थारू गाउँबस्तीमा सखिया नाचको रौनक

थारू गाउँबस्तीमा सखिया नाचको रौनक

नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ ।   

दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।

सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो । 

अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो । 

उहाँका अनुसार युवाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ ।

महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।

प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन

काठमाडौं ।  रोल्पाली कवि प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे । कुलपति राईले भने, 'विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।' जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे ।  कुमाखीले भने, 'प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डोर्‍याएर महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।'  कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् ।  तुम्खेवाले भनिन्, 'समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।'  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तर्द्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे ।    सिलवालले भने, 'परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।'  रोल्पा-काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए ।  माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु सङ्ग्रहित छन् ।  विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङलगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो ।  कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।

‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ‘रामायण रिसोनेन्स : सेलेव्रेटिङ अ शेयरड हेरिटेज’ ‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु भएको छ ।  सोमबारदेखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले संयुक्तरूपमा उद्घाटन गरे । प्रदर्शनी उद्घाटनमा उनीहरुले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताएका थिए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको जनाउँदै यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदर्शनीले एक अर्काको कला सिर्जनाका सोच र शैलीको समेत आदानप्रदान हुने बताए । साथै उनले भने, ‘यो प्रदर्शनीले संस्कृति बुझ्ने मौकासमेत मिलेको छ ।’ तिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए । नेपाली कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठ रहेका छन् । यस्तै, अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रिती गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनी रहेका छन् ।  प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको जनाइन् । प्रदर्शनी यही असोज १४ गतेसम्म हुनेछ ।   

