माओवादी नभएको ठाउँ छैन : विप्लव
काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले माओवादी नभएको ठाउँ नभएको दाबी गरेका छन् ।२४ औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीहरु जुर्मुराए व्यवस्थाविरोधीहरु टिक्न नसक्ने बताए।
उनले भने, ‘हामी थाकेका छैनौं । देशलाई समाजवादतिर लैजाने अभियानको नेतृत्व गर्छौं । हामीले सामन्तवादलाई तोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो हामीले गरेका हौं एमाले र कांग्रेसको पनि भूमिका छ । तर, हामीले गरेका हौं । हामीले यो गणतन्त्रलाई यहाँसम्म ल्याएका हौं । प्रधानमन्त्री पनि अहिले लडाइँमा हुनुहुन्छ । माओवादीहरु विभिन्न मोर्चामा लडिरहेका छन् । हामी सरकार, सडक र जेलमा पनि छौं । माओवादी नभएको ठाउँ छैन । एमाले र कांग्रेसभित्र पनि माओवादी छ । सेना, कर्मचारीदेखि विदेशसम्ममा माओवादीहरु छन् । ती सबै जुर्मुराए संघीय लोकतान्त्रिक गणतन्त्रलाई खोस्न खोज्नेहरुको हालत के हुन्छ ?’
उनले विभिन्न शक्तिहरुले संघीय गणतन्त्रलाई कब्जा गर्न षड्यन्त्र गरिरहेको बताउँदै हरेक ठाउँमा भएको माओवादी भित्र रहेको वर्गिय भावना जुर्मुराए ती षडयन्त्र सकिन बेर नलाग्ने बताए ।
अध्यक्ष प्रचण्ड गोरखामा
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ । उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ
भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव
काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’
रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ ।
पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै
एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा लगिएको छ । उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गर्दै क्यापिटल रोटुन्डामा एक स्मारक सेवा आयोजना गरिएको छ । कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए । कार्टरको शववाहन रोटुन्डामा राखिनेछ । मंगलवारदेखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उहाँको पार्थिव शरीर बिहीवार श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदैछ । आज जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उहाँको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम तय गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि जनवरी ९, २०२५ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिकाभरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गर्नुभएको थियो ।