नक्सालमा जारी कला प्रदर्शनी : २२ हजार बढीबाट अवलोकन

नक्सालमा जारी कला प्रदर्शनी : २२ हजार बढीबाट अवलोकन

काठमाडौँ । नेपाली ललितकलाका विविध आयाम बुझ्ने कला प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिसरमा चलिरहेको छ । प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा देशका राजनीतिक, कूटनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, कानुनी क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूले व्यक्तिगत तथा संस्थागततर्फबाट प्रदर्शनीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । यस्तै, विद्यालय तथा कलेजका विद्यार्थीको भीड दैनिक रुपमा बढिरहेको प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनीका संयोजक लालकाजी लामाले जानकारी दिए । उनका अनुसार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा हालसम्म २२ हजारभन्दा बढी दर्शक तथा कलापारखीले प्रदर्शनी अवलोकन गरिसकेका छन् । 

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भावमा गरिएको प्रदर्शनीमा ४८२ कलाकारका करिब ६०० कलाकृति राखिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमार्फत नेपालमा प्रचलित लोककला, हस्तकला–शिल्पकला, परम्परागत चित्र/मूर्तिकला, समसामयिक चित्रकला तथा मूर्तिकला, वास्तुकला, अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कला फोटोग्राफी, भिडियो आर्ट, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभङ्गिमा कलालगायतका कलालाई नजिकबाट नियाल्न सहज हुने बताए । उनले प्रतिष्ठानले देशका सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ गरेको दिए । उनले नेपाली ललितकलाको सुगन्धको झल्को प्रदर्शनीमा देखिएको सुनाए । कुलपति हार्तम्छालीले भने, ‘नेपाली कलालाई स्थानीय स्तरबाट केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनीले मार्ग तय गरेको छ । यसलाई अझ जनस्तरसम्म लगेर नेपाली समाजमा विकसित कलालाई सामाजिकीकरण गर्दै अर्थतन्त्रमा समेत जोड्नुपर्दछ ।’ उनले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपाली समाजमा प्रचलित विविध कलाको रैथाने स्वादलाई समेत जनसमक्ष ल्याउन सफल भएको विचार व्यक्त गरे । 

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले प्रदर्शनीमा सात प्रदेशका विविध कलाका आयाम र विधालाई समेट्ने कोसिस गरिएको बताए । उनले बृहत रुपमा गरिएको यस प्रदर्शनीले नेपाली समाजमा विद्यमान कलाका विभिन्न शैली र चिन्तनलाई बुझ्न सघाउँ पुगेको धारणा व्यक्त गरे । समाज रुपान्तरणमा कलाको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्दै प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले नेपालीपनको स्वाद प्रदर्शनीमा पस्किएको बताइन् । उनले सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने भावमा रहेर प्रतिष्ठानले नेपालीपनको बोधलाई विशिष्टकरण गर्दै लोपोन्मुख रैथाने मौलिक कलालाई अगाडि बढाइरहेको जिकिर गरिन् । 


प्रदर्शनीका कार्यकारी संयोजक एवं उपकुलपति लामाल नेपाली समाजलाई राष्ट्रिय आवश्यकता र गणतान्त्रिक संस्कृति निर्माणमा ललितकलामार्फत योगदान दिने उद्देश्यसमेत प्रदर्शनीको रहेको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली कला विविध कारणले लोपोन्मुख र हराउनेक्रममा रहेकाले तिनको पहिचान गरी कलाकारलाई समेत जागृत गराई सामाजिक रूपान्तरणको अभियानमा जोड्दै पुनर्जागरण गर्ने ध्येय प्रतिष्ठानले राखेको छ । यस अभियानमा कलाकारको उत्साहजनक सहभागिता र चासो रहेको पाएका छौँ ।’

प्रतिष्ठानले यस वर्षदेखि सुरु गरेको प्रादेशिक प्रदर्शनीले नेपाली ललितकलालाई पुनर्जागरणको चरणमा लगेको सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले जिकिर गरे । नेपाली समाजको कलात्मक चेत र अवस्थालाई प्रदर्शनीमा देख्न सकिने विचार गर्दै उनले कलामार्फत सामाजिक जागरणमा कलाकारले भूमिका निर्वाह गर्ने आधार तय गर्न यो प्रदर्शनी सफल भएको बताए । उनले भने, ‘नेपाली समाजमा विकास भएका विविध शैली, चिन्तन र आयामका कलाको पहिचान गरी कलाकारको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको हो ।’ सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा सात प्रदेशको कलाको अवस्था र परिवेशलाई बुझ्न सकिने धारणा व्यक्त गर्दै यस अभियानले कलामा सचेत जागरण ल्याउन मद्दत पुग्ने विश्वास प्रतिष्ठानले लिएको बताए । उनले थपे, ‘यो प्रदर्शनीमार्फत प्रतिष्ठानले प्रारम्भ गरेको पहिचान, पहुँच र पहलको माध्यमबाट नेपाली कलामा आगामी वर्ष अझ व्यवस्थित गरिने छ । साथै समाज रूपान्तरणको अभियानमा कलाकारलाई सहभागी गराई राष्ट्रिय आवश्यकतामा जोड्नु पनि रहेको छ ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली समाजलाई युगबोधी चेतना जागृत गर्ने ध्येयका साथ आफूहरूले काम गरिरहेको जिकिर गरे । उनले भने, ‘अहिलेको युगको बोध कलामार्फत गराउने लक्ष्यका साथ प्रतिष्ठानले गतिविधि गरिरहेको र त्यसको एक कडीका रूपमा प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीलाई हामीले लिएका छौं ।’ उनले प्रदर्शनीमार्फत जनस्तरसम्म पुगेर नेपाली समाजमा विद्यमान कला र तिनको महत्वलाई स्थानीय तह, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रिय करण गर्नु रहेको बताए । कुलपति हार्तम्छालीले समाज रूपान्तरणमा ललितकलाको पनि योगदान विशिष्ट ढङ्गले चित्रित हुनुपर्छ भन्ने भावका साथ प्रदर्शनी गरिएको र यो प्रारम्भिक चरणमा रहेकाले त्यसतर्फ अगाडि बढ्ने मार्ग बनिरहेको सुनाए । उनले दूरदराजमा रहेका नेपाली ललितकलालाई उजागर गर्नका लागि र ललितकलाकर्मीलाई उत्साह, हौसला जागृत गर्नका लागि पुरस्कारमा विशेष परिवर्तन गरिएको बताए । उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय, विधागत रुपमा राष्ट्रिय, प्रादेशिक उत्कृष्ट, विधागत प्रादेशिक एवं विद्यार्थी विधामा पुरस्कार प्रदान गरिएको जानकारी दिए । 

सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको र त्यसले आगामी नेपाली ललितकला क्षेत्रमा नयाँ मोड ल्याउने जिकिरसमेत गरे । प्रदर्शनी ३० जेठसम्म चल्नेछ ।
 

राहदानी विभागको सेवा ठप्प

काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ ।  विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ ।  विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ।  सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ । 

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत  श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

काठमाडौंमा भ्रष्टाचारीहरुको र्‍याली देख्न परेको छ  :  विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्‍याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।  उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

लोकप्रिय