन्दा अहिले पनि आॅसु थाम्न गाह्रो हुन्छ!)’
आफुलाई जन्मदिने आमाप्रति समर्पित भट्टराईको स्टाटसमा प्रतिक्रिया दिनेले भने अनौठो अनौठो टिप्पणी गरेका छन् । स्टाटसमा धेरै जसो कमेण्टहरु श्रद्वाञ्जलीका देखिएपनि केहि कमेण्टहरुमा पश्चाताप गर्न र केहि कमेण्टहरुमा माओवादीमा एकाकार हुन सुझाब छन् ।
केशब दुवाडीले लेखेका छन् ‘आमाको नियमित श्राद्ध गर्नु होला, पुत्रस्य परमोधर्म पित्र्युत्धार समोनहि’ यस्तै, प्रकाश न्यौपाने किरणले सुझाब दिएका छन् –‘विचार र आस्था राखेकै कारण धेरै नेपालीले ज्यान गुमानुपर्ने , जेल हिरासत र अंगभङ् हुनुपर्ने संगिन घडी स्मरण गराउनु भो , माओवादी आन्दोलनले राजनितिक परिवर्तन गरायो अन्य सामाजिक , आर्थिक , सांस्कृतिक आदी परिवर्तन खसै हुन सकेन , आवश्यकताको प्रतिबद्धनामा पुन एकपटक जोखीम उठाउनेहरु एक भएर अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ , आसा र अपेक्षाको आँसु बगाउँदै ज्यान गुमाउने आमाप्रति भावपुर्ण श्रद्धान्जली ।’
निरज भट्टले भने यस्तो भनेका छन् –‘नालायक छोरा भएपछि यस्तै हो, आमा प्रती हाम्रो सम्मान छ’ । कमेण्टमा पूर्ण रानाभाटले टिप्पणी गरेका छन् –‘हो क्यारे तर वाहीरी देशको एजेण्ट वनेर देस त वर्वादी वनाइहाल्नु भो’ ।
यस्तै, एष्ट्रो हरिसरणले कमेण्ट गरेका छन् –‘आमाको त्याग र तपाईँको त्यागको परिणाम सकारात्मक होस्, तपाईँ जति क्षमतावान व्यक्ति हो, जति तपाईँमा शक्ति छ त्यसको दुरुपयोग भईरहेको जस्तो लाग्छ, व्यक्तिगत स्वार्थबाट माथी उठेर काम गर्नुहोस् तपाईँका दिन अझै सक्किएका छैनन्। तपाईँ विद्वानको पंक्तिमा हुनुहुन्छ तर तपाईँका अभिव्यक्ति हेर्दा मूर्ख जस्तो लाग्छ। जे कुरा छ तपाईँ भित्र निस्वार्थ त्यस्तै देखिने प्रयास गर्नुहोस्।’
विज्ञान मान सिंह ठकुरीले प्रशंसा गर्दै लेखेका छन् –‘आमालाई उच्च सम्मान, छोरो जन्मिनु तपाई जस्तो पो त ! बाबुरामलाई घरपरिवार पाल्नकै निम्ति जागिरको लागि प्रमाणपत्रको लोभै नमानी एउटा लयमा ल्याउन नसकेको देशको अवस्थाका लागि लडाइँ लड्ने आट गर्नु महान विचारक हो । नयाँ थेउरी तपाईबाट आसा गर्न सकिन्छ ।’
राजेन्द्र पन्तले सुझाब दिएका छन् –‘सबैको आमाले त्यसै भन्नुभएको थियो होला,,स्कुलबाट फर्कदा म आमालाइ आज तलब बुझेर मिठा खानेकुरा र नयाँ कपडा ल्याइदिन्छु भनेर ,,,,,तर अपहरणमा परेर छोराको बीभत्स हत्या भयो रे भनेको सुन्दा बिचरा ती बुढी आमाले कसरी सहेर बस्नुभयो होला,,,,त्यो सम्झनुहोला’
जनकजङ शाहीले कमेण्ट गरेका छन् –‘हार्दिक श्रद्धाञ्जली आमा तपाई जस्तै महान सोच भएको आमाहरुको कारण आज हामी स्वतन्त्र छौ ’
क्रान्तिलाई धोका दिएको भन्दै रानी शाह भन्छिन् –‘आमा प्रति हार्दिक श्रर्दासुमन, आमाले सम्म भेट्न पाउनु भएन, देशको लागि जनयुद्द लड्नु भो तर त्यसलाइ निस्कर्स मा पुर्याउन सक्नु भएन , बिचैमा साथ छोड्नु भो, क्रान्तिलाइ धोका दिनु भो, धोकेवाज हो तपाइ, हामि तपाइ सङ्ग सन्तुस्ट छैनौ ।’
बढि सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरुमा डाक्टर बाबुराम भट्टराई पनि पर्दछन् । स्रोतका अनुसार उनले आफुले राखेको स्टाटसमा आएका कमेण्टहरु पनि पुरै पढ्छन् । तर त्यसका सुझाब मान्ने वा नमान्ने भन्नेमा दोहोरो जवाफ दिएको पाइदैन ।
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
काठमाडौं । मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ । उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी मोर्चाका दलहरूले समर्थन गर्ने घोषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनोनयन भइसकेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।
माओवादी केन्द्र लुम्बिनीको बैठकः मंसिर २९ सम्म सबै पालिकामा सम्मेलन
देउखुरी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले मंसिर २९ गतेभित्र पालिका स्तरका अधिवेशन गरिसक्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता एवं केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा बिहीबार देउखुरीमा बसेको प्रदेश कार्यालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचन तालिका निर्माण गरेको हो । पार्टीको निर्वाचन तालिका अनुसार मंसिर ७ गतेसम्म संगठित सदस्य नवीकरण, लेवी र अभिलेखीकरण गरिसक्ने निर्णय गरेको छ। त्यसैगरी मंसिर ८ देखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने भएको छ । मंसिर १६ देखि २९ गतेसम्म गाउँ, नगर तथा उपमहानगर अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर) ले जानकारी दिनुभयो । त्यसैगरी पार्टी सदस्यता व्यापकरुपमा वितरण गर्ने निर्णय भएको दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो । घरदैलो तथा जनभेटघाट कार्यक्रम गर्ने, छुटेका तथा पार्टी सम्पर्कमा नरहेकाहरुको खोजी गर्ने निर्णय भएको छ । बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभएको थियो । स्थायी समिति सदस्यहरु कुलप्रसाद केसी, जोखबहादुर महरा, पुर्णा सुवेदी, महेश्वर गहतराजलगायतको विशेष उपस्थिति थियो । बैठकको सहजीकरण प्रदेश सचिव कृष्णा अधिकारीले गर्नुभएको थियो ।
माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनुभएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’ उहाँले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताउनुभयो । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताउनुभयो । जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’ अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताउनुभयो । सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।