अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीले आज निजी क्षेत्रबाट सुझाव लिंदै
काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफलको सुरुवात गरेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भने आज निजी क्षेत्रसँग सुझाव लिने भएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको जानकारी दिए ।
उनले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताए। उनले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रस्तुत गरेको बताए ।
देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको छ ।अर्थमन्त्री महतले अर्थतन्त्र छिटोभन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए।
प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने उनले बताए। उनले देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको समेत बताए ।
निजी क्षेत्रसँग आज सुझाव लिंदै प्रधानमन्त्री
समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ ।
देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थमन्त्री डा. महतले भने, ‘‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौति तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ ।’’
मन्त्री डा. महतले भने, ‘‘प्रधानमन्त्रीको निर्देशन अनुसार मैले वर्तमान देशको अर्थतन्त्रकाबारे बैठकमा ब्रिफिङ गरें ।’’ त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए ।
बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।
बढ्यो डलर र युरो, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल कात्तिक २४ गते शनिबार सन् २०२४ नोभेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । शनिबारका लागि युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु
काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।
अलैंचीको मूल्यवृद्धिले किसान उत्साहित
ताप्लेजुङ । ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ । यस वर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्य रूपमा मूल्यवृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो । करिब दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँसम्म कारोबार भएको थियो । व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रूपमा मूल्यवृद्धि सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार पाँच सयले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । फुङलिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिब दुई सातासम्म कायम रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिदबिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिदबिक्री हुँदा झापाको बिर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार यस वर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भएको थियो । भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिब तीन महिना पुग्न लाग्दा सुरुदेखि नै क्रमशः मूल्यवृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात् मूल्य घटबढ आएको छैन । सामान्य रूपमा भए पनि मूल्यवृद्धि हुँदै आएको उनीहरूको भनाइ छ । हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादनमा कमी आएकाले अलैँचीको मूल्यवृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ । यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांश किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।