केन्द्रमा आइजीपी, प्रदेशमा एआईजी, यस्तो छ नयाँ प्रहरी संरचना

केन्द्रमा आइजीपी, प्रदेशमा एआईजी, यस्तो छ नयाँ प्रहरी संरचना

काठमाडौं – प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी) राख्ने प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदा टुंगो लगाएको हो । आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो ।

यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए । त्यसविपरीत उक्त समितिले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्न प्रस्ताव अघि बढाएको हो । जसप्रति प्रहरी अधिकारीहरू नै असन्तुष्ट छन् ।

प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृहमा दुई समिति बनेका छन् । सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निर्देशक समिति बनेको छ, जसमा प्रहरी महानिरीक्षक, महान्यायाधिवक्ता, कानुन सचिवलगायतका अधिकारी सदस्य छन् । त्यस्तै, सहसचिव निर्मला अधिकारीको संयोजकत्वमा अर्काे ऐनको मस्यौदा समिति बनेको थियो । सोही समितिले ऐनको मस्यौदा तयार बनाएको हो । मस्यौदा अन्तिम चरणमा पुगेको सहसचिव अधिकारीले बताइन् ।

३० वर्षे सेवाअवधिको प्रावधान हट्ने
संघीय संरचनामा गएलगत्तै नेपाल प्रहरीको ३० वर्षे सेवाहदको प्रावधान हट्ने भएको छ । मस्यौदामा आइजिपी, एआइजी र डिआइजीको उमेरहद ५८ वर्ष राखिएको छ । तर, पदावधि तोकिएको छैन ।

प्रहरीलाई संघीयतामा रूपान्तरण गरी ३० वर्षे सेवाहद हटाउँदा कसैको करिअरमा असर नपर्ने भएकाले सबैजसो प्रहरीहरू ३० वर्षे सेवाहद हटाउनुपर्ने पक्षमा छन् । यसअघि प्रहरीको वृत्तिविकास तथा अवकाशसम्बन्धी प्रावधान नियमावलीमा रहेकाले अबदेखि ऐनमै प्रावधानहरू प्रस्ट पार्न लागिएको गृहका एक अधिकारीले बताए । नियमावली सरकारले सहजै संशोधन गर्न सक्ने भएकाले यसमा चलखेल हुँदै आएको थियो ।

के छ मस्यौदामा ?
मस्यौदामा संघीय प्रहरी ऐन जारी भएलगत्तै सबै प्रहरी कर्मचारी केन्द्रीय पुल बनाएर त्यसमातहत राखिने उल्लेख छ । प्रहरीको स्थायी ठेगाना र इच्छाअनुसार निश्चित मापदण्ड बनाएर प्रदेश वा केन्द्रमा खटाइनेछ । ऐनको मस्यौदामा जघन्य तथा गम्भीर किसिमका अपराधको अनुसन्धानको जिम्मेवारी संघीय प्रहरीलाई दिइएको छ । सामान्य अपराध अनुसन्धानको अधिकार प्रदेश प्रहरीलाई छ ।

त्यस्तै, विशिष्ट प्रकृतिका कार्यालय केन्द्रमै राखिने प्रस्तावमा उल्लेख छ । केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, लागुऔषध नियन्त्रण ब्युरो, इन्टरपोल शाखाजस्ता कार्यालय केन्द्रमै रहने छन् । आवश्यकताअनुसार यसका शाखा प्रदेशमा हुनेछन् । विशेष परिस्थितिमा कुनै प्रदेशलाई धेरै सुरक्षाकर्मी चाहिएमा अन्तरप्रदेश प्रहरी समन्वय समितिमार्फत निर्णय गराई केही समयका लागि खटाउन सकिनेसमेत मस्यौदामा उल्लेख छ । समितिले केही दिनयता प्रहरी अधिकारीहरूस“ग अन्तक्र्रिया गरी मस्यौदालाई अन्तिम रूप दिएको हो । मस्यौदामा गृहमन्त्री तथा सचिव सहमत भएपछि ऐन निर्माणको प्रक्रिया अघि बढ्छ ।

समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको  बताउनुभएको छ ।  किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ -'किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको महत्त्वपूर्ण योगदान रहेको छ। उहाँले छोरीको विवाह गर्दा सोत–रीत लिन नहुने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेलगायत समाज सुधारका लागि अघि सारेको नीति ‘सत्य धर्म मुचुल्का’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। उहाँले अघि सारेका यी नीतिहरु सबै धर्म, जाति र समुदायका लागि अनुकरणीय छन्।' भाषा, लिपि, संस्कार संस्कृति, शिक्षा, समाज सुधार, किराँत धर्मको उत्थान तथा संरक्षणका लागि गरेको योगदानको सम्मान स्वरुप सरकारले फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको बताउँदै उहाँले फाल्गुनन्द जयन्तीले किराँत समुदायलगायत सबैमा थप प्रेरणा र उर्जा प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्धारा व्यक्त शुभकामना  

