सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री शर्मा
ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताएकी छिन्। नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्ने बताइन्।
“नेपाल सरकारले आइसिटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रूपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई समेटिएको छ, १६ औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ । उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।
चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भएपनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन। उनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
“विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसिटीको विकासले बिदेसिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रूपमा संस्थान सफल हुनेछ”, मन्त्री शर्माले भनिन् । साइवर सुरक्षाका लागि पुराना कानुनलाई संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने कार्यको सुरुआत भइसकेको उनले जानकारी दिइन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले आइसिटी क्षेत्रको विकासका लागि सरकार, विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानसँगसँगै जानुपर्नेमा जोड दिए। “सामाजिक र गुणस्तरीय जीवनका लागि उपयोगी हुनेगरी आइसिटी क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा यो कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ”, उनले भने।
नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशीधरराम जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढाउन इन्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको बताए। उनले संस्थानले आइसिटी क्षेत्रमा नेपालका लागि मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै काम गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै साइवर सुरक्षाका लागि दक्षिण कोरियाको विश्वविद्यालयसँग सहकार्य गरेर काम गरिरहेको बताए।
क्याम्पस प्रमुख प्रा।डा।इन्द्रप्रसाद आचार्यले निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयोग प्राप्त भएको बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धिले देशलाई महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्नसमेत सहयोग पुग्ने बताए।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।