उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा १ नेपालीसहित ८ जनाको मृत्यु
नयाँदिल्ली — भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।
भारतको उत्तराखण्ड चमोलीको तपोवन क्षेत्रमा आइतबार हिमनदी फुटेरआएको बाढीमा पुरिएकालाई उद्धार गरिएपछि खुसी हुँदै (पन्जा लगाएका) । तस्बिर : एपी
चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको शव फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए ।
दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ ।
बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको छ । परियोजनाको त बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम
गर्ने मजदुर भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । परियोजनाको सुरुङमा फसेका १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले उद्धार गरेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आइतबारै चमोली जिल्लाको रैनी, तपोवनलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । उद्धारका लागि केन्द्र सरकारले सेनाको दुईवटा विशेष विमानमा उद्धार टोली दिल्लीबाट पठाएको थियो । यसैबीच उत्तराखण्ड राज्य सरकारले मृतकका परिवारलाई चार लाख भारु दिने घोषणा गरेको छ । प्रदेश सरकारले गंगा नदीका सबै तटीय क्षेत्रमा हाई अलर्ट जारी गरेको छ । उत्तरप्रदेश सरकारले पनि गंगाका तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको थियो । उत्तराखण्ड सरकारले गंगा नदीमा पानीको बहावलाई सामान्य बनाउन भागीरथी नदीमा बनाइएको तेहरी बाँध बन्द गरेको छ । उत्तराखण्डकै देवप्रयागमा भागीरथी र अलकनन्दा मिसिएपछि गंगाका नामले चिनिन्छ । पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपाली रोजगारीका लागि उत्तराखण्ड जाने गर्छन् ।
तिनीहरूमध्ये अधिकांशले भारी बोक्ने र सडक एवं विद्युत् परियोजनामा काम गर्ने गरेको भेटिन्छ । त्यही भएर पनि पछिल्लो घटनामा थप नेपाली परेको हुन सक्ने आशंका गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले नेपालीको सम्बन्धमा जानकारी लिने प्रयास भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले नेपालीका अवस्था बुझ्न दूतावासको पूरै टिम लागेको बताए । ‘दूतावासको पूरै टिम नेपालीको पछिल्लो अवस्था बुझ्न लागिपरेका छौं, स्थानीय प्रशासनसँग सम्पर्क गरिरहेका छौं,’ सुवेदीले भने । यसअघि, २०७० जेठ ३० मा बद्री–केदारनाथ क्षेत्रमा आएको बाढीपहिरोमा परेर ५ हजार ७ सय तीर्थयात्री र स्थानीय श्रमिकको ज्यान गएकामा झन्डै ५ सयजति नेपाली रहेको अनुमान रहँदै आएको छ ।
उक्त विपत्तिमा परेर हराउने १ सय ७० नेपालीको ‘प्रमाणित बेपत्ता सूची’ दिल्लीस्थित नेपाली दूतावासको अभिलेखमा राखिएको छ । ‘आइतबारको हिमपहिरोको मुख्य स्थान जोशीमठ भनेकै नेपाली श्रमिकको चहलपहल रहने क्षेत्र हो,’ उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजका समन्वय गरिरहेका पुष्पराज पाण्डेयले कान्तिपुरसँग फोनमा भने, ‘जोशीमठ, बद्रीनाथ रोड आसपास सम्पर्कमा रहँदै आएका नेपाली कामदार, ठेकेदार तथा स्थानीयवासी पनि सम्पर्कबाट बाहिर छन्, सबैभन्दा ठूलो क्षति नेपाली श्रमिकमाझ परेको देखिन्छ ।’
उत्तराखण्डको बद्री–केदारनाथ, जोशीमठ क्षेत्रमा अधिकांशजसो सल्यान, रुकुम, रोल्पा, दाङ, कालीकोट, जाजरकोट, बझाङ, बाजुरा आदि जिल्लाबाट आएका श्रमिकहरू भेटिने गर्छन् । आवतजावतमा कहींकतै रेकर्ड राख्ने पद्धति नहुँदा र कामदारको स्थानीय अभिलेखीकरणसमेत नहुँदा आइतबारको प्राकृतिक विपत्तिमा कति नेपाली परेका छन् भन्ने निर्क्योल गर्न मुस्किल हुने पाण्डेयले बताए । काठमाडौंमा परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उत्तराखण्डमा आएको प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउने र बेपत्ता हुने नागरिकका परिवारजनमा शोक र सहानुभूति व्यक्त गरेको छ ।
कान्तिपुर दैनिकबाट
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो। डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो। उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो। उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो।
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ। आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित
काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।
माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।