केराखेतीतर्फ किसानको आकर्षण बढ्दो

केराखेतीतर्फ किसानको आकर्षण बढ्दो

बर्दिवास, फागुन १९ । महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसान ‘व्यावसायिक केराखेती’तर्फ आकर्षित भएका छन् ।

कम लागतमा बढी उत्पादन दिन थालेपछि जिल्लाका बर्दिवास, भंगाहा, गौशाला र औरही नगरपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । उन्नत् जातको केराखेती गरेर उनीहरु राम्रो आम्दानी लिन थालेका छन् ।

परम्परागत रुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराको ठाउँमा अब किसान खासगरी रोवेष्ट्रा र उन्नत् मालभोग जातको केराखेतीतर्फ बढी आकर्षित भएका छन् । सानो रुख, धेरै हाता लाग्ने ठूलो घरी र स्वादिष्ट भएकाले रोवेष्ट्रा जातको केरा धेरै किसानको रोजाइँमापर्ने गरेकोछ ।

पछिल्ला पाँच वर्षदेखि व्यावसायिक केराखेती गर्दैआएका भंगाहा–४ का किसान सत्यनारायण यादवले आफ्नो प्लटमा उन्नत् मालभोग र रोवेष्ट्रा जातको केरामात्र रहेको बताउनुभयो । अहिले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका यादवले पछिल्ला तीन वर्षमा बर्सेनी रु एक लाखभन्दा बढी आर्जन भएको जानकारी दिनुभयो ।

रोवेष्ट्रा जातको केराको सानो रुख भएका कारण हावाहुरु र फल लाग्दा ढल्ने सम्भावना कम हुने तथा स्वादिष्ट हुनेहुनाले यसको बजार माग बढेको किसानको दाबी छ । रोपेको नौ महिनामा नै पहिलो उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा व्यवसायिक खेतीका लागि उपयुक्त भएको किसानको भनाइ छ ।

एक कठ्ठामा ८० वटा रुख लगाउन सकिने यो केरा स्वादकै कारण उपभोक्ताको पहिलो छनोटमापर्ने भएकाले बिक्रीमा कुनै समस्या भोग्नु नपरेको भंगाहा—६ हतिसर्वा झपौलका किसान छठु महरा बताउनुहुन्छ ।

कम मेहनत र थोरै लगानीमा गर्न सकिने केराखेतीमा पछिल्लो पुस्ताका युवा किसान बढी सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाका बर्दिवास नपाका पशुपतिनगर, पुूलबारीटोल, भंगाहा नपाको रामनगर, हतिसर्वा, गौशाला नपाको बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर तथा औरही नपाका भोइल, सोनामाइ र श्रीपुरसहितका बस्ती केराखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

अहिले जिल्लामा करिब १०० हेक्टर जग्गामा व्यावसायिक रुपमा केराखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताउनुभयो । एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहे पाँच वर्षसम्म उत्पादन दिने फलपूmल विज्ञको भनाइ छ ।

जिल्लामा अहिले दैनिकजसो केराखेतीबारे परामर्श लिने किसान बढी रहेका छन् । केरा खेतीमा किसानको अभिरुचि र चासो बढ्न थालेकाले अन्य उन्नत् जातका केराका बिरुवासमेत कार्यालयले खोजी गरेर किसानलाई उपलब्ध गराउने तयारी शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत विराजीले जानकारी दिनुभयो ।

केरा तरकारी र फलका रुपमा खाइने भएकाले दुबै उद्देश्यका लागि फरक÷फरक जातका केरा लगाइनुपर्ने विज्ञले जनाएको छ । केरा तरकारीका लागि स्वादिष्ट, स्वास्थ्यवर्धक र आम उपभोक्ताको रोजाइँमापर्ने भएकाले यो प्रयोजनका लागि बत्तीसा र झपरी जातका स्थानीय केराको खेती उत्तम हुने लामो समयसम्म कृषि सेवामा संलग्न रही अवकास लिनुभएका भंगाहा—६ हतिसर्वा सग्रामपुरका किसान जासर यादवको अनुभव छ ।

फलका लागि भने आम उपभोक्ताको जिब्रोमा स्थानीय मालभोग जातको केरा झुण्डिएकाले यसको व्यावसायिक विकासका लागि जिल्ला कृषि विकास कार्यालयले थप पहल गरिदिनुपर्ने आवश्यकता देखिएको किसान जासरको सुझाव छ ।

उन्नत् जातमा भने जिल्लाको हावापानीमा रोवेष्ट्रा खुबै फस्टाएको र यस्को बजार माग पनि राम्रो रहेको कृषि विज्ञ र किसान दुबैले बताएका छन् । फल खाने प्रयोजनमा मालभोगको माग र भाउ दुबै उच्च भए पनि बोटमा अतिनै रोगको संक्रमण हुने भएकाले यस्को खेतीमा निक्कै जोखिम रहेको किसानको गुनासो छ ।

जिल्लामा कृषि कार्यमा समूचित सल्लाह, रेखदेख, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालय, कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको, सल्लाह सुझावका लागि खोज्दा विज्ञ फेला नपर्ने गुणासो किसानको छ ।

केराखेतीलाई व्यावसायीकरण गर्न तरकारी र फलका लागि छुट्टै योजना बनाएर किसानलाई अभिपे्ररित गर्न प्रामाणिक बिरुवा उपलब्ध गराइदिन, खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष नेतृत्व लिइदिनुपर्ने किसानको माग छ ।

किसानले खोजेका बेला कार्यालयबाट प्रवाहित हुने खेती सम्बन्धी सबै सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय तयार रहेको जनाएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय