तराईमा चल्न थाल्यो तातो हावा, जनजीवन प्रभावित
काठमाडौं । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।
जलवायु विश्लेषक इन्दिरा कँडेलका अनुसार आगामी केही दिनसम्म तराईका धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने छ। उनले तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन सुझाव दिइन । लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखापर्छ।
नेपालमा न्यून चापीय प्रभाव सकियो
काठमाडौं । बुधबार साँझतिर भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको छ । यस प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, बाजुरा, डोटीलगायत स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो । "पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्राय: ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षा भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ । हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्," उनले भने । उनका अनुसार, डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा १०.२ मिलिमिटर वर्षा भएको छ । तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए । आज वाग्मती, मधेस र कोसी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । “पश्चिम नेपालमा हिजो वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहनेछ,” मौसमविद् पुडासैनीले भने ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।