इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक भएको बताउँदै पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरी रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक हुन् । देशमा विकास निर्माणका कामहरू भइरहेका छन्, पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ।’’
त्यसका लागि राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यक रहेकोमा प्रधानमन्त्रीले जोड दिए।
प्रधानमन्त्रीले आफू इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सकारात्मक भएकोसमेत बताए। उनले भने, ‘‘नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ। तर्पाइहरूको यो चासो र मागलाई मैले सकारात्मक रूपमा लिएको छु।’’
प्रधानमन्त्रीले ‘आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी’ रहेको बताए।
सम्बोधनको पूर्णपाठ
नेपाल इन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नुभएकोमा वर्तमान कार्यकारिणी समिति तथा सम्पूर्ण इन्जिनियर/आर्किटेक्ट समुदायमा हार्दिक बधाइ व्यक्त गर्दै कार्यक्रमको भव्य सफलताको कामना गर्दछु ।
इन्जिनियरहरू राष्ट्रनिर्माणका संवाहक हुन् । देशमा विकास निर्माणका कामहरू भइरहेका छन्, पूर्वाधार निर्माणअन्तर्गत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ । यसका लागि राष्ट्रमा विज्ञान र प्रविधिको विकास तथा त्यसको उपयोगिताको आवश्यकता छ । यो सबै कार्यमा प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालका दूरदराजमा आफ्नो जिम्मेवारी वहन गर्दै कार्यक्षेत्रमा खटिनुभएका इन्जिनियरहरू आज एकैस्थानमा भेला भई आफ्ना अनुभव साटासाट गरी आपसी एकता, सदभाव तथा सहकार्यको वातावरण निर्माण गर्नमा समेत यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।
मैले जानकारी पाएको छु, नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तर्पाइहरूको यो चासो र मागलाई मैले सकारात्मक रूपमा लिएको छु । एशोसिएसनको यो मागलाई सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट सम्भव प्रयास गरिने विषय पनि म
तपाईहरूलाई स्पष्ट पार्न चाहन्छु ।
उपस्थित महानुभावहरू,
अब परिस्थिति बदलिएको छ, वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकताका साथ आफ्नो कार्यसम्पादन गरिरहेको छ । मेरो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढिरहेको छ । यो लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी छ ।
आधुनिक विकासको मुख्य प्राथमिकता भनेको पूर्वाधारहरू नै हुन् । सडक, लोकमार्ग, उर्जा, विद्युत, सञ्चार, विमानस्थल, सिंचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सक्यौँ भने मात्र आर्थिक विकासको ढोका खुल्न सक्छ, जसको फलस्वरूप वृहत् आर्थिक पूर्वाधारको मार्ग पहिल्याउन सक्छ ।
विद्यमान अवस्थामा ठूलो पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ । विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो । यसले समान्य रुपमा गतिलिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ, अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समयसीमाभित्र सम्पन्न हुन नसकेको विकास आयोजनाहरूमा लागत बढ्दै जाँदा राज्यलाई थप आर्थिक भार पर्न गएको विद्यमान अवस्था रहेको हामीले अनूभूति गरेका छौं । यस्ता कठिनाइहरूलाई चिर्दै अब्वल व्यवस्थापकीय ढंगबाट आफ्नो ज्ञान र सीपको सदुपयोगद्वारा भौतिक पूर्वाधार निर्माणको गतिलाई तीब्रताका साथ अगाडि बढाउँदै समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुशी ल्याउन सकिनेछ, जुन कुराको सामथ्र्यता र समाधान तपाई प्राविधिक जनशक्तिबाट मात्र सम्भव हुन्छ ।
विकास र इन्जिनियर एक आपसका परिपूरक हुन् । देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायकोे भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउनेछ ।
नेपालको राजनीतिले संक्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको छ । राजनीतिक दलहरूले गरेको प्रतिवद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर हामीले प्राप्त गरेका छौँ । त्यसलाई प्रत्यक्ष रूपमा देख्ने अनुभूति गर्ने लक्षित वर्गका आशाले अझै सहारा खोजिरहेको छ । त्यसकारण इन्जिनियरहरूले पूर्वाधार निर्माणको विषयलाई सधै जनताको जीवनशैलीसँग जोडेर हेर्नुपर्दछ । तपाईहरूले निर्माण गर्ने पूर्वाधारहरूले जनताको आवश्यकता र आकांक्षा पूरा गर्ने र देश समृद्ध हुँदै जाने लक्ष्य प्राप्त गर्नुपर्दछ ।
समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ । तपाईहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र अनुपम हुनुपर्दछ । तर, द्रूततर विकास निर्माणबाट प्राकृतिक वातावरणमा प्रतिकुल असर पनि परिरहेको छ । नेपालको पर्यावरणमा यसको प्रत्यक्ष प्रभाव देखा परिरहेको छ । यस्तो प्रतिकूल प्रभावलाई न्य्ूनिकरण गर्ने, वातावरणीय अनुकूलताका उपायहरू अवलम्बन गर्ने र भइपरि आउने प्राकृतिक विपद्बाट जनधन र सम्पत्ति सुरक्षाका उपायहरूको सुरक्षणसहितको पूर्वाधार निर्माण गर्न सुझाउने काम पनि तपाई इन्जिनियरहरूले नै गर्नुपर्दछ । यो राष्ट्रिय सम्मेलनमा नेपालको समृद्धि र विकासको लागि अबको मार्ग के हुनपर्दछ ? त्यसलाई यो २ दिनको कार्यक्रममा बहस, छलफल गरी इन्जिनियर समुदायको प्रतिष्ठालाई अभिवृद्धि गर्ने उद्देश्यबाट प्रेरित भई देशको आगामी दिशा र लक्ष्य निर्धारण गर्नुहुनेछ भन्ने विश्वाससमेत व्यक्त गर्दछु ।
अन्त्यमा, तपाईहरूको यो सम्मेलनबाट प्राप्त निचोडले नेपाल सरकारलाई देशको विकासका लागि नीति निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वाससहित फेरि एकपटक सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
राहदानी विभागको सेवा ठप्प
काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ । विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ । विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ। सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ ।
रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।