सम्पादकहरूको पत्र बुझ्दै प्रधानमन्त्रीले भने– 'सकारात्मकरुपमा लिएको छु'

सम्पादकहरूको पत्र बुझ्दै प्रधानमन्त्रीले भने– 'सकारात्मकरुपमा लिएको छु'

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँचबुँदे पत्र बुझाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सम्पादकहरुले पत्र बुझाएका हुन्।

पत्र बुझ्दै प्रधानमन्त्रीले सम्पादकहरुले उठाएको कुरा आफूले मनन गरेको बताउँदै भने, “म तपाईंहरुको कुरा सकारात्मकरुपमा हेरेको छु। उहाँ (कैलाश सिरोहिया) छुट्नुहोला ।”

यस्तो छ पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौँ ।

१.कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ । नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ । यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन् ।

२.जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौँ । उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन । हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ।यो विषय अब अदालतले नै निरूपण गर्नेछ ।

३.प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौँ– तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए । अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् । 

४.गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौँ । सहकारी ठगीको समस्या विकराल बनेको छ । अहिले लाखौँ नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन् । गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन् । मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन् । जबकी पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सीआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन् । सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन् । हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौँ र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौँ ।
५.नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौँ। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौँ भन्ने पनि स्पष्ट गर्न चाहन्छौँ।
प्रतीक प्रधान –  बाह्रखरी

शिव गाउँले –  अनलाइनखबर

अमित ढकाल –  सेतोपाटी

किरण नेपाल – खोज पत्रकारिता केन्द्र

युवराज घिमिरे – देशसञ्चार

सुधीर शर्मा

मदन लम्साल – अभियान

विमल गौतम –  लोकान्तर

सागर पण्डित –  नेपाल समाचारपत्र

राजाराम गौतम – 

सुजित महत – उकालो

पूर्णबहादुर बस्नेत –  नेपाल खबर

बसन्त बस्नेत – अनलाइनखबर

हरिबहादुर थापा –  बाह्रखरी

उमेश चौहान– कान्तिपुर

रामेश्वर बोहरा –  उकालो

कोषराज कोइराला –  रिपब्लिका दैनिक

गुणराज लुइँटेल –  नागरिक दैनिक

रूपेश श्रेष्ठ – कान्तिपुर टिभी

अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट

विश्वास बराल –  द काठमाडौं पोस्ट

सरोज मिश्र –  राजधानी दैनिक

अरूण बराल –  खबरहब

कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस

प्रकाश रिमाल

कसमस विश्वकर्मा  

सञ्जीव सतगैयां 

विजय पौडेल – कान्तिपुर टिभी

रामप्रसाद दाहाल – रातोपाटी

दुर्गा खनाल – इकान्तिपुर

सोमराज पोखरेल – हाम्राकुरा

पुष्प दुलाल– क्लिकमाण्डु

सानो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ३.२१ अंकले बढेको छ । सानो अंकले बढ्दा कारोबार भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको भएको छ।  आजको नेप्सेमा विकास बैंक समूहमा उत्साह देखिएको छ । विगत केही दिन यता वित्त समुहमा झुमिएका लागनीकर्ता आज विकास बैंक समूहमा बढी लगानी गरेको देखिएको छ ।  आज नेप्से ०.१५ प्रतिशतले बढेर २०६६.१६ विन्दुमा पुग्दा विकास बैंक समूह ६३ अंकले बढेको छ । लघुवित्तमा पनि आज लगानीकर्ताको आर्कषण देखिएको छ । लघुवित्त समूह आज ६१.७६ अंकले बढेको छ । आज बढ्ने समूहमध्ये तेस्रो स्थानमा मात्र फाइनान्स समूह परेको छ । आज फाइनान्स ५२.३२ अंकले बढेको छ ।  आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता कारोबार हुँदा १४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तो छ सोमबाको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १० गते सोमबार सन् २०२४ जुन २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

५.३७ अंक घट्यो नेप्से, चार अर्ब ३७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ५.३७ अंक घटेरको छ ।बजार घटेको भए पनि आजको दिन फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए। फाइनान्स समूहको परिसूचक ५.४९ प्रतिशतले बढेको छ । १३ मध्ये फाइनान्स, ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ। बाँकी समूहको परिसूचक घटेको छ । नेप्से परिसूचक ०.२५ प्रतिशतले घटेर २०६२.९४ विन्दुमा बन्द भएको छ । चार अर्ब ३७ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । ७८ कम्पनीको सेयर मूल्य बढेको छ । १६४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मौलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्यको सेयर कारोबार पोखरा फाइनान्सको भएको छ । यो कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम(काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको बताए। ‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ।अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर। कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरू नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ।,’’मन्त्री पुनले भने, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ। अरू हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरू, रोजगारी सम्बन्धी कार्यक्रमहरू अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ।’’ उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए। उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गरे। उनले मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औँल्याए। उनले भने, ‘‘उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छौँ। सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र सोह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ। हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ। भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छौँ।’’ उनले समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

लोकप्रिय