गौतमको अन्त्यष्टि विषयलाई लिएर सिडिओसँग तनाव, अझै हुन सकेन शवयात्रा

गौतमको अन्त्यष्टि विषयलाई लिएर सिडिओसँग तनाव, अझै हुन सकेन शवयात्रा

कञ्चनपुर, फागुन २९ । शहीद गोविन्द गौतमको शवयात्रामा दिइने सम्मान र शवयात्राको विषयमा तनाव भएको छ । आइतबार गौतमको राष्ट्रिय सम्मानका साथ शवयात्रा सहित अन्त्येष्टि गरिने तयारी भएपनि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मनोहर प्रसाद खनालले सलामी बारेमा अनविज्ञ रहेको बताएपछि स्थानीयवासीले उनलाई घेरा हालेका हुन् । प्रजिअ खनालले शवयात्रामा प्रयोग गरिने सवारीमा पनि अपमान गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नम्बर ८ आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका शहीद गौतमको शवयात्रा अझै हुन सकेको छैन् ।

सरकारले राष्ट्रिय शहीद घोषित गौतमको राष्ट्रिय सम्मानका साथ ११ तोपको सलामी दिएर आज अन्त्येष्टि गरिने तयारी भएको थियो । तर, सिडिओ खनालले माथिबाट जानकारी नआएको भन्दै राष्ट्रिय सम्मानका लागि दिइने सवारी उपलब्ध नगराएपछि आक्रोशित स्थानीयसँग भनाभन भएको त्यहाँबाट स्थानीय रमेश भट्टले जानकारी दिए । ‘सिडिओले सलामीको विषयमा मलाई जानकारी छैन भने, शवयात्रामा फोहोर बोक्ने ट्याक्टर दिएपछि स्थानीय आक्रोशित भएका हुन् ।’ सिडिओको भनाई उधृत गर्दै भट्टले भने– ‘सिडिओकै कारण अहिलेसम्म शवयात्रा हुन सकको छैन ।’

विहान ८ बजेलाई राखिएको शवयात्रा १२ बजेसम्म पनि भएको छैन । सिडिओले बल्ल महेन्द्रा जीप दिएका छन् । अब केहीबेरमा शवयात्रा हुन्छ- भट्टले भने ।
मातृभूमिको रक्षार्थ लड्दालड्दै मृत्यु भएका कैलाली पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । गौतमको शबयात्रापछि उच्च सम्मानका साथ आज अन्त्येष्टि गर्न लागिएको हो ।

बिहीबार सीमानजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

पुनर्बासका स्थानीयले गौतमको राजकीय अन्त्येष्टि हुनुपर्ने माग गरेर शव बुझेका थिएनन् । सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेपछि गौतमका परिवार र स्थानीय दाहसँस्कारका लागि सहमत भएका हुन् ।

गौतमको शब सेती अञ्चल अस्पताल धनगडीमा राखिएको छ । केही समयपछि उनको शवयात्रा हुने बताइएको छ । अस्तपालदेखि स्थानीय दोधा नदीसम्म हुने शबयात्रामा सहभागी हुन सयौं स्थानीय अस्पताल परिसर र नदी किनार पुगेका छन् ।

स्थानीय प्रशासनले पुनर्वासमा लगाएको निषेधाज्ञा अझै जारी हुँदा स्थानीयलाई शवयात्रामा सहभागी हुन समस्या भएको छ । प्रशासनले आइतबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।  

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।  प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

‘चिसोबाट बच्न सावधानी अपनाउनू’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ।  शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो।   मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ।  शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने विभागको पूर्वानुमान  छ। रासस

बढ्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं  । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो। आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

लोकप्रिय