नेपालमा शक्ति केन्द्रहरूको दबाब बढेर गएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताउनुभएको छ ।  नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको उहाँले बताउन भयो । मकवानपुर थाहाको बज्रबाराहीमा प्रेस सेन्टर नेपालले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमापूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो, ‘हाम्रो राष्ट्रिय अवस्था या हाम्रो भौगोलिक अवस्था, जसलाई हामी भूराजनीतिको अवस्था भन्छौं । त्यो कारणले ती शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै नै गइरहेको छ ।’ अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल(हमास युद्ध, रुस(युक्रेन युद्ध लगायतका कारण विश्व नै प्रभावित भइरहेका बेला नेपाल पनि अछुतो नभएको उहाँको भनाइ छ ।  ‘हामी भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा हुनुको नाताले अन्तर्राष्ट्रिय रुपमा घटेका घटनाक्रमहरुको असर नेपाललाई परिराख्या छ । त्यसकारण नेपालको राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्ने, सुदृढ गर्ने कुरा, राष्ट्रिय एकतालाई बलियो बनाउने कुरा अहिले अझ बढी चुनौतीपूर्ण बन्दै गएको छ ।’उहाँले भन्नुभयो । ‘मैले यो कुरा ब्याख्या नगरी भन्दा अहिले सरकार जुन धरातलमा, जुन उद्देश्यको साथ बनेको छ, त्यसको पछाडि जस्ता शक्तिहरू सक्रिय देखिएका छन् त्यो सबैले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पनि पहिलेभन्दा अहिले अझ बढी पेचिलो, अझ बढी संवेदनशील बन्दै गएको छ,’ प्रचण्डले जोड दिंदै भन्नुभयो। विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको सम्भावना औंल्याएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्थिति सहज ढंगले अगाडि बढेको छैन । कतिबेला कहाँ कसरी विष्फोट हुने हो कि भन्याजस्तो छ र एकखालले त भइसक्या पनि छ ।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन सहमति गरेको समाचार आइसकेको बताउनुभयो । ‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भन्नुभयो ।  

थाहामा प्रचण्डको एक दिन (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिकामा पगेर फर्किनुभएको छ । उहाँलाई मकवानपुरको थाहामा स्थानीयले भव्य स्वागत गरेका छन् । शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि थाहा नगरमा पुग्नुभएका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्। आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उहाँको स्वागतमा सांस्कृतिक प्रस्तुती, झाँकी सहित स्थानीय उपस्थित भएका थिए।  थाहा पालिकाको युवा संगठनको सम्मेलनमा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष प्रचण्डले भन्नुभएको छ । 'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को मकवानपुर थाहा नगर अधिवेशनको सन्दर्भमा आयोजित जनसभा र त्यसक्रममा विभिन्न स्थानमा सभाकै झल्को दिने गरी भएका स्वागत कार्यक्रमले उत्साहित बनाएको छ। यो उत्साहजनक कार्यक्रमका लागि म मकवानपुर पार्टी र वाइसिएललाई धन्यवाद दिन चाहन्छु। मौलिक थाहा विचारका प्रवर्तक रुपचन्द्र बिष्टको कर्मथलो मकवानपुर कम्युनिस्ट क्रान्तिकारीहरूका लागि ऐतिहासिक भूमि हो । यहाँको पार्टी पंक्ति र जनस्तरमा देखिएको क्रान्तिप्रतिको निष्ठा र उत्साहले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिहुँदै समाजवादको बाटोमा अघि बढ्न थप प्रेरित गर्नेछ। यही अवसरमा म लामो समयदेखि आउन चाहेर नभ्याएको ऐतिहासिक, सांस्कृतिक एवं क्रान्तिकारी गोपाली वस्ती कुन्छालमा पुगेर यो समुदायसित साक्षात्कार गर्ने र मौलिक संस्कृति अवलोकन गर्ने मौका मिल्यो ।  अन्त्यमा, जनताबाट प्राप्त सुझावको उच्च कदर गर्दै निरन्तर जनताको साथमा रहेर विकास र समृद्धिको चाहना पूरा गर्न लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।' तस्बिरहरूः 

भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान

भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।  स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

लोकप्रिय