आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल

आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए । 

उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए । 

उनले भने, “भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ। आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ। डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौं, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।”


अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए । 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध छ।

ज्यापु दिवसको अवसरमा र्‍याली

काठमाडौं । ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्‍याली निकालेका छन्। इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्‍याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुनेछ।  ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्‍यालीमा सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै पत्रकार महासंघ ललितपुरको अध्यक्षमा प्रेस सेन्टरको प्यानल नै विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो।   कार्कीले दुई सय ४३ मत प्राप्त गरी सबैभन्दा बढि मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्।  ललितपुर महासंघमा सत्ता पक्षिय गठबन्धनका प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन सहितले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।  उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।  त्यसैगरी सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा विजयी भएका निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसेले जानकारी दिए।  राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन्। 

लोकप्रिय