राहत शिक्षकले भने- 'पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट छैन्'

राहत शिक्षकले भने- 'पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट छैन्'

काठमाडौँ । राहत शिक्षकहरूले सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका राहत, अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको पेसागत भविष्यमाथि कुठाराघात गर्ने छुट राज्यलाई नभएको चेतावनी दिएको छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाईँ र उपमहासचिव डम्बर राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन्। 

उनीहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक पारित गर्ने प्रक्रिया थालनी नभए राजधानी केन्द्रित सडक आन्दोलन गर्ने चेतावनी पनि दिए। ‘तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्यतालाई ध्यानमा राख्दै नेपाल सरकार, मन्त्रालय साथै अन्य सरोकारवाला निकायहरूको सक्रिय पहलकदमीका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। अन्यथा नेपाल राहत शिक्षक केन्द्रीय समिति देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रमसहित काठमाडौँ केन्द्रित सशक्त सडक आन्दोलन घोषणा गर्न बाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ।

विद्यार्थीको चरम विदेश पलायन, आमअभिभावक तथा जनताको देशको शिक्षा प्रणालीमाथिको नैराश्य, स्थानीय तहहरूको शिक्षा नीति निर्माणमा मनलाग्दीपनलगायत शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि पनि ऐन जारी हुनुपर्ने ठहर राहत शिक्षकहरूको छ।

५२ वर्षपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा विधेयक २०८० भदौ २७ गते संघीय संसद्मा दर्ता भएको थियो। हाल उक्त विधेयक संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। विधेयकमा प्रारम्भिक छलफल भए पनि पछिल्ला दिनमा गुमनाम पार्न खोजिएको राहत शिक्षकहरूको आरोप छ। विधेयकमा छलफल अघि बढाउन राहत शिक्षकहरूले यसअघि पनि मन्त्री, दलका नेताहरू, संसदीय समितिलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्।

यता, शिक्षामन्त्री श्रेष्ठले विधेयक पारित गराउनका लागि थप दबाब आवश्यक रहेको बताएकी छन्। समितिको ध्यानाकर्षणपत्र बुझ्दै उनले आफू विधेयक तत्काल पारित गर्ने पक्षमा रहे पनि समितिमा छलफल नहुँदा विधेयक अघि बढ्न नसकेको बताएकी हुन्। त्यसका लागि दबाब आवश्यक रहेको उनको भनाइ छ।

आफूले विधेयक अघि बढाउन प्रयास गरे पनि शिक्षा समितिका अध्यक्षले गम्भीर चासो नदिएको मन्त्री श्रेष्ठले बताएको भेटमा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका उपमहासचिव डम्बर राईले बताए। विश्वविद्यालय कानुनबारे भने समिति सभापतिले दुई(तीनपटक छलफलमा ल्याएको मन्त्रीले श्रेष्ठले बताएकी थिइन्। सांसदहरूले पनि शिक्षा विधेयकका पक्षमा गम्भीर नरहेको शिक्षामन्त्रीले बताएकी थिइन्।

‘त्यसैले विधयेक अघि बढाउन तपाईँहरूले थप दबाब दिनुपर्‍यो। म सकारात्मक छँदैछु। तपाईँहरूको पनि दबाब चाहियो’, मन्त्री श्रेष्ठलाई उधृत गर्दै राईले भने।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ    

अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही

काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्।  यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

लोकप्रिय