इटहरी डुबाउने शेहरामा तटबन्ध

इटहरी डुबाउने शेहरामा तटबन्ध

इटहरी, फागुन २४ । इटहरी उपमहानगरपालिकाले शेहरा खोलामा तटबन्धको काम सुरु गरेको छ। इटहरीमा बाढी नियन्त्रणको लागि खोला मिचेका संरचना हटाउने क्रम चलिरहँदा समस्याको दीर्घकालीन समाधानको काम थालेको हो।

शेहरा खोलामा बाढी आउँदा ओभरफ्लो भई टेंग्रा खोलामा पानी पसेर इटहरी डुबाउने गरेको निष्कर्ष निकाल्दै शेहरा खोला नियन्त्रण थालिएको हो। गत साउनमा इटहरीमा बाढी आएर इटहरी चोक डुबानमा परेको र ८ जनाको ज्यान गएको घटनापछि इटहरी बाढी समस्याको दीर्घकालीन समाधानमा केन्द्रित भएको हो।

खोलाको करिब ६ किलोमिटर क्षेत्र जोखिमपूर्ण छ। अहिले तीन सय मिटर बाँध दायाँबायाँ बाँध्ने र खोलालाई बीचबाट बगाउन च्यानलाइजको काम भइरहेको छ। त्यसको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ। आगामी वर्षदेखि थप बजेट विनियोजन गर्ने र प्रदेश सरकारसमेतको सहयोग जुटाएर काम गर्ने योजना रहेको उपमेयर लक्ष्मी गौतमले बताइन्।

इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले शेहरा खोला धरान र सुन्दर हरैंचा नगरपालिकासँग समेत सम्बन्धित रहेकोले दुई नगरपालिकासँग पनि कुरा भइरहेको बताए।

उपमहानगरपालिका त्यहाँ थुप्रिने बालुवा, गिट्टीलाई निकालेर नगरका बाटोहरू पुर्ने योजनामा छ।

शेहरा खोला खहरे खोला हो। जसले चुरेको फेदीदेखिको ढुंगा, गिट्टी तथा बालुवा बोकेर ल्याउँछ। वर्षामा खोलामा थुपार्ने ढुंगा गिट्टीको कारण शेहरा खोलाको सतह वर्षामा वरिपरिको जमिनको सतहभन्दा अग्लो हुने गर्छ। ‘बाँध बाँधेसँगै खोलामा थुप्रिने ढुंगा, गिट्टी र बालुवासमेत नियमित निकाल्नुपर्छ,’ उनले भने, ‘नत्र जति बाँध बाँधे पनि बालुवा, गिट्टी थुप्रिहाल्छ।’

अहिले इटहरी उपमहानगरपालिका त्यहाँ थुप्रिने बालुवा, गिट्टीलाई निकालेर नगरका बाटोहरू पुर्ने योजनामा छ। इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम भन्छिन्, ‘यसो गर्दा डुबानको समस्या पनि नहुने र इटहरीका बाटो मर्मत पनि हुन्छ।’

तर, खोलाबाट गिट्टी झिक्न सजिलो छैन। राष्ट्रपति चुरे संरक्षण क्षेत्र र त्यसमा पनि जंगल भएकाले खोलाजन्य सामग्री झिक्न पाइँदैन। त्यसैले यस पटक आफूहरूले अलि चुनौती लिएरै पनि खोला गहिरो बनाउने काम थालेको गौतम बताउँछिन्।

अघिल्ला वर्षसम्म जिल्ला विकास समितिले खोलाको सामग्री निकाल्न ठेक्का लगाउने गरेको थियो। स्थानीय तह स्वायत्त भइसकेपछि पनि जिल्ला समन्वय समितिले आफूहरूलाई सोध्दै नसोधी ठेक्का लगाएको उनको गुनासो छ। तर, अर्को वर्षदेखि आफूहरूले नै वातावरणलाई हानि नपुग्ने गरी कन्सल्टेन्टको सहयोगमा काम थाल्ने उनले बताइन्।

शेहरा खोलाको दुवैतर्फ तटबन्ध बाँधियो भने शेहरामा आएको बाढी टेंग्रामा पस्न पाउँदैन। तर, सबै पानी बुढी खोलामा मिसिन्छ। त्यसैले बुढी खोलामा भने अघिल्लो वर्षको भन्दा ठूलो बाढी आउने सम्भावना छ। गएको साउनमा बाढीका कारण मृत्यु हुनेमध्ये ७ जना बुढी खोला किनारमा बसोबास गर्नेहरू थिए। ‘बाढी आइसकेपछि कुनै न कुनै ठाउँबाट पानी बग्छ,’ उपमेयर गौतम भन्छिन्, ‘तर हामी क्रमशः काम गर्दै छौं।’

पञ्चायतकालमा थियो तटबन्ध
शेहरा खोलामा यसअघि पञ्चायतकालमा तटबन्ध गरिएको थियो। तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बाले शेहरा खोलामा तटबन्ध लगाएका थिए। तर, त्यो तटबन्ध धेरै समय भने टिकेन। ‘चोर र तस्करहरूले तटबन्धबाट ढुंगासँगै तारजालीसमेत चोरेर लगिदिए,’ सुब्बा अझै सम्झन्छन्, ‘त्यसपछि कसैले पनि तटबन्ध गर्न सकेको छैन।’

अहिलेको तटबन्धका तारजाली र ढुंगा भने चोरी हुन नसक्ने इन्जिनियर दाहाल बताउँछन्। ‘त्यसबेला राजनीतिक अस्थिरताको फाइदा उठाएर चोरिएको थियो,’ उनले भने, ‘अब त स्थानीय सरकार छ, राजनीतिक स्थिरता पनि छ, त्यस्तो हुँदैन।’

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय