करोडौँको पुल निर्माण अलपत्र

करोडौँको पुल निर्माण अलपत्र

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।

ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरुआत हुन नसकेपछि निर्माण कार्य अलपत्र परेको हो ।

तीन वर्ष अगाडि एचके कन्स्ट्रक्सन प्रालिले तमैलमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु ११ करोड २५ लाखको लागतमा पुलको सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको कुनै पनि कामको थालनी नगरेको स्थानीयवासी करन सिंहले बताउनुभयो ।

निर्माण कार्य सम्पन्न गर्ने म्याद अब दुई महिनामात्र बाँकी छ ।

खराब नियत भएको ठेक्दारलाई राज्यले कारवाही गर्नुपर्ने माग गर्दै उहाँले राजनीतिक आडमा ठेकदारले काम गर्दा जनता मर्कामा परेका गुनासो गर्नुभयो ।

पुल निर्माण भएपछि सेतीपारिका चार गाउँपालिका र नगरपालिकासम्म यातायात सञ्जाल जोडिने सम्भावना ठेकेदारको लापर्वाहीले तत्काल नदेखिएको साविक गडराय गाविसका गोविन्द्र बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुल निर्माण गर्ने ठेकेदार, सडक विभागको सेती लोक मार्गअन्तर्गतको केन्द्रीय कार्यालय, प्रदेश नं ७ का सभामुख र मुख्यमन्त्रीकामा धायौँ । अझै टुङ्गो लागेको छैन । ठेकेदारले नदीको वरपर किनारामा जगसमेत खनेको छैन ।”

असी मिटर लम्बाइ रहेको यस पुलको तीन वटा स्पान रहेको र पाइल स्टमबाट पिल्लर राखी माथि सिमेन्ट ढलान गर्नु पर्ने पुलको डिजाइन छ । जमिनभित्र १६ मिटर मेसिन दबाएर २० वटा पाइल बनाई एक वर्गमिटरसहितको जमिनभित्रैबाट सिमेन्ट ढलान गरेर आउनुपर्ने यसको डिजाइन भएको पुल बनाउने ठेकेदारका प्रतिनिधि एगेन्द्र कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “मेसिन लगाउँदा पाँच मिटर तर ठूलाठूला ढुङ्गा लागेर मेसिनभित्र जान नसकेपछि गत वर्षदेखि नै हामीले काम रोकेका छाँै । खुला जग खनेर पिल्लर ढलानसहितको डिजाइन भएको भए पुलको काम आजसम्म आधा हुन्थ्यो । पाइल स्टमबाट पिल्लर राख्नु पर्ने हो तर मेसिन लगाउँदा तल ढुङ््गा लागेपछि काम कसरी गर्ने ?”

“पाइल स्टमको पुल तराईका लागि राम्रो भएपनि बझाङ जिल्लामा त्यो सम्भव नभएको समन्वय समितिका सबइन्जिनियर हरिशंकर जोशीले बताउनुभयो ।”

उहाँले भन्नुभयो – “बझाङमा पनि यस्तै डिजाइनको पुल गर्न लगाइयो जसका कारण चैनपुर तमैल र झनाना बन्ने तीनवटै पुल यसकै कारण ढिला भएका छन् ।” हालको डिजाइनबाट ठेकेदारले काम गर्न नसकिने भनेर पुल बनाउन कुनै चासो नदेखाएपछि रु ११ करोडको तमैलको पुल अलपत्र पर्ने देखिन्छ ।

दुई वर्षअघि पहिलो पटक गाविस र जिविसबाट पैसा सङ्कलन गरी सेती नदीमा रु १३ लाखको काठे पुल अस्थायी रुपमा निर्माण गरी हिउँदको तीन महिना गाडी गुडाउने समितिका संयोजकका रुपमा रहनुभएका अर्जुन थापाले प्रदेश नं ७ को सभामुख भएपछि तमैल पुलका बारेमा कुनै पनि चासो नदेखाउँदा आफूहरु निराश भएको छान्नालगायत सेतीपारिका स्थानीयवासीले बताएका छन् ।

सेती नदीमा पुल नहुँदा काठे पुलको सहारामा छान्नातर्फ गएका मालबाहक ट्रक र यात्रुबाहक बस र जिप बाजुरा डोटी भएर खोपडे बझाङ सडकको बाटो हुँदै सदरमुकाम आउने गर्छन् । छान्ना जोड्ने सेती नदीको पक्की पुल मात्र नभई जिल्लामा निर्माणाधीन अवस्थामा रहेका आधा दर्जन पक्की पुलको अवस्था पनि ठेकेदारको लापरवाहीले काम अघि बढ्न सकेको छैन । तर बझाङ जिल्लाका सरोकारवाला निकायका प्रमुख व्यक्तिहरु तैँ चुप मैँ चुप भनेर कानमा तेल हालेर बसेका छन् । रासस

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

लोकप्रिय