शनिवारीय साहित्यः प्रगतिशील विवाहमा किनिएका एकजोर जुत्ताको सम्झना

वि.सं. २०४६ साल चैत्रमा मैले पहिलो पटक प्रा.वि. तहमा सट्टामा एक महिनाको शिक्षक पदको जागिर खादा एक महिनाको रु. ९०२ रुपैया तलव बुझें। दुली कोटगाउँ (हाल रुकुम पश्चिम सानीभेरी गा.पा. वडा नं. ६) को प्राथमिक विद्यालयकी प्र.अ. झरना कुमारी घर्ती द्वारा मलाई उक्त तलव दिएर एक वर्ष भनिएपनि एक महिने सट्टा शिक्षक जागिरबाट विदा गरियो र म घरतिर हिडेँ। बाटोमा देउताखोला भन्ने ठाउँमा माइली दिदीको घर पर्थ्यो । ग्वाला गएकोले मैले दिदीलाई वनमा नै भेट्न गएँ र दिदीलाई रु. १०० दिएँ । घरमा पुगेर दाइलाई रु. ८०० दिएँ र आफूलाई पकेट खर्च रु. २ मात्र राखेँ । हाल रुकुमपूर्व त्यो बेलाको प्वाङ गा.वि.स. दत्कुनामा मैले वि.स. २०४७ सालमा पुन: प्रा.वि. तहमा पढाउन थालेँ । जागिर खादै गर्दा विवाहको लागि भनेर एक जोर जुत्ता किनेँ। जुत्ता किनेको २ वर्षपछि मात्र विवाह भयो । मैले ती एक जोर जुत्ता जोगाएर राखेँ। कतै विशेष काममा जादा तिनै जुत्ता लगाएर जान्थेँ र घरमा आएपछि धोएर प्लास्टिकले पोको पारी जतनसाथ राख्थेँ । अर्को जोर जुत्ता किन्न नसक्ने अवस्थाका कारण तिनै जुत्ता मलाई जोगाउनु थियो त्यसैले कहिलेकाहीँ तिनै जुत्ता लगाएर विशेष ठाउँमा जादा बाटोमा हिड्दा मनपरिसँग जोडले हिड्दैनथेँ किनकि मेरो जुत्तालाई धेरै मार नपरोस्। बाटोमा हिड्दा पनि म जुत्ताको ख्याल गर्थें। बाटोमा हिड्दा जुत्ता च्यातिएला भनेर सुस्तरी टेक्थेँ। मेरो विवाह वि.सं. २०४९ सालमा भयो। जीवनसाथी हरिमायाँसँग विवाहको कुरा २ वर्ष अगाडि नै छिनीसकेको थियो। मैले एक जोर जुत्ता पनि २ वर्ष अगाडि नै किनेको थिएँ। ती जुत्ता जहाँ पायो त्यही लगाउदैनथेँ। विवाहमा मैले २ वर्ष अगाडिदेखि जोगाएर राखेको जुत्ता लगाएँ। स्नातक तह पहिलो वर्ष त प्रा.वि. तहमा शिक्षण गरेर परीक्षा मात्र दिएँ। दोस्रो वर्ष नियमित पढ्नु थियो, त्यसैले जागिर छोडिदिएँ। जागिर छोडेका कारण आर्थिक समस्या थियो। शिक्षण पेशा गरेर कमाएको रुपैया घरमा दाइलाई बुझाउथेँ। आफूलाई थोरै खर्च राख्थेँ।आफूलाई खर्च राखेर बचेको रुपैयाले विवाहका लागि दुलहीलाई एक जोर जुत्ता एउटा साडी र ब्लाउज किनेँ। जुत्ताको सम्झना कति लामो हुदो रहेछ। ३१ वर्षअघि किनेको २९ वर्ष अघिसम्म लगाएको जुत्ताको सम्झना ताजै छ। हुन त जाबो एक जोर जुत्ता न हो तर ती जुत्ता विवाहसँग जोडिएको कारण मेरो स्मृतिपटमा ताजा रहन सक्यो। जुत्ता मैले कति मूल्यमा किनेँ अहिले सम्झना छैन तर ती जुत्ताको रङ्ग, बनोट र आकृतिको सम्झना अहिले पनि ताजा छ। गजेवा र खकन्ना जोडिएको डोको बोक्ने युगदेखि म टाढा हुदै थिएँ। दाङ्ग कलेजमा पढ्न गएदेखि मैले झोला बोक्न शुरु गरेँ। दाङ्गबाट रुकुम घर जादा जीउभरि २/३ वटा झोला झुण्डिएका हुन्थे। एउटा झोलामा नेता बन्नलाई कम्युनिष्टका किताब र केही साहित्यिक पुस्तकहरु हुन्थे। बाँकी झोलामा घरयासी सरसामान। हातमा मट्टीतेलको जर्किन हुन्थ्यो। रुकुमको दुर गाउँमा टुकी बाल्न मट्टीतेल पाइदैनथ्यो। मैले बिहेमा लगाउने जुत्ता दाङ्गमा किनेर तिनै झोलामा बोकी रुकुमको दुली गाउँ पुर्‍याएको थिएँ। ती जुत्ता २ वर्ष जोगाएर नयाँ अवस्थामा नै राख्न सक्नु मेरो ठूलो उपलब्धि थियो। विवाहपछि पनि मैले ती जुत्ता लगाएँ तर जतनसंङ्ग लगाउनु र राख्नु चाहिँ परेन। म कक्षा ६ सम्म पढुन्जेल हाम्रो पुरानो डिजाइनको खरको छाना भएको घर थियो। पछि ढुङ्गाको छाना भएको नयाँ घर बन्यो। त्यो घरको तल्लो तलाको एउटा सानो कोठा आफै लिपपोत गरेँ। कमेरो माटोले भित्ता सेतो बनाएँ। भुइँमा मान्द्रो ओछ्याएर पढ्न सुरु गरेँ। कलेज पढ्ने भएपछि पुराना काठहरु जोडेर आफै एउटा पलङ बनाएँ। काठ ठोकठाक पारेर किताव राख्ने सानो दराज बनाएँ। त्यही कोठाको एक ठाउँमा मैले बिहेको लागि किनेका जुत्ता राख्थेँ। ती जुत्ता कहानेर राख्थेँ त्यो ठाउँ पनि मलाई याद छ। विगतका विषयवस्तु तथा घटनाहरु सबै ताजा रहन सक्तैनन्। केहि सामान्य तथा साधारण कुरा पनि लामो समय सम्म स्मरणमा रहिरहन्छन्। विहेको लागि मैले किनेको जुत्ता मेरो मनमा नभुल्ने याद भएर रहिरह्यो र त्यो यादले यो सम्झनाको टिपोट लेख्न लगायो। लेखिरहेको छु, उत्पीडक वर्गको बिरुद्ध । उत्पीडित वर्गको पक्षमा न्याय प्राप्ती र समतामूलक समाज निर्माण लेखनको विषयबस्तु बनिरहेको छ। मार्क्सवादी सौन्दर्यशास्त्रको दर्शनलाई आधार बनाएर प्रगतिवादको घेरामा फनफनी घुमिरहेको छ यात्रा। त्यो यात्रा जारी छ तर विगतमा यिनै आदर्श बोकेका नेताहरूमा त्यो नदेख्दा सिद्धान्त र व्यबहारमा भिन्नता कति हुदो रहेछ । त्यो अहिलेको राजनीतिमा देखिन छोडोस्। सिद्धान्त र व्यबहारको तालमेल भैरहोस्…. शुभेच्छा ।

कवि अर्जुन पराजुलीः नागरिकता र पत्रिका एउटै हो महोदय ?

काठमाडौं । दोहोरो नागरिकताको अभियोगमा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि मत विभाजित भएको छ । कसैले यो प्रेस स्वतन्त्रता विरोधी कदम भनेका छन् भने कसैले गैरकानुनी कदमको छानविन हुनुपर्नेमा जोड दिएका छन् । यसै सन्दर्भमा कवि अर्जुन पराजुलीले सामाजिक सञ्जालमा कविता पोष्ट गरेका छन् ।  उनको कविताः पुलिसले समातेर लान्छ नागरिकता गडबडी केसमा ! उता– प्रेस स्वतन्त्रता हरण हुन्छ स्वतन्त्र प्रेसमा ! बाँच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ समाचार पढेर समाचार थाहा नहुने देशमा !! नागरिकता र पत्रिका एउटै हो महोदय ? हो भने अब– शब्दकोषको विरुद्धमा पनि एउटा खेद व्यक्त गर्नुपरो, शब्दकोषले त बेग्लाबेग्लै हो भन्छ !!

लोकप्रिय