कांग्रेसमा बेचैनी र छटपटी देखियो : एमाले
‘छटपटी र बेचैनीले कहिँ पुर्याउँदैन, यो अभ्यासलाई सहज र सामान्य रुपमा लिऔँ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता समीकरणलाई सहज र स्वभाविक परिघटनाका रुपमा लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधका क्रममा छटपटी र बेचैनीले कहीँ नपुर्याउने बताउँदै संविधान सम्बत भएका गतिविधिलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका हुन्।नयाँ सत्ता गठबन्धन निर्माणपछि पहिलोपटक बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आसन फेरिएपछि सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच घोचपेच भएको हो।
‘यो तहको पीडा, छटपटी, आक्रोश व्यक्त गर्न आवश्यक थिएन। यसलाई सहज र स्वाभाविक रुपमा लिनका लागि, संवैधानिक पहलका रुपमा लिन आग्रह गर्न चाहन्छु,’ पौडेलको भनाई थियो।
आगामी निर्वाचनम यस्तै परिदृश्य नदोहोरिने भन्दै उनले जनताको विश्वास जित्न सक्नेगरी अघि बढ्नुपर्ने बताए। ‘छटपटी र बेचैनीले कहिँ पुर्याउँदैन। यो अभ्यासलाई सहज र सामान्य रुपमा लिऔँ,’ उनले भने।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।