गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम, वैशाख ८ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन् ।

उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुनार विवाहित हुन् । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । यता महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ ।

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । स्वास्थ्यमा असुरक्षा हुने भएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन् ।

श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित महिलाको जाहेरीअनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय