कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ ।
नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।
यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ ।
यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
सुनको मूल्य २७ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु
नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।