राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन २०७९–८० तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव तथा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल तथा सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
अखिल क्रान्तिकारीमा उमेर हदको विवाद टुंग्याउन भोलि मतदान हुने
काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हदसम्बन्धी विवाद समाधानका लागि मतदान प्रक्रिया सुरु गर्ने भएको छ। गत असोजमा सम्पन्न हुन नसकेको २३औं सम्मेलन उमेर हदको विवादका कारण स्थगित भएको थियो। सो सम्मेलन २३ र २४ मंसिरमा पुनः आयोजना गर्ने तयारी गरिए पनि सम्भव भएन। अहिले ३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा शनिबार मतदान गर्ने तयारी भएको निर्वाचन समितिले जानकारी गराएको छ। उमेर हदको टुंगो लागेपछि दोस्रो चरणमा संगठनको नयाँ नेतृत्व चयनका लागि मतदान गरिनेछ। यसपटक काठमाडौं बाहिरबाट पनि प्रतिनिधिहरूलाई मतदानको व्यवस्था मिलाइएको छ। निर्वाचन समितिका अनुसार उमेर हदका लागि आठ प्रदेश कार्यालय र दुई विश्वविद्यालय कमान्ड प्रतिनिधिहरूले मतदान गर्नेछन्। भूगोल र गैरभूगोल गरी ८६ स्थानबाट मतदान हुनेछ। नयाँ नेतृत्व चयनका लागि भने भूगोल र गैरभूगोलका आधारमा नौ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ। उमेर हदका लागि मतदान १३ पुस शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ। नयाँ नेतृत्व चयनका लागि भने १७ पुसमा ११ बजेदेखि ४ बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिने छ। यो मतदानले संगठनभित्र लामो समयदेखि चल्दै आएको उमेर हद विवादलाई टुंग्याउने र नयाँ नेतृत्व चयनमार्फत संगठनलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइँदै
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा आज पनि बयान लिइँदैछ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा हिजो दिउँसोदेखि लामिछानेको बयान शुरु भएको हो । पहिलो दिन लामिछानेसँग तीन घण्टा बयान लिइएको जिल्ला अदालतले जनाएको छ । बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट एक रुपैयाँ पनि ऋण नलिएको र दुरुपयोग समेत नगरेको जिकीर गर्नुभएको छ । लामिछानेको बयान सकिएपछि रामबहादुर खनाल र देवकुमार नेपालीको बयान लिइने जनाइएको छ । पूर्व डिआइजी छविलाल जोशी र लिला पछाईको बयान यसअघि नै सकिएको छ । आजसम्ममा सबैको बयान लिइसक्ने र आइतबारदेखि थुनछेक बहस अघि बढने बताइएको छ ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अध्यक्ष प्रचण्डद्वारा शोक व्यक्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । सन् २००८ मा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रुपमा भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र आपसी चासोका विषयमा विस्तृत र खुला छलफल गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि सार्वजनिक गर्नुभएको छ ।
सरकारले राष्ट्रियसभालाई बिजनेस दिएन : अध्यक्ष दाहाल
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए। उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।” आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।