लागूऔषध सहित १२ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । देशका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका ११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका ८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका ५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका ४ बस्ने ३१ वर्षीय नबिन कार्की र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने ४६ वर्षीय राजु सारू मगर र निजको श्रीमती ४१ वर्षीया सुमित्रा शाहीलाई अवैध लागूऔषध गाँजा ८ सय १० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका ७ रिस्कुबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलोग्राम सहित ताप्ली गाउँपालिका १ बस्ने ३१ वर्षीय शम्भु राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
रोल्पा, माडी गाउँपालिका २ पिपलबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माडी गाउँपालिका ६ पन्तिवाङ बस्ने २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीनगरबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा।६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुल सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४१०४ नम्बरको टाटा सुमो गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।
कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार
काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए। गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने पक्राउ
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ । ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।