तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

बझाङ, भदौ २२ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ ।

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यसलाई तिब्बतमा ‘उडेन कप’को नामले चिनिन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ र लामा जातिको पुख्र्यौली पेशा बन्दै आएको व्यापारी कल्पना तामाङ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “एक फुरुको रु पाँच हजारदेखि रु १५ हजारसम्म मूल्य पाइन्छ ।” कृषि पेशा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका अधिकांश व्यापारी अहिले ताक्लाकोटमा पसल खोलेर बसेका छन् ।

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान, फुरु, गलैँचा, जडीबुटीलगायत सामान बिक्री गर्दैआएका छन् । उनीहरुले चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका छन् ।

“पहिला त्यति सजिलैसँग फुरु बिक्री हुँदैनथ्यो, ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको हो,” नेपाल–चीन उद्योग व्यापार सङ्घका सचिव मैहिमान तामाङले भन्नुभयो । उहाँले वार्षिक करोडौँको फुरु बिक्री हुने गरेको बताउनुभयो ।

बझाङबाट यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

ताक्लाकोटबाट तिब्बती ब्राण्डको मदिरा आयात हुने गरेको छ । सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामान तिब्बतको उरैभञ्ज्याङ नाका भएर भित्रिने गरेको छ । काँडा गाउँपालिकाका अधिकांश बासिन्दाले ताक्लाकोटबाटै कारोबार गर्ने गरेका अध्यक्ष धामी बताउनुहुन्छ । बझाङ, दार्चुला र मुगुबाट होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायत बजारमा बिक्री गर्दै आएका व्यापारी पासाङ लामाले बताउनुभयो ।

नेपाल सरकारले कृषि र पशुजन्य उत्पादनलाई ताक्लाकोटमा सहज पहुँचका लागि पहल गरिदिए सीमावर्ती जिल्लाका बासिन्दा आर्थिक रुपमा समृद्ध हुने लामाको भनाइ छ । तिब्बतमा चुरोट, रक्सी र गुट्खाजस्ता सामान सजिलै निर्यात गर्न दिए पनि तरकारीमा कडाइ गर्ने गरिएको छ ।

ताक्लाकोट नजिकै हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर रहेको छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ । हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्जाङ नाका भएर वर्षेनी अर्बाैंको आर्थिक कारोबार हुने गरेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय