प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पूर्व माओवादी आन्दोलनका सबै समूहलाई नेकपामा आउन अपील गरेका छन् ।
प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष प्रचण्डले एकबछ नभए ठूलो क्षति हुने समेत बताएका हुन ।
एभरेष्टदैनिकसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्कालिन माओवादीमा भएको फूटले कसैलाई पनि लाभ नभएको बताए । विगतका समीक्षा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
के यो सम्भव छ ? भन्ने प्रश्नमा प्रचण्ड भन्छन्
असम्भव भन्ने कुरा राजनीतिमा केही पनि हुँदैन । किनभने राजनीति भनेकै सम्भावनाको क्षेत्र हो । यसका साथै सम्भावनाको खोजी गर्ने कुरा पनि हो । पहिला दुई फरक वैचारिक स्कूलिङबाट विकास भएका यी दुई पार्टी एकता हुन्छ भन्ने पनि कसैले सोच्दैनथ्यो तर सम्भव भयो । अरु पनि धेरै त्यस्ता कुरा भए । संविधानसभा कसैलाई सम्भव लाग्दैनथ्यो तर भयो, गणतन्त्र यति छिटो आउला भनेर सोचेका थिएनन्, तर आयो । माओवादी पार्टी यति छिटै फुटला भन्ने कसैले सोचेका थिएनन तर फुट्यो । फेरी जुट्यो पनि । अब बाँकी रहेका सबै माओवादी फेरी जुट नसक्ने भन्ने छैन ।
प्रचण्ड भन्छनः हामीले धरातल बिर्सियौं
मैले कहिलेकाहिँ के भन्ने गर्छु भने हामीले शायद अझै दुख पाउन पुग्या छैन कि ? किनभने एकचोटी माओवादीले युद्धले जुन ठूलो प्रभाव पार्यो, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिंगो राष्यट्रलाई ल्याउने ठाउँमा माओवादीको अहम र प्रमुख भूमिका रह्यो । यसमा द्विविधमा बस्नुपर्ने कुरै छैन । त्यही कारणले हामीले यो सफलता पाएका हौं । शान्ति सम्झौता हुँदै हामी जहाँ गयौं त्यसले यो सफलता प्राप्त गर्यो । पहिलोपटकको चुनावमा पनि हामी एक्लै माओवादी प्रत्यक्ष निर्वाचनमा बहुमतमा आयौं । माओवादीले नै समानुपातिक भनेको हुनाले मात्रै अरु पार्टीको अस्तित्व त्यतिबेला बच्यो । तर त्यसबाट हिजोका हामी माओवादी भन्नेहरु सबैले धर्ती छोडियो भन्ने मलाई लाग्छ । ‘अझै धेरै हुन्थ्यो, मुख्य नेता प्रचण्डले बिगार्यो’ भन्ने कसैलाई लाग्यो । अब कसैलाई चाहि‘ अरुले अप्ठ्यारो पारेर गर्न सकेन’ भन्ने लाग्यो । तर जे होस चुनाव जितेर सरकार बनेपछि हामी पार्टीका नेता भन्नेहरुले धर्ती छोडियो । जनताको भावनालाई, जनताको आवश्यकतालाई कहिँ न कहिँ हामीले बुझनौं । राष्टिय र अन्तराष्टिय परिस्थितिको मागलाई बुझेनौं र विभाजनतर्फ गयौं ।
प्रचण्डको ठम्याईः अझै दुख पाउन पुगेको छैन कि ?
यहाँसम्म आउँद के देखियो भने हामी विभाजित भएर न देशलाई फाइदा भएको छ, न विभाजित हुनेलाई नै फाइदा भएको छ । म समेत कसैलाई पनि फाइदा भएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि त्यसले मद्दत पुर्याएको छैन । बरु धेरै दुख कष्ट पाएको जस्तो मैले अनुभूति गर्छु । त्यसैले साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि चेत आउने होला । त्यतिबेलासम्म त हामी पुरानो पीढिका नेताहरु रहन्छौं कि रहँदैनौं भन्ने चिन्ता पनि हुन्छ ।
प्रचण्ड प्रश्न गर्छनः एक हुन के ले रोकेको छ ?
