बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
‘देशभित्रै सम्भव छ, गरे सकिन्छ’

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् ।
नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताएका हुन् ।
“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।”
सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशव्यापी रूपमा सडक सञ्जालको बिस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए।
यातातायात सेवालाई सहज तुल्याउनेगरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधार लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए। उनले यातायात पूर्वाधारले बहुराष्ट्रिय कम्पनिबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे।
‘देशभित्रै सम्भव छ, गरे सकिन्छ’
प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए ।
“विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”
पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए।
“राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”
सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए।
“काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।”
अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे।
“सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,” प्रधानमन्त्रीले भने, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”
गणतन्त्र जनताको बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको छ : अध्यक्ष प्रचण्ड
विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताउनुभएको छ । पार्टीको १ नम्बर प्रदेश समितिको प्रथम प्रदेश परिषद् बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्धको उत्कर्षको रुपमा २०६२ सालमा भएको चुनबाङ बैठकमा पार्टीले गरेको विश्लेषण अनुसार नै अहिले यो संघर्ष सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । उतिबेला अब नेपाल गणतन्त्रमा जान्छ तर वुर्जुवाहरुले आफूले चाहेजस्तो बनाउन प्रयास गर्ने छन् र हामी जनताको गणतन्त्र बनाउन प्रयास गर्ने छौं भन्ने विश्लेषण दस्तावेजमै आँकलन गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अहिले मुलुक त्यही ठाउँमा आइपुगेको बताउनुभयो । काग्रेस र एमाले यतिबेला भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल अघि बढाउन खोजेको, विभिन्न उत्पीडित समुदायले पाएको संविधानबाट अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले माओवादीले त्यसविरुद्ध संघर्ष गरिरहेको बताउनुभयो । विगतमा संविधान बनाउनैपर्ने बाध्यताले प्रत्यक्ष कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता जनपक्षीय एजेण्डामा सम्झौता गर्न पुगेको उल्लेख गर्दै उहाँले अब पार्टीले यी एजेण्डालाई पुनः अघि बढाउने संकल्प लिएको बताउनुभयो । दलाल, भ्रष्ट र विचौलियाको घेराबन्दी तोडेर अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा देशलाई गोलबन्द गर्दै उत्पीडित समुदाय र क्षेत्रले पाएका अधिकारलाई पूर्णता दिने र स्थानीय तहबाटै आत्मनिर्भर अर्थतन्त्रको जग बनाएर समाजवादको अभ्यास गर्ने पार्टी नीति रहेकाले यसमा सबै एकताबद्ध भएर अघि बढ्न पनि अध्यक्ष प्रचण्डले निर्देशन दिनुभयो । वुर्जुवाहरुको संगतका कारण आफ्नो पार्टीमा पनि केही कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर फेरि आफ्नै वर्ग र समुदायप्रति फर्कने पछिल्लो केन्द्रीय समिति बैठकले संकल्प लिएको उल्लेख गर्दै उहाँले यही संकल्पका आधारमा देशव्यापी जनतामा अपिल गर्दै पार्टी पुनर्निर्माण र रुपान्तरणको अभियान अघि बढाइने बताउनुभयो । फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियान र वैशाखमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम जागरण अभियानले पूरै देशलाई आफ्नो एजेण्डामा गोलबन्द गर्ने उल्लेख गर्दै उहाँले सबै नेताहरुलाई अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो । आफूले सरकारको नेतृत्व गर्दा गल्ती गर्दैन र गल्ती गर्दैनलाई छाड्दैन भन्ने उद्घोषणका साथ सुशासनको अभियानमा होमिएपछि जनतामा आशा पलाएको र सरकारबाट निस्केपछि त्यही अभियानलाई देशव्यापी बनाएकाले जनतामा नयाँ आशा पलाएको उल्लेख गर्दै दैनिक दिन बढिरहेको माओवादीप्रतिको आकर्षणलाई संगठनमा रुपान्तरण गरेर बलियो पार्टी निर्माणको अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसरी नै अघि बढ्ने हो भने अब २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले अब पार्टी रुपान्तरणको अभियान पूर्वी नेपालबाट सुरु गरेकाले १ नम्बर प्रदेश समितिको बढी जिम्मेवारी र भूमिका आएको बताउनुभयो ।
भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौंः प्रचण्ड
झापा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको स्मरण गराउँदै उहाँले अब पार्टीले देशब्यापी अभियानको रुपमा यसलाई अघि बढाउने बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ’– उहाँले भन्नुभयो– ‘यो निरन्तर अघि बढ्ने छ ।’ अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताउनुभयो । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’ आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’ अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत ब्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता र सिमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उहाँले स्पष्ट गर्नुभयो । संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उहाँले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गर्नुभयो । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो
बेलुन पड्कदा घाइते अर्थमन्त्री र मेयर बर्न अस्पताल
काठमाडौँ। पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किदा पोखराका मेयर धनराज आचार्य र प्रमुख अतिथि रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल घाइते हुनुभएको छ । घाइते हुनुभएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक आगो लागेपछि घाइते भएका उहाँहरुलाई प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचार आवश्यक भएपछि उनलाई आजै काठमाडौँ ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको हो। भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड
मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’ भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उहाँले स्पष्ट गर्नुयभो । उहाँले ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’ नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताउनुभयो । बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गर्नुभयो । जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उहाँले स्पष्ट गर्नुभयो । जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गर्नुभयो । माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उहाँले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताउनुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।