लोकतन्त्रको सर्भिसिङ आवश्यकः पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालको राज्य व्यवस्थाप्रति जनताले प्रश्न उठाएको बताएका छन्। रोल्पामा प्रेस सेन्टर रोल्पा शाखाको छैटौं अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले अस्थिर राजनीति र विश्वको पुँजी बजारका कारण व्यवस्था माथि नै प्रश्न उठाइएको बताए।
'जनताले विभिन्न ढंगले अहिलेको व्यवस्थामाथि प्रश्न उठाएका छन्। काठमाडौंमा मेयर पदको निर्वाचनमा 'स्वतन्त्र' उम्मेदवारका रूपमा जनताको प्रश्न थियो। अन्यत्र पनि त्यसैगरी व्यवस्था प्रति फरक ढंगले प्रश्न उठाउने गरिएको छ।' पार्टीको उपमहासचिव समेत रहेका नेता पुनले भने, 'जनताको प्रश्न विभिन्न रूप र अवस्थामा प्रकट हुने गरेको छ।' उनले राजनीतिक दल र नेतामाथिको विश्वास र भरोसामा कमी आउँदा व्यवस्था प्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको स्वीकार गरे।
लामो समयसम्म बिरामी भएर उपचारपछि गृह जिल्ला आएका उनी यतिबेला पार्टी गतिविधि बढाउन व्यस्त छन्। कार्यकर्ता भेला, प्रशिक्षण एवं घरदैलो अभियानमा लागेका उनले विकास निर्माणका योजनाको अनुगमनमा समेत चासो राखेको दाबी गरे । 'हामीले नै गाउँको विकास गर्ने हो। स्थानीय सरकारको काम कारवाहीबारे समन्वय गरेर समानुपातिक विकास प्रति ध्यान दिनु आवश्यक छ।' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीको उत्थान र निर्वाचन नतिजाबारे टिप्पणी गर्दै उनले भने, 'एकथरी शक्तिले हामी लगायत पुराना पार्टीको औचित्य सकियो समेत भने। अर्काथरीले त्यसैको विकल्प खोजिएको अर्थ लगाए भने अन्यले बरु राजतन्त्र नै ठफक छ भनेर पछाडि फर्कन खोजे। यसरी प्रश्न गर्दै व्यवस्थामाथि नै व्यंग्य गरेको स्पष्ट देख्न सकिन्छ।' उनले भने अहिलेको लोकतान्त्रिक व्यवस्था भन्दा राम्रो व्यवस्था विश्वमा न भएको तर्क गरे। 'कसैले बढी अधिकार दिइएको र कसैले पछि फर्केर राजतन्त्र नै मान्ने भने पनि हाम्रो पार्टी माओवादी केन्द्रको विचार यसै व्यवस्थालाई मलजल गरेर बलियो बनाउनुपर्छ भन्नेमा अडिग छ,' उनको भनाइ छ ।
उपमहासचिव पुनले देशअनुसारको लोकतन्त्रमा मौलिकता र विशेषता हुने बताए । नेपालमा पनि जनताले चाहेको जस्तो मौलिक लोकतन्त्र पाइएको उनको धारणा छ। ' लोकतन्त्रभित्रका समस्या हुन्छन्, अहिले प्राप्त लोकतन्त्रलाई 'सर्भिसिङ' गरेर टिकाउनुपर्ने अवस्था छ। एकपछि झन राम्रो बन्दै जान्छ। बरु विरोध गर्नु न्यायिक होइन,' उनले भने। लोकतान्त्रिक व्यवस्थालाई नयाँ र पुरानोबीचको लडाइ बनाउनु नपर्ने उनको आग्रह छ। जनताको चेतनास्तर अगाडि भएकाले प्रतिगमन र अग्रगमनबारेको अनुमान गर्नु उचित नहुने उनी बताउँछन्।
पार्टीजस्तै परिमार्जित भएर अघि जाने नेता मात्र अहिलेको व्यवस्थामा टिक्ने र नेतृत्वमा पुग्ने अवस्था भएको उनको भनाइ छ। हरेक पार्टीभित्र नेतृत्वको लडाइँ भएको इंगित गर्दै उनले भने, 'जबर्जस्ती ठीक छु भन्ने नेतृत्व पतन हुने र बिलाएर सकिने बलियो सम्भावना छ अथवा कुनातिर कतै फ्याँकिन्छ,' उनले भने ।
ओलीले लेखकलाई पनि रविजस्तै फसाउँदैछन् : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रले गृहमन्त्री रमेश लेखक फसेको आरोप लगाएका छन्। नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै साहले ओलीले रवि लामिछानेलाई जस्तै लेखकलाई पनि फसाउने खेल रचेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले काँखमा राखेर छुरा हान्ने शैलीमा काम गरिरहेको आरोप लगाउँदै, नेपाली कांग्रेस–एमाले गठबन्धनलाई अपवित्र र मुलुकलाई अस्थिर बनाउने गठजोड भने। साहले वर्तमान सरकारले तराई–मधेसमाथि बजेटमार्फत विभेद गर्दै नेपालगञ्जसहित पश्चिम तराईको विकासप्रति बेवास्ता गरेको आरोपसमेत लगाए। उनले ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरे।
दलित समुदायप्रति गठबन्धन सरकार असंवेदनशील : अध्यक्ष प्रचण्ड
काठमाडौं ।नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९औं वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सन्देश जारी गर्दै दलित समुदायप्रति हालको सरकार असंवेदनशील रहेको पुष्टि भएको बताएका छन् । उनले संविधानमा समावेश दलित अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटमा दलित मुद्दा उपेक्षित भएको स्पष्ट संकेत दिएको बताए। "संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो," सन्देशमा उल्लेख छ, "तर, यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो।" प्रचण्डले वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थलाई स्मरण गराउँदै, यो विभेद अन्त्य गर्न सशस्त्र जनयुद्ध र जनआन्दोलन आवश्यक परेको उल्लेख गरे। उनले संविधानमा दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको बताए। "जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहन्छ," प्रचण्डले भने। सन्देशको अन्त्यमा उनले राज्यसत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका दलित समुदायलाई विशेषाधिकारसहित क्षतिपूर्ति दिनुपर्ने माग पुनः दोहोर्याउँदै, आफ्नो पार्टीको प्रतिबद्धता र संघर्ष निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी समुदायप्रति उनले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।
माओवादीको काठमाडौं उपत्यका केन्द्रीत अभियान आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रीत अभियानको आज उद्घाटन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यान्न १ बजे चन्द्रगिरी थानकोटमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताएको थियो । काठमाडौं केन्द्रीत अभियानमा नेवा र तामाङ समूदायमा केन्द्रीत हुने वागमती प्रदेश समितिले जनाएको छ ।
स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् ।