चर्चित कृष्णभीर आक्रमणका नायक जनमुक्ति सेनाका कमाण्डर बने नेपाली सेनाको जर्नेल

चर्चित कृष्णभीर आक्रमणका नायक जनमुक्ति सेनाका कमाण्डर बने नेपाली सेनाको जर्नेल

काठमाडौं । नेपाली सेनाको सहायक रथीमा बढुवा भएका यमबहादुर अधिकारी ‘प्रतिक्षा’ तिनै हुन् जो तत्कालीन माओवादीको १० वर्षे जनयुद्धताका जनमुक्ति सेनाका कमाण्डर थिए । शान्ति प्रक्रियासँगै भएको सेना समायोजनमा परेका उनी सहायक रथी बन्न सफल भए। अधिकारी त्यही भाग्यशाली हुन्– जो पूर्वलडाकुबाट सेनाको उपल्लो तहमा पुग्न सफल भए । समायोजनका क्रममा उपसेनानी बनेका उनी त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए।

गत मंगलबारको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यो पदको पदावधि चार वर्षको हुनेछ । त्यसपछि पद स्वतः खारेज हुनेछ ।

शान्ति प्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न उनलाई बढुवा गरिएको हुनसक्ने बताइन्छ । अधिकारी आफूलाई सहायक रथी बनाउन उनले लामो समयदेखि राजनीतिक तथा आन्तरिक पहल गर्दै आएका थिए ।

अधिकारी तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डर थिए । प्रतिक्षा, जसले धादिङको कृष्णभीरमा सेनालाई एम्बुस थापेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएका थिए । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायोजन भएका थिए। अधिकारी माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजन भएका थिए।

अधिकारीको विगत
उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाडौं आए । काठमाडौं आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए ।

प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि विद्यार्थी संगठनको धादिङ अध्यक्ष बने । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। ०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाडौं ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए। काठमाडौं पाटीबाट

जुम्लामा विभिन्न पार्टीबाट ५३८ जना माओवादी केन्द्रमा समाहित (सूचीसहित)

काठमाडौं । जुम्लामा विभिन्न पार्टी परित्याग गरी ५३८ जना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा २०८१ कार्तिक ५ गते कनकासुन्दरी गापाकाे गोरुचौरमा गरेको कार्यक्रमा ती नवप्रवेशीहरुलाई  पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो । जनसभा कार्यक्रममा निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी, विभिन्न पार्टीबाट राजबहादुर खत्री, रामभक्त शाही, लालप्रसाद उपाध्याय, धनप्रसाद उपाध्याय लगायत ५३८ जना प्रवेश गर्नुभएको हो । सो प्रवेश कार्यक्रमलाई झुट र लुटको धन्दा चलाइरहेकाहरूको मथिॅगल खलबलाइदिने र जुम्लाको राजनीतिमा तरंग ल्याउने ऐतिहासिक बिद्रोह भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारीले टिप्पणी गरेका छन् । नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिएर सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा जनताको पक्षमा पार्टी पंतिलाई परिचालन गरिने जिल्ला संयोजक नवराज न्यौपानेले जानकारी दिए । हेर्नुहोस प्रवेश गर्नेहरुको सूची

नेपालका विविध संस्कृति र पर्व साझा परम्परा बन्दै गएका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छठ पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।  उहाँले नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको बताउनुभएको छ । प्रस्तुत छ अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ । नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएका छन् । छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको छ । छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २२ कार्तिक, २०८१ नेपाल संवत्ः ११४५ कछलाथ्वः ६                                                                                                                 

छठको मुख्य पर्व आज, हर्षोल्लासका साथ मनाइदै

काठमाडौं ।  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो। संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्यकिरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको जानकारहरू बताउँछन्। साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ।

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं । आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि  निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । वडाध्यक्ष पदमा निर्वाचन  ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं. ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौं महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले बताए। दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । मंसिर २ गते उम्मेदवारी दर्ता उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

लोकप्रिय