प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गर्नुभएको हो । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ पनि सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फस्र्यौट गरिएको जानकारी गराउनुभयो । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।

हेटौंडामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं। हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालवाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ । मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । कन्टेनर वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको उक्त कन्टेनर दुर्घटना हुँदा चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक विकल्प समेत छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका अभियुक्त ६ महिनापछि पक्राउ

बारा ।  बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत जेष्ठ ३२ गते बाराकै आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको हो ।  क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका– २ घर भएका ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई प्रहरीले हत्या भएको ६ महिनापछि पक्राउ गरेको हो । हत्या घटनापछि भागेर भारतमा लुकिछिपी बसेका कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।  पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडा पनि रहेको प्रहरीले जनाएको छ । यसअघि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये दुईजना धरौटीमा छुटिसकेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका थिए ।  पुर्पक्षको लागि कारागार चलान हुनेमा चन्द्रमणी प्रसाद कुशवाहा,चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार,ब्रहमदेव राम र मोतीलाल चौधरी रहेका छन् । राधेस कुमार पटेल र विनोद राउत कुर्मी भने अदालतमा धरौटी बुझाएर छुटेका हुन् । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग गरिएका पेस्तोल थान–२,गोली ७ राउण्ड, मोटरसाइकल ४ थान, मोबाइल ४ थान, ल्यापटप २ थान, सिम कार्ड ७ थान प्रहरीले बरामद गरेको थियो । 

बाढीले क्षतिग्रस्त गोरखाको पुल मर्मतपछि पुनः सञ्चालनमा

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको शहीद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिए । सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको एक लाख रुपैयाँको लागतमा पुल मर्मत भएको उनको भनाइ छ । पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।  

पश्चिमी वायुको प्रभाव कायमै, केही ठाउँमा हल्का वर्षाको संभावना

काठमाडौं ।देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको  पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि  मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लोकप्रिय