यस हिसाबले मैले किरणजी, बाबुरामजी र अहिले भूमिगतरुपमा गतिविधि गरिराख्नु भएको विप्लवजीहरुलाई आजभोली अलि बढी नै सम्झिन थाल्छु । हामी एक हुन केले रोकेको छ त ? यो परिस्थिति त एक्लैले गरेर हुने परिस्थिति त छैन । यही परिवर्तनलाई संस्थागत गर्न पनि बरु एक ठाउँमा भए पो हुन्थ्यो । हामी सँगै बसेर एक अर्कालाई कहाँ कसले कति गल्ती गरियो भनेर आलोचना आत्मालोचना गर्ने र फेरी यो जनयुद्द र जनआन्दोलनले ल्याएका उपलब्धि बचाउने अनि समाजवादको तयारी गर्नेतिर छलफल गर्न के ले रोक्या होला भन्ने लाग्न थालेको छ साँच्चै । त्यसैले म वहाँहरुसँग कुनै कृत्रिम कुरा भन्न खोजिरहेको होइन । यो देशको निम्ति, परिवर्तनका निम्ति, संघीय लोकतन्त्र संस्थागत गरेर सफल पार्नका निम्ति, अगाडि कम्युनिष्ट यात्र या समाजवाद या साम्यवादतर्फको यात्रा अगाढि बढाउन पनि सबै एक ठाउँमा उभिनु जरुरी छ । त्यसकारण मैले अलि बढी अपील गरेको कारण पनि यो हो ।
प्रचण्डको बुझाईः पूर्व एमालेभित्र पनि विशाल क्रान्तिकारी पंक्ति छ
मैले पूर्व एमालेभित्र विशाल पंक्ति हिजो पनि देशप्रति, राष्ट्रिय स्वाधिनता, जनतन्त्रप्रति लडेका, दुखकष्ट भोगेका हजारौं हजार नेता कार्यकर्ता छन भनेरै एकता गर्दाखेरि पनि सोचेको हो । अहिले पनि मेरो अनुभव त्यही छ । त्यहाँ क्रान्तिकारी भावना भएका, कम्युनिष्ट पार्टी निर्माणका लागि गम्भीर भएका नेता कार्यकर्ताको कमी छ भन्ने होइन रहेछ भन्ने अहिले पुष्टि नै भएको मैले देख्छु । त्यसकारण यहाँ कोही पनि रहेनछन त्यसैले उही पुराना साथीहरुको साथ खोजेको होइन । मैले त वहाँहरुलाई पनि यही जोडन खोजेको हो । सबै जुटेर नयाँ समाजवादको मोडेलको खोजी गरौं र कम्युनिष्ट अन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाऔं भन्न खोजेको हो । अहिले जुन नेकपाको अध्यक्ष म आफै पनि छु, यसप्रति, यो पार्टीप्रति भरोसा गरेर मैले सबै एक ठाउँमा आउनुपर्छ भन्न खोजेको हो ।
यी हुन् एनपीएलमा दुई छोरालाई विजेता र उपविजेता बनाउने आमाबुवा
वीरगञ्ज । वीरगञ्ज (पर्सा), पुस ७ गते । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो । बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।” शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।” सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।” सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो । शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो । बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।” आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ । नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो । आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो । विश्वकप जितेको हेर्ने बुबाको धोको मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ । आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”
डिग्रे मेलामा एक लाखले गरे दर्शन
रुकुमपश्चिम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा यो वर्ष एकादशी देखि शुक्रबारसम्म १ लाख हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ । डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
काठमाडौं । काठमाडौँ, कात्तिक १३ गते । यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गरिनेछ । उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादनमा केही कमी छ । तर मखमली नपुग भएमा सयपत्री, र सयपत्री नपुग भएमा मखली र गोदावरी फूलबाट त्यसलाई पूर्ति गरिने अवस्था छ । त्यही कारण यसपाली फूलको मूल्य केही महँगो पर्ने देखिन्छ ।” असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन । हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । सयपत्री मालाको ८० रुपियाँ एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो । यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो । अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ । मखमली मालाको ४५ रुपियाँ यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार निर्यात हुने अवस्थामा छ । गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ । गोदावरी मालाको एक हजार गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ । मिक्स माला तीन सय ५० रुपियाँ यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।
एउटै नदीमा पाँच जलविद्युत् आयोजना
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन्। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ। “८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भने, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ।” राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताए। गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उनले जानकारी दिए। तुदी पावरका दुई आयोजना अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ। १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो। चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताए। प्रसारण लाइनको पर्खाइमा ठूलोखोला संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताए। २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ। राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्। प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन्। मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ। आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए। एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो। दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए। अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन्। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्।